राष्ट्रिय टी–२० च्याम्पियनसिपको घोषणा, विराटनगरमा आयोजना हुने
विराटनगर : मोरङ क्रिकेट संघले राष्ट्रिय टी–२० च्याम्पियनसिपको घोषणा गरेको छ। बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले च्याम्पियनसिपको घोषणा गरेको हो।
क्रिकेट एसोसियसन नेपाल र कोशी प्रदेश सरकारसँगको समन्वयमा उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको संघले जनाएको छ। विराटनगर महानगरपालिका–१९ स्वर्गीय गिरिजाप्रसाद कोइराला खेल मैदान (वैजनाथपुर क्रिकेट मैदान) प्रतियोगिता आयोजना गर्ने संघको तयारी छ।
विराटनगरमा पहिलोपटक आयोजना हुन लागेको यो प्रतियोगिता आगामी फागुन २२ गतेदेखि १६ गतेसम्म हुने बताइएको छ। प्रतियोगितामा १० टोलीको सहभागिता रहने मोरङ क्रिकेट संघका अध्यक्ष मोहम्मद साद कुरैशी (बाबु)ले जानकारी दिए। प्रतियोगितामा जम्मा २३ वटा खेलहरू हुने छन्।
उनका अनुसार प्रतियोगिताको प्रत्यक्ष प्रसारण राष्ट्रियस्तरको टेलिभिजनबाट गरिने छ। ‘विराटनगरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ यहाँ पहिलोपटक यो स्तरको प्रतियोगिता गर्न आँटेका हौं,’ उनले भने, ‘यहाँको प्रतिभा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा देखियोस् भन्ने हाम्रो उद्देश्य हो।’
क्यानको क्यालेन्डरअनुसार नै प्रतियोगिता आयोजना गर्न लागिएको बताउँदै उपाध्यक्ष अशोक रेग्मीले प्रतियोगितामा कोशी प्रदेश सरकार र क्यानको सहयोग रहनेमा आफूहरू आशावादी रहेको सुनाए।
राष्ट्रिय टोलीका परिचित केही खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ। ती खेलाडीको नाम र ट्रफी चाँडै नै अर्को पत्रकार सम्मेलनको आयोजना गरेर खुलाइने आयोजकको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !