माछाको पनि काजकिरिया !

माछाको पनि काजकिरिया !
आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिर र आँधीमूलको माछाको अन्तिम संस्कार गर्दै पुजारी युवराज मास्की मगर। तस्बिर : शिव उप्रेती।
सुन्नुहोस्

गोरखा : कतिपय जलचर, थलचर, पशुपन्छीलाई देवीदेवताको प्रतिमूर्ति मान्ने र पूजाआजा गर्ने हिन्दू धर्मावलम्बीको सनातनी परम्परा छ। बुद्ध धर्मसँग निकट बोन धर्मावलम्बीले पनि प्रकृतिको पूजा गर्छन्। आकाश, पाताल, जुन, घाम, जल, जमिन, जंगललाई पूजा गर्ने हिन्दूहरू गाई, गोरु, कुकुरलाई मात्र होइन, माछालाई पनि देवता मानेर पूजा गर्ने गर्छन्। गण्डकी प्रदेशको तनहुँस्थित छाब्दीबराह, आँधीमूललगायतका देवस्थलमा भक्तजनहरू माछाको पूजा गर्ने गर्छन्। जीवित माछाको पूजा मात्र होइन, माछा मर्‍यो भने विधिवत रूपमा अन्त्येष्टि पनि गर्ने चलन छ। 

आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा मगर समुदायका पुजारी छन्। अरू लिखतमा ‘आँधीमूल’ भने पनि यहाँका पुजारीहरू ‘आँधीमूल’ भन्ने गर्छन्। आँधीमूलका ठूला तीनवटा पोखरीमा विभिन्न जातका माछाहरू छन्। भक्तजनहरूले आँधीमूल देवीको पूजाआजा गरेपछि पोखरीका माछाको पूजा गर्ने र आहारा दिने गर्छन्। 

यहाँको माछा मर्‍यो भने मूल पुजारीले विधिवत रूपमा अन्तिम संस्कार गर्ने, काजकिरिया गर्ने र जुठो बार्ने परम्परा रहेको मन्दिरका पुजारी युवराज मास्की मगरले बताए। ‘हाम्रा पितापुर्खाको पालादेखिकै यस्तै चलन रहिआएको छ’, पुजारी युवराज मास्की भन्छन्, ‘माछा मर्‍यो भने त्यसलाई पोखरी आसपासमा खाडल खनेर गाड्छौं। त्यस दिन खाना नखाई जुठो बार्छौं।’ जुठो बारेका दिन कसैलाई पनि नछुने, खाना पनि नखाने, कुनै काम पनि नगर्ने उनले बताए।

जुठो बारेको दिन आँधीमूलमा नियमित पूजा पनि हुँदैन। ‘माछा मरेको दिन पुजारीले जुठो बार्छन्। त्यो दिनमा आँधीमूलमा पुजारीले नियमित पूजा गर्दैनन्’, स्थानीय डीपी अधिकारी भन्छन्, ‘टाढा टाढाबाट आएका भक्तजनहरू फर्कनु नपरोस् भनेर त्यस दिन अरू कोही पुजारीले मन्दिरमा पूजाआजाको काम चलाउँछन्।’

मन्दिरमा धेरै टाढादेखि खास–खास तिथि तथा पर्वमा फूलको डोली ल्याउने परम्परा रहेको अधिकारी बताउँछन्।

आँधीमूल देवीको पूजाआजाका लागि अहिले धेरै टाढाका विभिन्न जिल्लादेखि भक्तजनहरू आउने गर्छन्। आँधीमूलको विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा संघ सरकारले पनि सहयोग गरिरहेके छन्। यसलाई पिकनिक स्थलका रूपमा विकास गर्न पूर्वाधार पनि निर्माण भएका छन्। तनहुँ, गोरखा, चितवन तथा विभिन्न जिल्लाबाट यहाँ पिकनिक आउने स्थानीयवासीले बताए। 

बस्तीबाट केही पर रहे पनि भक्तजनको चहलपहल बढ्न थालेपछि यहाँ रेस्टुरेन्ट, स्वीमिङ पुलहरू पनि बनेका छन्।

किंवदन्ती विभिन्न भए पनि यो मन्दिरको स्थापना विसं १९६५ मा भएको अभिलेख पाइन्छ। मगर समुदायको बाक्लो बस्ती रहेको यहाँ मन्दिर स्थापनाका बेलादेखि मगर पुजारी भएकाले अहिलेसम्म पनि पुजारी मगर समुदायकै छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.