जटायुको जीवन रक्षार्थ

जटायुको जीवन रक्षार्थ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

अकालमा मृत्यु मानिसको मात्रै होइन, कुनै पनि पशुपन्छी र जीवजन्तु वा वनस्पतिको पनि हुनु हुँदैन। झन् विष, विषादीकै कारणले प्राणीको मृत्यु हुन्छ भने त्यो चिन्ताको विषय हो। त्यसको खोजी हुनुपर्छ। हालैका दिनमा नवलपरासीको जटायु रेस्टुरेन्टतिर जसरी गिद्धहरूको मृत्यु भइरहेको छ, त्यो पनि खोजीको विषयमात्रै होइन, त्यसको कारण निदान गर्नुपर्ने विषय हो। नवलपरासीमा यही वर्ष २४ वटा गिद्ध अर्थात् जटायु मरे। यसै साता पनि सुनगिद्धको मृत्यु भएको छ। ३ वर्ष पहिला ६९ जटायु मरे। जटायुको आहारा सिनो हो। मरेका पशुपन्छीको सिनोले प्रकृतिमा प्रदूषण गर्छ। तर जटायुले त्यही प्रदूषण नियन्त्रण गर्छ। तर त्यही जटायु नै मर्न थाल्नु भनेको प्रकृति प्रदूषित हुनु हो। र त्योभन्दा बढी त प्राकृतिक सन्तुलन खल्बलिनु हो।  

यसै पनि जटायुका केही प्रजाति अति संकटापन्न सूचीमा छन्। जसको संरक्षण जरुरी छ। नेपालमा पाइने ९ थरीमध्ये ४ वटा त्यही अति संकटापन्न सूचीका हुन्। अहिले मरेका कतिपय जटायु पनि अति संकटापन्न सूचीकै परेका छन्। यो आफैंमा संकटको सूचक हो भनेर बुझिएन र जटायुको मृत्यु रोक्न सकिएन भने निश्चित छ— मानव जीवनलाई संकट आइलाग्छ। २०४० सालभन्दा अघि नेपालमा १६ लाख जटायु थिए। तर त्यसको अर्काे दशकमा भने पशुहरूमा प्रयोग हुने डाइक्लोफेनेक भन्ने औषधिले जटायुलाई झन्टै सखापै पा¥यो। त्यो औषधि खाएका पशुको सिनो खाएका जति जटायुको प्राणलीला समाप्त भयो। ९० प्रतिशतभन्दा ज्यादा जटायु मरे। भारतमा त त्यो प्रतिशत ९९ नै थियो भनिन्छ। 

फेरि केही समययता देखा परेको जटायु मृत्यु पनि विषसँग जोडिएको छ। स्यालको सिनो खाएर गिद्ध मरेका छन् भन्नुको मतलव विषाक्त औषधि वा खाद्यवस्तु घरपालुवा जनावरमा मात्रै सीमित रहेन, जंगल पनि पसिसक्यो। यो डरलाग्यो विषय हो। पत्ता लगाउनुपर्छ, त्यो कुन विष हो, जसले प्रकृतिको कुचीकारकै अस्तित्व बढार्दैछ। मानिसको औषधिजस्तै पशुहरूको ओखतीमूलो पनि चिकित्सकको परामर्शमै खुवाउनुपर्छ। नत्र फेरि उस्तै विपत्ति आउँछ। जसरी डाइक्लोफेनेक प्रतिबन्धले जटायुको संख्या बढायो, फेरि पनि हानिकारक विष, विषादी कडा प्रतिबन्ध लगाइनुपर्छ। जटायुजस्ता पन्छीमात्रै होइन कीटपतंगलाई समेत कुनै हानिनोक्सानी नपुग्ने ओखतीमात्रै पशुपन्छीमा प्रयोग गर्न कडा नियमन गर्नुपर्छ। लापरबाही गरियो भने मान्छेकै लागि आत्मघाती हुन्छ, हुन्छ। त्यसैले जटायु रक्षार्थ राज्यले कडा निगरानी गरोस्, कडा नियमन गरोस्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.