कांग्रेस महमन्त्री विश्वप्रकाशको राजनीतिक प्रस्ताव
'विश्वविद्यालयको उपकूलपति नियुक्तिको प्रक्रिया र व्यक्तित्व छनोटको विषयमा सरकारले नयाँ सन्देश दिनुपर्छ'
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले पछिल्लो समय सरकारले गरेका कतिपय नियुक्तिहरू विवादित भइरहेको बताएका छन्।बिहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा पेश भएको महामन्त्री शर्माको राजनीतिक प्रस्तावमा पछिल्लो समय सरकारले गरिरहेको र गर्ने तयारीमा रहेका कतिपय महत्वपूर्ण नियुक्तिहरूमा 'भागबण्डा' थप आलोचनाको विषय बनेको उल्लेख छ।
राजनीतिक नियुक्ति गर्दा व्यक्तिहरूको व्यवसायिक योग्यता,निष्ठा र इमानदारितालाई महत्वपूर्णका साथ हेरिनुपर्ने उनको तर्क छ।
पछिल्लो समय विश्वविद्यालयको उपकूलपति नियुक्तिको विषय थप विवादित बन्दै गएको भन्दै शर्माले नियुक्तिको प्रक्रियादेखि व्यक्तिको छनौटसम्मको विषयमा सरकारले विशेष ध्यानदिनुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन्।
'पछिल्लो समय सरकारले गरिरहेको र गर्ने तयारी गरिरहेको कतिपय महत्त्वपूर्ण नियुक्तिहरूमा भागबन्डाको जुन सन्देश गएको छ,त्यो आलोचनाको विषय बनेको छ। विश्वविद्यालयहरूको उपकूलपति नियुक्तिको प्रक्रियादेखि व्यक्तित्वको छनौटसम्मको विषयमा सरकारले नागरिकमा नविन आशा जगाउने ढंगले नयाँ सन्देश दिन सक्नैपर्छ,'प्रतिवेदनमा उल्लेख छ।
त्रिभुवन विश्वविद्यालयको उपकूतपतिको छनौंट प्रक्रिया नै विवादित भएको भन्दै आलोचना भइरहेको छ। विश्वविद्यालयको उपकूलपतिका लागि दरखास्त दिएका ४३ जनामध्ये १४ जना सर्टलिस्टमा परेका छन्।
विवादित व्यक्तिहरू सर्टलिस्टमा परेपछि उपकूलपति छनौट प्रक्रियामाथि प्रश्न उठेको हो।
प्रतिक्रिया दिनुहोस !