कोशी प्रदेश राष्ट्रिय टी–२० को उपाधि आर्मीलाई

कोशी प्रदेश राष्ट्रिय टी–२० को उपाधि आर्मीलाई
सुन्नुहोस्

विराटनगर : विराटनगरमा सम्पन्न प्रथम कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। आर्मीले शनिबार भएको फाइनल स्पर्धामा कर्णाली प्रदेशलाई ९ विकेटले हराएर उपाधि कब्जा गरेको हो। प्रतियोगिताको विजेता बनेको आर्मीले ५ लाख नगद पुरस्कारसहित ट्रफी पाएको छ। उपविजेता बनेको कर्णालीले ३ लाखमा चित्त बुझाएको छ।

कर्णालीले दिएको १ सय ११ रनको लक्ष्य आर्मीले १ विकेटको नोक्सानी बेहोर्दै १२ दशमलव २ बलमा पूरा गरेको थियो। पहिलो विकेटका लागि आर्मीका ओपनर सन्तोष कार्की र इमरान शेखले २५ रनको साझेदारी गरेका थिए। कार्की २१ रनमा क्याच भएपछि मैदानमा प्रवेश गरेका तृतराज दासले आक्रमक शैलीमा जित सुनिश्चित गरेका हुन्। 

आर्मीको जितमा इमरानले ३० बलमा अविजित ३८ रन र तृतराजले ३३ बलमा अविजित ५० रन बनाएका छन्। च्याम्पियनसिपमा पहिलो अर्धशतक बनाएका तृतराजले २ छक्का र ५ चौका प्रहार गरे। इमरान र तृतराजले ५४ बलमा ८७ रनको साझेदारी गर्दै खेल आफ्नो पक्षमा पारे। आर्मीका तृतराज दास, वसिर अहमद, सहाव आलम र सुमित श्रेष्ठले समान २–२ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १ सय १० रनको सामान्य योगफल तयार पारेको थियो। आक्रमक सुरूआत गरेको कर्णालीका लागि विपिन रावलले २७ रन बनाउँदा कप्तान रवीन्द्र शाहीले २१ रन, मनिष थापाले २१ र दिनेश अधिकारीले १२ रन बनाए। कर्णालीका दिनेश अधिकारीले १ विकेट लिएका थिए।

जारी सिजनमा ३ वटा प्रतियोगितामा फाइनल पुगेको आर्मीको यो पहिलो उपाधि हो। यसअघि पनि २ वटा प्रतियोगितामा आर्मी फाइनल पुगेर उपाधिविहीन बनेको थियो। आर्मी यसअघि पीएम कपमा नेपाल पुलिस र केपी ओली कपमा मधेस प्रदेशसँग पराजित भएपछि उपविजेतामा खुम्चियो। तर, कोशी प्रदेश ट्रफी टी–२० को पहिलो संस्करणको उपाधि भने चुमेको छ। 

मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनाथपुर रंगशालामा गत फागुन २२ गतेदेखि प्रतियोगिता सुरु भएको थियो। प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलसमेतको ३ विभागीय टिम तथा ७ वटा प्रदेश गरेर १० वटा टिमले सहभागिता जनाएको मोरङ क्रिकेट संघका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिए। 

च्याम्पियनसिपमा प्लेयर अफ दी टुर्नामेन्ट र प्लेयर अफ दी फाइनलको पुरस्कार आर्मीका अलराउण्डर तृतराज दासले पाए। प्रतियोगितामा उदीयमान खेलाडी आर्मीका नितेश पटेल घोषित भए। प्रतियोगिताको विजेता टोली तथा खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार वितरण गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.