पुर्ख्यौली घर सजाउँदै पूर्वप्रधानमन्त्री
![पुर्ख्यौली घर सजाउँदै पूर्वप्रधानमन्त्री](https://annapurnapost.prixacdn.net/media/albums/Baburam-gorkha-ghar_Mqs7CKYQsV_UbDguBFYo2.jpg)
गोरखा : सहरको रहरले गाउँ खण्डहर भइरहेका बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने आफ्नो गृहग्राम फर्किएका छन्। दुईतले, तीनतले घर उजाड बनाएर सहर भोग गर्ने प्रचलनले देशभरिका गाउँबस्ती रित्तिँदै गएको छ, तर डा. भट्टराई भने गृहग्राम फर्कने योजनासहित धमाधम घर सजाउँदैछन्।
डा. भट्टराई समकालीन नेताहरूमा सादगी, पढेलेखेका, बौद्धिक र नयाँ विचार दिन सक्ने भनेर चिनिन्छन्। सहरमा घरजग्गा, बैंक ब्यालेन्स नजोडेका उनले अहिले पालुङटार— १ बेलबासमा पुरानो घरलाई रेट्रोफिटिङ गरेर बस्न योग्य बनाउँदैछन्।
गाउँमै बस्ने गरी पूर्वप्रधानमन्त्रीले घर सिँगारपटार गर्न थालेपछि गाउँलेहरू पनि उत्साहित छन्। ‘अहिले सबै मान्छे गाउँघर छोडेर सहरतिर गइरा’छन्। गाउँमा मान्छे देख्न गाह्रो पर्ने बेला आइसक्यो। यस्तो बेलामा पूर्वप्रधानमन्त्री जस्तो मान्छे गाउँमा आएर बस्ने भनेको कम्ता खुसीको कुरा हो र ?’, स्थानीय लक्ष्मण मरहट्टा भन्छन्, ‘उहाँ गाउँ आएर बसेपछि उहाँलाई भेट्न ठूला मान्छेहरू आउँछन्। नयाँ नयाँ मान्छेले नयाँनयाँ विकासका योजना गर्लान्, कच्ची बाटो पक्की होला, स्कुलको विकास होला, अस्पतालहरू बन्लान्। गाउँलेले नयाँनयाँ कुरा सिक्लान्। अब उहाँकै देखासिकी गरेर अरू पनि गाउँ फर्कन थाले भने त गाउँ फेरि गुल्जार भइहाल्छ नि। गाउँले रूपै फेर्न सक्छ।’ पूर्वप्रधानमन्त्री भट्टराई अहिले पनि एक हप्ता, दुई हप्तासम्म आएर बस्ने गरेको उनले बताए।
डा. भट्टराई गाउँमा आउँदा छरछिमेक चाहार्ने, कुराकानी गर्ने गर्दा गाउँलेहरू उत्साहित भएका छन्। ‘उहाँ गाउँमा आएका बेला हाम्रो घरतिर पनि आउनुहुन्छ। बोलाउँदै हिँड्नुहुन्छ। सञ्चो, बिसञ्चो सोध्नुहुन्छ। हामीलाई त रमाइलो लाग्छ’, स्थानीय सीता विकले भनिन्, ‘एक, दुईहप्तासम्म पनि बस्नुहुन्छ। हिसिला भाउजू पनि आउनु हुन्छ। कसको छोरा हो, कसको छोरी, बुहारी हो भन्दै सोध्नुहुन्छ। उहाँहरूसँग अरू मान्छेहरू पनि आउनुहुन्छ। गाउँमा नयाँनयाँ मान्छेहरू पनि देख्न पाइएको छ।’ गाउँ सुनसान बन्दै गएका बेला अहिले चहलपहल बढ्न थालेको उनले बताइन्।
डा. भट्टराईले पुख्र्याैली घर मर्मतसम्भार गरिसकेका छन्। घरअघि भान्सा तथा पाहुना तथा सुरक्षाकर्मीहरू सुत्ने, बस्ने प्रयोजनका लागि कोठा तथा शौचालयहरू निर्माण गरिरहेका छन्। घरको वरिपरि घेराबार र प्रवेशद्वार निर्माण गरेका छन्। घरबाट केही पर रहेको कच्ची सडकबाट घरसम्म जोड्ने सडक पनि निर्माण गरेका छन्।
उनको नियमित आगमनले गाउँलेमा उमंग छाएको छ। ‘घर सिँगारपटार गर्न थाल्नु भएको छ। अस्ति पनि त्यत्रो दिन बसेर जानुभयो। अब यहीँ बस्ने हो भन्नुभा’छ’, स्थानीय रमा लुइँटेल भन्छिन्, ‘गाउँमा कोही छैनन् भनेर नरमाइलो लागिरहेको थियो। अहिले त उहाँ जत्तिको मान्छे पनि फर्केर आउनु भयो भनेर रमाइलो लागिरहेको छ।’
पूर्वप्रधानमन्त्री बस्नेगरी गाउँमा आएपछि गाउँको विकास हुनेमा स्थानीयवासी ढुक्क छन्। ‘उहाँ आएपछि अब जोर्तीचौतारादेखि बेलबास, कोलकाटे, चापाभन्ज्याङसम्म बाटो पिच हुन्छ। पिच नभए हिउँद बर्खै गाडी हिँड्न सक्ने गरी ग्राभेलमात्र भए पनि हुन्छ भन्ने आशा छ’, स्थानीय विष्णु भुजेल भन्छन्, ‘ठूलो रुखको आड लाग्यो भने एकझर पानी ओत्छ भनेझैं, विद्वान मान्छे गाउँमा भयो भने गाउँको विकास हुन्छ।’
२०६४ सालमा अर्थमन्त्री हुँदा हरेक महिना गृह जिल्ला आउने प्रतिबद्धतालाई निरन्तरता दिइरहेको उनको भनाइ छ। साथै गाउँबाट सहर जाने र सहरबाट विदेश जाने परिपाटी निरुत्साहित गर्न आफू नियमित गाउँ आएको डा. भट्टराई बताउँछन्।
‘म सहरी तथा क्षेत्रीय विकासको विद्यार्थी हुँ। हाम्रोजस्तो मुलुक अर्धगाउँ, अर्धसहर हो। गाउँ र सहरलाई जोडेर मात्र नेपालको विकास सम्भव छ भन्ने मोडेल मैले तयार गरेको पनि थिएँ। त्यसैलाई व्यवहारमा उतार्न मैले सहर र गाउँमा बराबर जस्तो बस्ने योजना बनाएको हुँ’, डा. भट्टराई भन्छन्, ‘गाउँको विकास गर्न उत्पादनलाई जोड दिनुपर्छ। यस भेगमा के गर्न सकिन्छ भनेर मैले विभिन्न विज्ञ, विशेषज्ञहरूसँग पनि बरोबर छलफल गरिरहेको छु। हामी गाउँमा नियमित आउने जाने, भेटघाट गर्ने गर्दा गाउँलेमा धेरै ढाडस मिल्ने गर्छ।’ वर्षमा कम्तीमा पनि तीन महिना जति गाउँमा बस्ने, अध्ययन गर्ने, राजनीतिक योजनाहरू बनाउने मनशाय रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)