ललितपुरको जावलाखेल ‘राउन्ड बाउट’ वरिपरि छ– हरियो साइकल लेन। सुन्दर गलामा हरियो नेकलेश सजिएजस्तै। त्यस सँगैको पार्कमा एकाबिहानै महिलाहरूको जमघट हुन्छ। पार्कको दृश्यले जो कोहीको मन तान्छ।
ललितपुर महानगरपालिकाले साइकल लेनको निर्माण गर्यो। महिलालाई साइकल चलाउन सिक्ने–सिकाउने सुरुवात गरिन्– पाटनको इखापुखु निवासी साइकल अभियन्ता लक्ष्मी श्रेष्ठले। कोरोना महाव्याधी अघि नै सुरु गरेको उनको पहललाई पछि महेश्वर बिष्टले पनि पछ्याए। यो पहलले अभियानकै रूप लियो। ‘वल्र्ड साइक्लिस्ट क्लब नेपाल’ र ‘महिलाका लागि महिला’ अभियानले सहयोग र अपनोत्व लिए। यस अभियानमा अर्को महत्वपूर्ण पाटो पनि थपियो। साइक्लिस्ट तथा योग प्रशिक्षक कपिल शाही र पूर्ण अवालेले योग पनि सिकाउन थाले। अभियानले विस्तृत रूप लियो।
चुलोहोचौका र चारदिवारमा गुम्सिएर बस्न बाध्य छन्– कैयौं महिला। व्यक्तिगत रहर, इच्छा र स्वतन्त्रतालाई खुम्च्याउनुपर्दा जीवनमा धेरै नै निराश छन्। शारीरिक र मानसिक रोगको शिकार छन्। पितृसत्तात्मक सोच, समाज र सत्ताबाट जकडिएर स्वतन्त्रता कुण्ठित बनाइरहेका छन्। त्यसैकारण, ४० वर्षले नेटो नकाट्दै मुटुरोग, ब्लड प्रेसर, डाइबिटिज, थाइराइड, घुँडा खिइने, मोटोपना र मानसिक रोगबाट पीडित छन्। सहरी क्षेत्रका घरघरमै यस्ता महिला भेटिन्छन्। यी रोग नेपाली समाजका महामारी नै भइसकेका छन्। रोग, पीडा र सामाजिक/सांस्कृतिक जकडबाट उन्मुक्तिका लागि साइकल सिक्ने र चलाउने गरे ओखतीको काम गर्न सक्छ।
निर्धक्क साइकल सिक्छन् महिलाहरू
सुरुवाती दिनमा लक्ष्मी श्रेष्ठ र महेश्वरी बिष्टले साइकल सिक्ने २/३ जना महिला पाउन गाह्रो थियो। त्यसबेला साइकल सिक्न महिलाहरू लजाउँथे। सिक्न चाहनेहरू पनि झिसमिसेमा आएर सूर्य उदाउनु अघि नै घर फर्किन्थे। तर, आजभोलि त्यस्तो छैन। ४०/५० महिला दैनिक सो जम्मा हुन्छन्। निर्धक्क साइकल चलाउँछन। ‘ग्रुप राइड’ मा जान थालेका छन्। कुँजिएको स्वतन्त्रताको पखेटाले हावामा फैलावट लिए झै आत्माको उडानको गहन अनुभूति गर्न थालेका छन्। साइकलको गतिसँगै नारी आत्मा र नारी हृदयले जीवनको वास्तविक सुखानुभूति पाउँदै छ। साइक्लिस्ट साथीसंगत र सामाजिक अन्तरघुलनको प्रभावले धेरै अन्तरमुखी स्वभावका महिलाहरू खुल्न थालेका छन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ। महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ। जुन, जनसंख्याको ५१.०४ प्रतिशत हो। पुरुषको १ करोड ४२ लाख २१ हजार ३ सय ११ जनसंख्या छ। पुरुषको ४८.२६ प्रतिशत जनसंख्या छ। महिला संख्या ६ लाख ९ हजार ८ सय ५८ बढी छ। ललितपुर महानगरपालिकाको जनसंख्या २ लाख ९४ हजार ९८ छ। त्यसको दुई गुणा बढी त पुरुषभन्दा महिलाकै संख्या बढी छ।
जनसंख्यालाई मात्र हेर्ने हो भने पनि नेपाल महिलाको देश हो। हुन त महिलालाई आधा आकाश भनिन्छ। तर, राज्य सत्तादेखि सामाजिक सत्तामा बर्चस्व पुरुषकै छ। समाज विभेदकारी पनि छ। भन्नलाई, महिलालाई देवीको रूप भनिन्छ। तर, महिनावारी, गर्भवती, सुत्केरी हुँदा देवीलाई ‘छुन’ पनि दिइँदैन। सती, दाइजोप्रथा, झुमा, छाउपडी, बालविवाह, कमलहरी जस्ता कुप्रथाबाट यी नै देवीहरू पीडित बनाइन्छन्।
महिला हक अधिकारको नाममा सरकारी/गैरसरकारी संस्थाले करोडौं खर्च गर्छन्। तारे होटलमा कार्यशाला, सेमिनार र गोष्ठीहरू भइरहन्छन्। स्थानीय रूपमा भइरहने साइकल लगायतका अभियानले एनजिओ/आईएनजीओको चित्त नबुझ्ला। तर, करोडौंका एनजीओ संस्कृतिहरूभन्दा लक्ष्मी श्रेष्ठ, महेश्वरी बिष्ट, पूर्णीमा श्रेष्ठ, स्वयम्भू–डल्लु साइकल पुचःहरूको प्रयासबाट कैयौं गुणा नतिजामूलक र प्रभावकारी काम भएका छन्। सयौं महिलाहरूले स्वस्थ जीवन र स्वतन्त्रताको प्रत्यक्ष अनुभूति गरिरहेका छन्। अर्कोतिर, नारीको सुन्दरताको व्यापारीकरण गरेर ‘मिस नेपाल पेजेन्ट’हरू हुन्छन्। तर, मिस नेपालहरूले महिला स्वतन्त्रताका लागि खासै भूमिका खेलेको देखिँदैन। सयौं मिस सुन्दरीहरू केही समय मिडियामा छाउँछन्, यसै हराउँछन् पनि। मिस नेपालभन्दा महान कर्मबाट ती महिला साइकल अभियन्ताहरूले सुन्दरताको परिचय दिएका छन्।
०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १७५ सिटमा ९ जना मात्रै महिलाले चुनाव जित्नु ‘पुरुषप्रधान राजनीतिले महिलालाई खुम्च्याएको देखाउँछ। स्थानीय तहमा ५५ हजार ६ सय ९९ महिला उम्मेदवार थिए। १४ हजार ४०२ महिला मात्रै निर्वाचित भए। ७५३ स्थानीय तहमध्ये २५ मा मात्रै महिलाको नेतृत्व छ। १२३ दलित महिला सदस्यको पद खाली हुँदा सीमान्तकृत महिला वर्गहरूको राजनीतिक समावेशीकरण अझै कति निरिह अवस्थामा छ भन्ने बुझाउँछ। गणतन्त्र स्थापनापछि विद्यादेवी भण्डारी २ पटक राष्ट्रपति भइन्। मुलुकले पहिलो महिला प्रधानन्यायाधीश पायो। महिला नै सभामुख पनि बने।
हालका उपसभामुख इन्दिरा राना मगर साइक्लिस्ट हुन्। उनी, नेपाल साइकल सोसाइटीको संस्थापक बोर्ड सदस्य पनि हो।
मन्त्रिपरिषद्मा ५ जना महिला मन्त्री छन् । निजामती सेवामा ६२ हजार ६ सय १४ अर्थात् (७२.१४ प्रतिशत) पुरुष छन्। महिलाको संख्या २३ हजार ८ सय ५४ छ। जुन (२७.५९ प्रतिशत) मात्रै हो। १० जिल्लामा मात्र महिला सिडीओ छन्। सूचीकृत बेरोजगारमा ४७.६९ प्रतिशत अर्थात् (३,३७,७३१) महिला बेरोजगार छन् (राष्ट्रिय महिला आयोग)। संविधानको धारा ३८ मा महिला हकबारे व्यवस्था छ। संविधानमा स्पष्ट व्यवस्था भए पनि महिला पीडित छन्।
सिमान्तकृत दलित, जनजाति, अपांग र यौनिक अलपसंख्यक महिलाहरूको अवस्था अझ दयनीय छ। महिला अधिकार र सशक्तीकरणका राष्ट्रिय प्रयासमा साइकल, योगा र स्वस्थ अभियानहरूलाई समाहित गराउनै पर्छ।
जो साइकल चढ्न लजाउँथिन्, अब सिकाउन थालिन्
लक्ष्मी श्रेष्ठलाई सानैदेखि साइकल चढ्ने रहर थियो। सन् २०१४ मा एक दिन घुम्दै जाँदा मंगलबजारमा साइकल र्यालीको ब्यानर देखिन्। रजिस्ट्रेसन स्टल पनि त्यही थियो। जहाँ सुरेश ताम्राकार र सुनिल शाक्य भेटिन्। लक्ष्मीले आफू फोटोपत्रकार भएको परिचय दिइन्। सुरेशले ‘तपाईंजस्तै महिला टिममा आवश्यक भएको’ भन्दै लक्ष्मीलाई टिममा बस्न आग्रह गरे। स्वयम्भूदेखि नमोबुद्धसम्मको त्यो र्यालीमा मोटरसाइकलको पछाडि बसेर लक्ष्मीले फोटो खिच्ने जिम्मा पाइन्। साइकल चलाउने रहर छुट्टै थियो। त्यसैकारण र्यालीमा सहभागी एक जनाको साइकल मागेर फोटो खिचिन्। फेसबुकमा पोस्ट गरिन्। साथीहरूले साह्रै सुहाएको कमेन्ट गरे। उनको साइकल मोह झनै चुलियो।
लक्ष्मीले पतिलाई साइकल किनिदिन आग्रह गरिन्। श्रीमान् र छोरीसँगै गएर साइकल किनेर पनि ल्याइन्। तर, कहिल्यै हाफ टिसर्ट र पाइन्ट नलगाएकी उनलाई साइकल चलाउन लाज लाग्यो। किनेको साइकल २ महिना त्यत्तिकै थन्कियो। रहरले किनेको साइकल थन्किएर खिया लगाउने भए कवाडीलाई बेचिदिने घुर्की पतिले लगाए। त्यसपछि भने लक्ष्मी साइकल कुदाउन थालिन। साइकल चलाउन थालेदेखि लक्ष्मी जहाँ पनि साइकलमै जान थालिन्। मोटो शरीर र कुर्ता लगाएर साइकल चलाउँदा कैयौंपटक लडिन पनि।
बालकुमारीमा योग गर्न जाँदा साइकलबाट झर्ने क्रममा धेरैपटक लडेको उनले बताइन्। साइकल लिएर बाटामा निस्कँदा अरूले फर्कीफर्की हेर्ने गर्थे। बुहारीले पाइन्ट लगाएर साइकल चढ्ने गरेकाले ‘हाम्रो नाक काटियो भनेर सासूले श्रीमान्लाई पनि कुरा लगाएकी थिइन्। तर, लक्ष्मीका पतिले साथ दिए। साइकल चलाउनु नराम्रो हैन, सके सबैले साइकल चलाउनु भनेर परिवारलाई सम्झाए।
साइकल राइडमा धेरै साइक्लिस्टहरू देख्दा झनै हौसिएकी थिइन्। त्यस क्रममा भाइराजा डंगोल र कमला पुन भेटिन्। उनीहरूसँगै साइकल राइड गर्न थालिन्। थानकोट पनि नकटेकी उनी हेटौंडामा कोरा राइडमा भाग लिन गइन्। हेटौंडा पनि उनका लागि विदेश गए सरह भयो। तर, डर पनि लाग्थ्यो। कतै केही दुर्घटनामा परियो भने के होला भन्ने मनमा चिन्ता पनि थियो। तर, साथी सुरेश ताम्राकारले साहस र भरोसा दिन्थे। फोटोपत्रकार पेसा भएकाले बस र गाडीमा ओहोरदोहोर गर्न ढिला हुन्थ्यो। साइकल चलाउन थालेपछि भने समयमै काममा र घरमा पुग्न सहज भयो। गाडी भाडा आवश्यक परेन। पैसाको अभाव पनि कम हुँदै गयो। कोलेरेस्टोल, डाइबिटिज र थाइराइड रोगहरू पनि हराउँदै गए। दैनिक औषधिका लागि हुने खर्च पनि जोगियो। कैयौं सकारात्मक परिवर्तनहरू अनुभूति गरेपछि अरू महिलाहरूलाई पनि साइकल चलाउन सिकाउन थालिन्।
उनीहरू पनि स्वस्थ र सक्रिय हुन भन्ने उनको चाहना थियो। आफ्नै पहलमा महिलालाई साइकल चलाउन सिकाउन थालिन्। आफ्नो महँगो साइकल अरूलाई सिक्न पनि दिन्थिन्। निःशुल्क सिकाउने गर्थिन्। उनको अचारको उद्यम पनि थियो। झोलामा क्यामेरा र अचारका प्याकेट/शिशी जहिल्यै हुन्थे। साइकलबाट अचार डेलिभरी गर्न थालेपछि अतिरिक्त आम्दानी पनि भयो। यसले गर्दा अचारको बजार फस्टायो।
ललितपुर महिला उद्यमी भेलामा उनी पनि सहभागी भइन्। फोटोपत्रकारिता, अचार उद्यम र महिलाहरूलाई निःशुल्क साइकल सिकाउने गरेको परिचय दिइन्। महिला विभागका प्रमुख महेश्वरी बिष्टले लक्ष्मीलाई सम्मान गर्दै साइकल सिकाउने काममा सहकार्यको अनुरोध गरिन्। उनकै सल्लाहमा जावलाखेलमा सुरु भयो– साइकल सिकाउने अभियान। सुरुमा आफ्नै २ वटा साइकलबाट अभियान सुरु गरेकी थिइन्, लक्ष्मीले।
- साइकल चलाउन थालेपछि भने समयमै काममा र घरमा पुग्न सहज भयो। गाडी भाडा आवश्यक परेन। कोलरेस्टोल, डाइबिटिज र थाइराइड रोगहरू पनि हराउँदै गए।
- साइक्लिस्ट साथीसंगत र सामाजिक अन्तरघुलनको प्रभावले धेरै अन्तरमुखी स्वभावका महिलाहरू
- खुल्न थालेका छन्।
- मिस नेपालभन्दा महान कर्मबाट ती महिला साइकल अभियन्ताहरूले सुन्दरताको परिचय दिएका छन्।
- कैयौं सकारात्मक परिवर्तनहरू अनुभूति गरेपछि अरू महिलाहरूलाई पनि साइकल चलाउन सिकाउन थालिन्।
फेसबुकमा साइकल सिकाउँदै गरेको पोस्ट पनि गरिरहिन्। त्यसपछि महिलाहरू थपिँदै गए। थप साइकल भाडामा लिइयो। पछि पसलवाला राजु महर्जनले निःशुल्क साइकल उपलब्ध गराए। पूर्ण अवाले, कपिल शाहीले पनि साइकल दिए। उर्मिला शाक्य पनि आफ्नै साइकलबाट सिकाउन थालिन्। त्यसपछि महेश्वरी बिष्टको अगुवाइमा ‘महिलाको लागि महिला’ संस्था गठन भयो। स्वदेश विदेशमा रहेका आफन्त, साथीभाइ, दिदीबहिनीहरूको सहयोग र बर्थडे चन्दाबाट ११ वटा साइकल थप किनिए। जावलाखेल पार्कमा बिहान ६ बजेदेखि साइकल सिक्न आउने र सिकाउनेको भीड बढ्यो। कपिल शाही, पूर्ण अवाले, ज्ञान महर्जनले धेरै सहयोग गरे।
सुरुमा साइकल सिक्न आउने महिला कुर्तासुरुवालमा आउने गर्थे। आजभोलि पनि निसंकोच पाइन्टमा देखिन थालेका छन्। साइकल चलाइरहेको फोटो खिँच्दा ‘नखिच्नु है’ भन्दै पन्छिने महिलाहरू फोटो खिचाउन लालायित हुनथाले। अबेरसम्म सुतेर बस्ने महिलाहरू बिहानै ५ बजे जाउलाखेल
पुगेर साइकल सिक्न थाले। घर व्यवहारबाट कहिल्यै फुर्सद नमिलेकाहरू साइकल र्यालीहरूमा भाग लिन थालेका छन्।
कतिपय महिला उद्यमीलाई तालिम लिने र उत्पादनको बेचबिखन एवं मार्केटिङ गर्न साइकल ग्रुपले सहज बनायो। यसले उनीहरूमा इन्टरप्रेनरसिप र नेतृत्वको विकासमा सहयोग पुर्यायो। पति र छोराछोरीको साथमा मात्र सहरमा घुम्न निस्कने बाध्यतालाई तोडे। साइकल लिएर बिहान–बिहान ललितपुर काठमाडौं र भक्तपुरका कैयौं गन्तव्यहरूको भ्रमण गर्न पाए।
थानकोट नकटेकी लक्ष्मीले साइकलको माध्यमबाट देश घुम्ने अवसर पाइन्। विभिन्न साइकल इभेन्टहरूका लागि हेटौंडा, पोखरा, लुम्बिनी, सिन्धुली, जनकपुर, गढीमाई, उदयपुर, धरान पुगिन्। नेपालगञ्ज, ठाकुरद्वारा इभेन्टमा ३ पटक पुगिन्। विश्व साइकलयात्री पुष्कर शाहको संयोजकत्वमा भएको इभेन्टमा रारातालसम्म साइकलमा पुग्न सफल भइन्। मेची–महाकाली राजमार्गमा साइकल यात्रा गरिन्। दार्जिलिङ, सिक्कीम ग्यान्टोकसम्म साइकलमा पुगिन्। इलामको चियाबगान र कुहिरोको उडानमा स्वर्ग पुगेको अनुभव गरिन्। उनलाई नजिकबाट चिनेकाहरूले भन्छन,् ‘लक्ष्मीले
जीउन जानेको छ।’
लक्ष्मीका अनुसार उनको टिमले र महिलाका लागि महिला समूहले लगभग १ हजार २ सय महिलाहरूलाई साइकल चलाउन सिकाइ सकेको छ। लगभग ४०० जनाले नियमित साइकल चलाउने गरेका छन्।
साइकल चलाउने प्रायः ४० वर्षदेखि ७५ वर्ष उमेर समूहका छन्। चाकुपाटका ७५ वर्षीया हिरादेवी डैगोल र सानेपाका ७० वर्षकी रेखा कार्कीले साइकल चलाउन जानिन्। उनीहरूको ग्रुपमा ६० वर्षका महिला धेरै छन्। कतिपय महिलाहरूका छोरा बुहारी, छोरीहरू अमेरिका, बेलायत, अष्ट्रेलिया, जापानमा छन्। श्रीमान् बितेका एकल महिला पनि छन्। कतिपय आर्थिक रूपले सारै कमजोर र ज्यालादारी काम गर्नेहरू पनि छन्। यो अभियानका क्रममा लक्ष्मीले धेरै अपहेलना पनि सहनुपर्यो।
- लेखक श्रेष्ठ साइकल अभियन्ता एवं नेपाल साइकल सोसाइटीका संस्थापक हुन् ।