चिराइतो खेतीमा रमाउँदै रसुवाली किसान
रसुवा : चिराइतो बहुमूल्य जडीबुटी हो। डेढ दशकअघिसम्म प्राकृतिक रूपमा रसुवाको वनमा मात्र पाइन्थ्यो। अहिले किसानहरू व्यावसायिक खेती गरेर आम्दानी लिन थालेका छन्। आयआर्जनको सम्भावना देखेपछि यहाँका कृषकले जडीबुटी खेती गरेर आम्दानी लिन थालेका हुन्। बहुऔषधीय गुण भएको चिराइतोनामक जडीबुटी नेपालका धेरै उच्च पहाडी क्षेत्रमा पाइन्छ। चीन तथा भारततर्फ निर्यात हुन थालेपछि यसको माग बढेको छ। भाउ पनि राम्रो पाउन थालेपछि २०६४ सालदेखि रसुवाको हिमाली भेगमा व्यावसायिक खेती गर्ने बढेको पाइन्छ।
चिराइतो १ हजार ५ सयदेखि तीन हजार मिटरसम्मको उचाइमा पाइन्छ। यसको लागि २ हजार मिटर उचाइ उत्तम मानिन्छ। कालिका गाउँपालिकाको लोकिल, पलेप, राम्चे र ग्राङदेखि आमाछोदिङमो गाउँपालिकाको चिलिमे, टेताङचे, गोल्जुङ, गत्लाङ, गोसाइँकुण्ड गाउँपालिका–५ को ठुलोस्याफ्रु, ब्राबल क्षेत्रमा यो जडीबुटी खेतीबाट किसानले राम्रो आम्दानी लिने गरेका छन्। यस क्षेत्रमा बोझो, सुगन्धवाल, चिराइतो, मझिठो, पदमचाल, सतुवाजस्ता जडीबुटीको व्यावसायिक खेतीको सम्भावना रहेको कृषक सोनाम तामाङ बताउँछन्। ‘अहिले अन्य जडीबुटी पनि परीक्षण गरेका छौं, अब व्यावसायिक खेती गर्न थाल्नेछौं,’ तामाङले भने। जिल्लाको राम्चे, चिलिमे र स्याफ्रुमा व्यावसायिक जडीबुटी खेती भइरहेको छ। गाउँमै लाखौं आम्दानीको हुने भएपछि कृषकहरू त्यसतर्फ आकर्षित भएका छन्। गाउँमै जडीबुटी ठेकेदार आउँछन् र लैजान्छन् बजारको समस्या छैन बिउ र बिरुवा उत्पादन गरे टाढादेखि खोज्न आउँछन्। कृषक फुर्पा तामाङले भने, ‘चिराइतो बिरुवाको नर्सरी गर्न भने कठिन छ। तापक्रम मिलाउन नसके सबै बिरुवा नर्सरीमै मर्छन्।’
जडीबुटी खेतीको सुरुवात भने संस्थाहरूको प्रयासमा भित्रिएको व्यावसायिक खेती सुरुवात गरेको कृषक बताउँछन्। आमाछोदिङमो गाउँपालिका–५ का बहादुर लामाले भने, ‘यहाँ न्याफ र मानेकोर भन्ने संस्थाले तालिम तथा बिउमा अनुदान दिने गरेपछि सीप सिकेर कृषकले जडीबुटी खेती गरेर आम्दानी गर्न थालेका हुन्।’ चिराइतोको बिरुवा र बिउ बिक्रीमा सहयोगी संस्था नेपाल कृषि वन प्रतिष्ठान (न्याफ)ले पनि सहयोग पु¥याउने गरेको वयोवृद्ध कृषक ङवाङ नाम्ग्यालले बताए। राम्चे, ब्राबल र ठुलोस्याफ्रुमा कृषकहरूले नमुनाको रूपमा जडीबुटी खेतीबाट आम्दानी लिन सफल भएका छन्। स्याफ्रुको ब्राबल र ठुलो स्याफ्रुका कृषकहरूलाई लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले पनि सहयोग गरेको छ। अहिले कृषकहरूले जडीबुटी खेती गरेर वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी गर्न थालेपछि चीनतर्फ निर्यात गर्न सहज वातावरण भइदिए जडीबुटी व्यवसाय गर्न सकिने टेताङचे गाउँका कृषक सोनामधार्पो तामाङले बताए। आफूले चिराइतो खेतीबाट यस वर्ष तीन लाख रुपैयाँ आम्दानी गरेको उनले बताए।
चिराइतोलाई स्थानीयले तामाङ भाषामा तिम्ता भन्छन्। तिम्ता खेतीबाट जीवन लखपति बन्ने सपना बोकेर उनी लागिपरेका छन्। बिउ प्रतिकिलो २५ हजार रुपैयाँ बिक्छ। चिराइतोको पात डाँठ र जरासमेत बिक्छ। जडीबुटीबाट मनग्य कमाउन सकिने स्थानीय कृषक लामासिंगी तामाङ बताउँछन्। यहाँका किसान आम्दानीको लागि चिराइतो मात्र होइन चिराइतो, बोझो, पदमचाल, सतुवा, सुगन्धवालको खेतीमा लागेका छन्।