ओलीको ‘अनौठो’ लचकता

ती ओली, यी ओली

ओलीको ‘अनौठो’ लचकता

केपी शर्मा ओलीलाई ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने’ नेताका रूपमा नेकपा एमालेले नै प्रख्यात बनाएको छ। आफ्ना कुरामा टसमस नहुने नेताको परिचय बनाएका उनको पहिचानै खरो व्यक्तित्व र, रणनीतिक राजनीतिज्ञ हो। तर, अचेल ओलीको यो पहिचान बदलिएको छ। उनले आफूलाई समयानुकूल लचिलो बनाएका छन्।

काठमाडौं  : केपी शर्मा ओली : नामै काफी छ। उनको एउटा कथन अचेल पार्टीले प्रख्यात बनाएको छ, ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने।’ आफ्ना कुरामा टसमस नहुने नेताका रूपमा चिनिन्छन्, उनी। उनको ब्रान्डै अडानबाट पछि नहट्ने हो। उनको पहिचानै खरो व्यक्तित्व हो। र, रणनीतिकार राजनीतिज्ञका रूपमा परिचित छन्, उनी। 

तर, अचेल एमाले अध्यक्ष ओलीलाई लिएर सर्वसाधारण प्रश्न गर्छन्, ‘के उनी बदलिएका हुन् ? के उनले समयानुकूल आफूलाई लचिलो बनाएका हुन् ?’
संसद् विघटनसँगै ओलीविरुद्ध कडा मोर्चाबन्दी गर्न नयाँ गठबन्धन बन्यो। संसद्बाट परमादेश पाई कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो। नेकपा फुट्यो। एमालेकै महासचिव भइसकेका माधवकुमार नेपालले नयाँ दल खोले– एकीकृत समाजवादी। पुष्पकमल दाहाल नेतृत्वको माओवादी पुरानै ठाउँमा पुग्यो। 

त्यो गठबन्धन चुनावसम्म कायम रह्यो। चुनावमा चेपुवामा परेका ओलीले एमालेलाई समानुपातिकमा सबैभन्दा ठूलो दल बनाए। प्रत्यक्षमा दोस्रो ठाउँमा उभ्याउन सफल भए। लगत्तै गठबन्धनबाट दाहाललाई खोसेर प्रधानमन्त्री बनाए। तर, उनको रणनीति केही महिना पनि टिकेन। दाहाल पुरानै गठबन्धनमा गए। त्यसपछि राजनीतिक शक्ति केन्द्रबाट बाहि¥याइएका ओलीले पछिल्लो चोटी देश–विदेशलाई चकित बनाए– दाहाललाई आफूतिर फर्काएर। रातारात गठबन्धन बदलियो। त्यसभन्दा आश्चर्य त त्यससँगै ओली पूरापूर फेरिएर निस्किए।

लगत्तै माधवकुमार नेपाललाई भेट्न गए। त्यति मात्र होइन, आफू लचिलो बनेर उनलाई सरकारमा आउने ढोका उघारिदिए। अप्रत्यासित गठबन्धन बन्यो, कसैले नसोचेको।  नेकपा छँदा ‘प्रचण्ड’ निकट बनेपछि माधवकुमार नेपालसँग टाढिदै गएका ओली संसद विघटनदेखि त पानी बराबारको अवस्थामा पुगेका थिए। झुक्ने भन्ने ओलीको स्वभावविपरीत कामका रूपमा चिनिने गरेको थियो। तर, उनको व्यवहार, स्वभावमा पनि परिवर्तन आएको छ। व्यङ्ग्य गर्न माहिर ७३ वर्षीय ओलीले ठेट शब्दले थला पर्ने गरी दिने गरेका थिए। माओवादी र एकीकृत समाजवादीका नेतालाई सार्वजनिक ठाउँमा उनी यस्तै व्यंग वाण प्रहार गरिरहेकै हुन्थे। तर, कसैले मेलो पाएन– भित्रभित्रै नयाँ गठबन्धन बनिरहेको छ भनेर। 

त्यसभन्दा कसैले मेलो नपाएको अर्को विशेषता देखियो– ओलीको उलटफेर। पछिल्ला समय उनका निर्णयदेखि भाषणसम्म साह्रै नरम छन्। उनको लचकता र उदारताको राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा चर्चा हुन थालेको छ। के साँच्चीकै ओली लचक भएका हुन् वा उनको यो रणनीति हो ? भन्ने प्रश्न पनि टड्कारो रूपमा देखिएको छ। हामीले ओलीको विगत र अहिलेको व्यवहारबारे यहाँ विश्लेषण गर्ने कोसिस गरेका छौं। 
 
पहिले १ : दलका लागि सुहाउँदो हिस्सा लिन अडान राख्ने 

कुनै बेला नेकपा एमालेलाई अडान नभएको पार्टीको रूपमा चित्रण गर्ने गरिएको थियो। कुनै लिंग नछुट्टिएको भनेर पनि एमालेलाई आलोचना गरिन्थ्यो। तर, जब ओली पार्टी र सरकारको नेतृत्वको आए तब एमालेको त्यो विशेषणै परिवर्तन भयो। अडानमा दृढ नेताका रूपमा ओली स्थापित भए। एमालेलाई अडान भएको पार्टी भन्न थालियो। २०७२ सालमा संविधान जारी गर्दा, नाकाबन्दीको समय, लिम्पियाधुरासहितको नक्सा जारी गर्दाको अवस्था लगायतका ओलीका अडान राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै प्रशंसशायोग्य भएका थिए। 

ओली पार्टीको लागि सुहाउँदा हिस्सा लिन अडान राख्ने गर्थे। भागबन्डामा आफू माथि परेर मात्रै अरूलाई दिने उनको स्वभाव थियो। २०७२ मा होस् वा २०७४ मा होस् प्रधानमन्त्री भएको बेला होस् वा अन्य बेला उनी आफ्नो अडानमा टसमस हुँदैन थिए। २०७२ मा प्रधानमन्त्री, राष्ट्रपति नै एमालेको भाग पार्न सफल भए। २०७४ मा पनि प्रधानमन्त्री, राष्ट्रपतिदेखि महत्वपूर्ण मानिएका मन्त्रालय पनि आफूले नै राखेका थिए। सभामुख (कृष्णबहादुर महरा र अग्नि सापकोटा) माओवादीलाई दिए पनि उनीहरूसँग कहिल्यै सम्बन्ध सुमधुर भएन। 

 नेकपा छँदा ‘प्रचण्ड’ निकट बनेपछि माधवकुमार नेपालसँग टाढिदै गएका ओली संसद विघटनदेखि त पानी बराबारको अवस्थामा पुगेका थिए। झुक्ने भन्ने ओलीको स्वभावविपरीत कामका रूपमा चिनिने गरेको थियो। तर, उनको व्यवहार, स्वभावमा पनि परिवर्तन आएको छ।

२०७९ पुस १० को एमाले माओवादीसहितको गठबन्धन सरकारमा पनि ओलीले अर्थ, परराष्ट्रजस्ता शक्तिशाली मन्त्रालय लिएका थिए। गठबन्धनको अर्को दल माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक सबै कम आकर्षक मानिएका मन्त्रालय मात्रै पाएको थियो। उनको अडानका कारण गृहमन्त्री रवि लामिछानेले पाएका थिए भने जलस्रोत, सिँचाइ तथा ऊर्जामन्त्री राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भएका थिए। ओलीकै अडानका कारण छोडिएका मन्त्रालयमा माओवादीले चित्त बुझाउनु परेको थियो। विभिन्न संवैधानिक नियुक्तमा पनि ओलीले प्रमुख स्थानमा आफ्नै हातमाथि पारेर भागबन्डा गरेका थिए। 

अहिले १ : अरूले राजेको मन्त्रालय लेऊ, छाडेको देऊ भने  

ओलीकै नेतृत्वमा पछिल्लो कांग्रेस–माओवादी गठबन्धन भत्कियो। त्यसपछि एमाले माओवादीसहितको चार दलपछि नेकपा एकीकृत समाजवादी थपिएपछि पाँच दलीय गठबन्धन बन्यो। त्यो गठबन्धनको सबैभन्दा ठूलो दल एमाले नै हो। उसँग प्रतिनिधिसभामा ७८ सिट छ। तर, त्यही एमालेले मन्त्रिपरिषद्मा रोज्जा जति अरूलाई दियो, छाडि जति आफूले लियो। पार्टीभित्र असन्तुष्टि रहँदारहँदै पनि ओली सम्झौता गर्न तयार भए। 

प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री ३२ सिट धारी माओवादीलाई दिन ओली राजी भए भने गृह, शिक्षा जस्ता आकर्षक मन्त्रालय पनि रास्वपालाई छोडिदिए। बाँकी रहेको आकर्षक स्वास्थ्य र वनमन्त्री जसपालाई, संघीय मामिला तथा सामान्य प्रशासन र सहरी विकास पनि एकीकृत समाजवादीलाई दिए। अरूले छोडेका मन्त्रालय मात्रै आफूले राखे।

अर्थ, परराष्ट्रजस्ता मन्त्रालय आफूसँग नहुँदा सरकार चलाउनै गाह्रो हुने भएको गुनासो प्रधानमन्त्रीले राखेपछि आफूहरूले छोडिदिएको एमालेका एक पदाधिकारीले बताए। देश नै संकटमा पर्ने अवस्था आएकाले लचकता अपनाउनु परेको उनको भनाइ छ। 

२. पहिला : चित्त नबुझेको नेताको खोइरो खन्थे 

ओलीले चित्त नबुझेका नेतासँग तिक्ततापूर्ण सम्बन्ध राख्ने गरेका थिए। उनले चित्त नबुझेकाविरुद्ध खोइरो खन्नु नै उनको विशेषताका रूपमा चित्रण हुने गरेको थियो। अरूको खोइरो खनेर नै नेता बनेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ। विगतमा उनले माओवादी सशस्त्र संघर्षको खुलेर विरोध गर्थे। माओवादीको गतिविधि, क्रियाकलापको विरोध गर्न त्यो बेला कमको मात्रै आँट हुन्थ्यो तर त्यसमध्ये एक नम्बरमा ओली थिए। 

पछिल्लो समय माधवकुमार नेपालसँग उनको सम्बन्ध अति खराब भएको थियो। नाम लिँदा पनि कुल्ला गर्नुपर्छसम्म भन्न भ्याएका थिए। बोलचालै बन्द भएको थियो। पछिल्लो समयमा सबैभन्दा खरो आलोचना नै नेपालको गर्थे उनी। कांग्रेसलगायत अन्य पार्टीका नेताको पनि उनी खोइरो नै खन्थे। 

चित्त नबुझेका जो कोहीसँग उनी सम्बन्धै राख्न चाहँदैन थिए। मन नपराएको मान्छेलाई देखिसहँदैन थिए। आफ्नो आलोचना गरेको उनी मन पराउँदैनन् भन्ने गरिन्थ्यो। 

अहिले २ : मतभेद भएका व्यक्तिलाई पनि मिलाएर लैजानुपर्छ भनेर भेट्नै पुगे 

ओली फेरिएको एउटा उदाहरण हो, मतभेद भएको व्यक्तिलाई पनि मिलाएर लानुपर्छ भन्ने सोचको विकास। विगतमा उनलाई भेट्न बालकोट नै धाउनुपर्ने अवस्था थिए। उनी हतपत कसैलाई भेट्न पनि जादँैन थिए। अझ मतभेद भएको व्यक्तिलाई मनाउनेभन्दा पछि बिच्क्याउने काम उनले गर्ने गरेका थिए। 

यसपटक भने उनी हदै लचिलो, उदार भएका छन्। माधव नेपाललाई भेट्न उनकै घर कोटेश्वर पुगेका छन्। होटलमा बोलाएर सौहार्दपूर्ण वार्तालाप गरेका छन्। पछिल्लो भेटघाटले दुई नेताबीच सम्बन्ध सुधार भएको आभास हुन्छ। स्वयम् माधवकुमार नेपालले ओलीसँगको सम्बन्ध सुधारको दिसामा गएको प्रतिक्रिया दिन थालेका छन्। 

एमाले अध्यक्ष ओली विगतलाई गम्भीर रूपमा आत्मासमीक्षा गरेर यो अवस्थामा आउनुभएको हो भन्ने लाग्छ मलाई। यसलाई अन्यथा रूपमा हेर्न हुँदैन। परिवर्तन विरोधी शक्ति एकीकृत भएर आउँदै छन्, हाम्रो अन्तरद्वन्द्वको फाइदा लिने प्रत्यन्न पनि भयो। अनि, वामपन्थी आन्दोलन जोगाउनकै लागि एक हुनुपर्ने अवस्था आयो। 
दीनानाथ शर्मा, सचिव, माओवादी केन्द्र

ओलीको लचकतालाई राजनीतिक रूपमा हेरिनुपर्छ। रियलाइज गरेर सहकार्यका लागि अनुरोध गर्नुभयो। छलफल विचार गरेर हामी पनि तयार भयौं। अगाडि बढ्दै जाँदा वैचारिक, राजनीतिक रूपमा कहाँसम्म पुग्न सकिन्छ, भविष्यले नै बताउने छ। 
प्रमेश हमाल, उपाध्यक्ष, एकीकृत समाजवादी  

पहिले ३ : सहमतिमा अलिकति पनि तल नझर्ने, सम्झौता नगर्ने 

कुनै विषयमा सम्झौता नगर्ने ओलीको स्वभाव हो। विगतमा सहमति, सम्झौता पनि आफ्नो पक्षलाई फाइदा हुने हिसाबले मात्रै गर्ने गरेका थिए। २०७९ पुस १० मा भएको सहमतिविपरीत प्रचण्डले कांग्रेसलाई राष्ट्रपति बनाएपछि सहकार्य नै भंग भएको थियो। 

अहिले ३ : सहमतिबाट ओली ब्याक 

गठबन्धनको रक्षाका लागि ओलीमा थप उदारता देखिएको छ। राष्ट्रियसभा उपाध्यक्षका लागि भएको सहमति फेरियो। २०७९ फागुन २१ गते भएको चारदलीय गठबन्धनले राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो। तर, फागुन २९ गते एकीकृत समाजवादीसहित पाँचदलीय गठबन्धनबीच सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमतिको बुँदा नै हटाइएको थियो। 

उपाध्यक्ष एकीकृत समाजवादीलाई दिने भद्र सहमति भएको नेताहरूले बताउने गरेका छन्। यो हटाएको सहमतिमा पनि ओलीले हार्दिकतासाथ हस्ताक्षर गरे। अझ अरू पनि पद समीकरण कायम राख्न आवश्यक परे छाड्न तयार रहेको उनले बताउने गरेका छन्। एमालेको मुख्य लक्ष्य मिसन ८४ हो। राजनीतिक परिस्थिति बदलिँदैमा यो अभियान नरोकिने उनको भनाइ रहँदै आएको छ।

पहिले ४ : प्रशंसामा ध्यान नदिने, आलोचनामै रमाउने 

एउटै गठबन्धनमा रहेका नेताको पनि खुलेर प्रशंसा ओलीका लागि दुर्लभ विषय थिए। ओलीको स्वभावै प्रशंसामा ध्यान नदिने र आलोचना, विरोधमैै रमाउने खालको मानिँदै आएको छ।

नेकपा कालमा दुई अध्यक्ष भए पनि उनले दोस्रो अध्यक्ष प्रचण्डको कहिल्यै प्रशंसा गरेको सुनिएन। अरूको कटु आलोचनामै ओली रमाउँथे। अरूको प्रशंसा नै गर्न नजान्ने व्यक्तिका रूपमा ओलीको चित्रण हुने गरेको थियो। 

अहिले ४ : संसद्मा प्रधानमन्त्रीको खुलेर प्रशंसा

ओली सांसदमा बोल्दा विरोधमा मात्रै बोल्छन् भन्ने भाष्य रहँदै आएको थियो। प्रशंसा गरिए पनि खुलेर गर्न हिचकिचाउँथे उनी। यसपटक संसद्मा बोल्दा प्रधानमन्त्री दाहालको खुलेरै प्रशंसा गरेका छन्। उनले प्रतिपक्ष दल कांग्रेसको पनि खासै विरोध गरेनन्। बरु देउवाई भने, ‘मुख बन्द नगरौं। आउनुहोस्, संवाद गरौं।’  

उनले पछिल्लो सरकारका कामकारबाहीको प्रशंसा गर्न थालेका छन्। उनले पछिल्लो समय बल्ल सरकारको अनुभूति हुने थालेको बताएका छन्। 

पहिले ५ : गठबन्धनमा एकल वर्चश्व कायम गर्ने प्रयास गरिहाल्ने 

विगत नियाल्ने हो भने ओली नेतृत्वमा रहँदा एकल वर्चश्व कायम गर्ने प्रत्यन्नमा सधैं लागि हाल्थे। २०७४ सालको निर्वाचनमा माओवादीसँग गठबन्धन गरे। झन्डै दुईतिहाइ स्थान जिते। २७५ सिटमा १७४ सिट त एमाले माओवादीको गठबन्धनले पायो। तर, यसको सबै जस आफूले नै लिन खोजको आरोप ओलीमाथि लाग्दै आएको छ। २०७५ जेठ ३ मा पार्टी एकता भएपछि दुई अध्यक्षको व्यवस्था भयो। तर, ओलीले प्रचण्डलाई दोस्रो अध्यक्ष नभई उपाध्यक्षको व्यवहार गरेको दुखेसो रहँदै आएको छ। 

प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री ३२ सिट धारी माओवादीलाई दिन ओली राजी भए भने गृह, शिक्षा जस्ता आकर्षक मन्त्रालय पनि रास्वपालाई छोडिदिए।

एकले सरकार त अर्कोले पार्टी चलाउने भनिएपछि ओलीले नै एकल रूपमा पार्टी चलाए। सरकारमा पनि आधा आधा कार्यकाल नेतृत्व गर्ने गोप्य सहमति भए पनि ओलीले पाँचै वर्ष आफू नै प्रधानमन्त्री हुने चाहना राखेको प्रचण्डले आरोप लगाए। त्यही कारण उनीहरूको सम्बन्धमा तिक्तता आयो। दाहालले नेपाललाई आफ्नो समर्थनमा ल्याउन सफल भए। फलतः नेकपा फुट्ने ठाउँमा पुग्यो। झन्डै दुईतिहाइ बहुमतको शक्ति धुजा–धुजा भयो। 

अहिले ५ : अरूलाई पनि समेटेर लैजान हदैसम्म लचिलो 

पछिल्लो समय ओली हदैसम्म लचिलो देखिएका छन्। अरूलाई पनि समेटेर लानेमा उनको प्रयत्न रहँदै आएको छ। लामो समयदेखि तिक्तता रहेका माधवकुमा नेपाललाई फकाउनसमेत लागि परेका छन्। ओली नआएसम्म कुनै हालतमा नयाँ गठबन्धनमा समावेश नहुने नेपालले पो बरु अडान राखे। ओलीले नेपाललाई फोन गरे। घरमा नै पुगेर भेटे। नेपालले चाहेको होटलमा पनि ओली पुगे। सबैलाई समेटेर लान ओलीमा नरमता र उदारता पलाएको स्वयम् अन्य दलका नेताहरूसमेत भन्न थालेका छन्। साना दललाई पनि समेट्न उनी उदार देखिए।  

पहिला ६ : नेताहरूलाई बालकोटमै बोलाउने 

केपी ओली उर्फ बालकोट। नेपाली राजनीतिकको विशेष स्थानरूपमा बालकोट गणना हुने गरेको छ। २०७९ पुस १० मा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि प्रचण्ड सीधै बालकोट पुगेका थिए। बालकोटले नै उनलाई प्रधानमन्त्री बनाएको थियो। बालकोटको बार्दलीबाट नै ओली र प्रचण्डले हात हल्लाएर एमाले माओवादीसहित गठबन्धन बनाएका थिए। 

तर, यसपटक गठबन्धनमा विगतमा जस्तो बालकोटको चर्चा भएन। नयाँ गठबन्धनको सुत्रधार ओली नै भए पनि उनको निवास जमघटस्थल बनेन। नयाँ गठबन्धन बनाउन बरु एमाले महासचिव शंकर पोखरेल निवास कोटेश्वर बढी प्रयोग भयो। ओलीले विगतमा प्रधानमन्त्रीलाई समेत बालकोट नै बोलाउने गरेका थिए। उनी अरूले बोलाएको स्थानमा जाँदैन थिए। बालकोटमा नै उनलाई भेट्न जानुपथ्र्यो।

null

अहिले ६ : आवश्यकताअनुसार बालुवाटारदेखि कोटेश्वरसम्म धाउन तयार 

वार्ता र संवादका लागि ओलीमा उदारता आएको छ। उनी आवश्यकताअनुसार बालुवाटार, खुमलटार, कोटेश्वर, सिंहदरबार जान थालेका छन्। पछिल्लो समय प्रधानमन्त्री निवास बालुवाटार, प्रचण्ड निवास खुमलटार, नेपाल निवास कोटेश्वर र सिंहदबारमा वार्ता संवाद हुने गरेका छन्। ओलीले अरूलाई बोलाउने होइन, आफैं पुग्ने गरेका छन्। 


माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा एमाले अध्यक्ष ओलीले विगतलाई गम्भीर रूपमा आत्मासमीक्षा गरेर यो अवस्थामा आएको ठान्छन्। यसलाई सकारात्मक रूपमा लिनुपर्ने, अन्यथा रुपमा हेर्न नहुने उनको धारणा छ। 

ओली र प्रचण्ड दुवैले गम्भीर रूपमा आत्मासमिक्षा गरेरै नयाँ गठबन्धन बनाएको उनको भनाइ छ। ‘परिवर्तन विरोधी शक्ति एकीकृत भएर आउँदैछन्, हाम्रो अन्तरद्वन्द्वको फाइदा लिने प्रत्यन्न पनि भयो,’ उनले भने, ‘अनि, वामपन्थी आन्दोलन जोगाउनकै लागि एक हुनुपर्ने अवस्था आयो।’ 

उनले नेपालका ठूला कम्युनिस्टको झगडा मतभेदले नै जनतामा विश्वास टुटेको बताए। ‘पुष्पलालबाट गाइडेड भएका कारणले नेपालका कम्युनिस्टहरू एउटै शाक्तिधारमा जानुपर्नेमा दुईमत छैन’, उनले भने, ‘ओली के गर्छन्, प्रचण्डले के गर्छन् भन्ने आशंका पनि छ। तर, मलाई अब उहाँहरूले यता उता गर्नु हुन्छ भन्ने लाग्दैन।’ 

उनले थपे, ‘शक्तिशाली एकीकृत कम्युनिस्ट शक्ति बनाउन विगतमा ठक्कर, चक्कर खादै यहाँसम्म आइपुगेका छौं। विरोधी र विदेशी शक्तिले पनि हेप्न थालेका छन्। त्यसैले विश्वासको वातावरण बनाउन हामी पनि लागेका छौं।’ 

वार्ता र संवादमा माधव नेपालका साथमा सधैं रहेका एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल ओलीको लचकतालाई राजनीतिक रूपमा विश्लेषण गर्छन्। नेता हमाल अहिले यो समीकरणलाई कार्यगत एकताको सज्ञा दिन्छन्। ‘रियलाइज गरेर सहकार्यका लागि अनुरोध गर्नुभयो, छलफल विचार गरेर हामी पनि तयार भयौं,’ उनले भने। उनले अगाडि बढ्दै जाँदा वैचारिक, राजनीतिक रूपमा कहाँसम्म पुग्न सकिन्छ त्यो भविष्यले नै बताउने बताए। ‘परिस्थितिले जहाँ जसरी अघि बढ्न सकिन्छ, त्यसरी अघि बढ्ने हो,’ उनले भने। 

तर, ओलीको यो लचकतालाई झुकेको भन्दै केही विश्वासपात्र र कार्यकर्ता रुष्ट भएका छन्। ‘गल्ती गरे। झुक्नु हुँदैन थियो। जसको बोलीमा जनताको साथ थियो। तर, विश्वास गुमाए,’ एक कार्यकर्ताले भने, ‘जसले गर्दा अडानका पक्का नै ओलीको विश्वास गुमेको छ।’ सत्ता पल्टाउने नाम यसरी झुक्नुले ओलीको ब्रान्डमा नै धक्का लागेको ती कार्यकर्ताको धारणा छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.