गणपुरक संख्या नपुर्याउन विपक्षीहरूले बैठक छाडेको आरोप लगाएपछि संसदमा हंगामा
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले गणपुरक संख्या नपुर्याउन प्रतिक्षीका सांसदहरूले बैठक छोडेर गएको आरोप लगाएपछि संसदमा विवाद सृजना भएको छ।
सांसद केसीले बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेश हुने बेलामा विपक्षी दलका सांसदहरू संसद छोडेर बाहिर गएको आरोप लगाएका थिए।
उनले आरोप लगाउन नखोजेको भन्दै आफ्नै आँखाले देखेको बताए। उनले भने,' विधेयक टेबुल गर्ने सत्तापक्षको मात्रै कुरा होइन। जानाजान विधेयक असफल पार्ने काम भएको छ।'
लगत्तै विपक्षी सांसदहरूले उठेर विरोध जनाए। सत्तापक्ष र प्रतिपक्षी सांसदहरू प्रतिवादमा उत्रिएपछि संसदमा विवाद बढेको हो। त्यसपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए।
सांसद गिरीले आफूहरूका कारण कुन विधेयक पास गर्नबाट रोकियो भन्दै प्रश्न गरेका थिए। उनले सत्तापक्षका सांसदहरूले प्रतिपक्षमाथि हिलो छ्याप्ने काम भएको आरोप लगाए। उनले देशको सुशासनका मुद्दामा कुनै पनि हालतमा सम्झौता गर्न नसक्ने बताए।
रास्वपाका विराजभक्त श्रेष्ठले संसदको क्यालेण्डर अगाडी नै तय भएकाले कांग्रेसले त्यसलाई बेवास्ता गरेको बताए। त्यस्तै राप्रपा सांसद ज्ञान बहादुर शाहीले पनि संसदको क्यालेण्डर अनुसार सत्तापक्ष चल्न नसकेको आरोप लगाए। उनले यथास्थीतिमा संसद चल्न नसक्ने बताए।
त्यसलगतै माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा हुलहुज्जत नगर्न र सदन चल्ने वातावरण बनाउन आग्रह गरे । उनले संसदमा सभामुखको भूमिकाप्रति पनि आपत्ती जनाए।
प्रतिक्रिया दिनुहोस !