दुखेसै दुखेसोमा रुमल्लिएका बाबुराम
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईबीच झन्डै चार दशक लामो राजनीतिक सहकार्यको इतिहास छ। सशस्त्र द्वन्द्वदेखि संविधान निर्माणसम्म दुवै नेता एकै पार्टीमा एकै ठाउँ उभिएका थिए। त्यसैकारण पनि यी दुई नेताबीच कुनै पनि बेला एकता, सहकार्य हुनु नौलो होइन। तर, पछिल्ला दिनमा भने बाबुराम प्रचण्डसँग टाढिने, अरू नेता भने नजिकिने गरेका छन्। बाबुरामले गठन गरेको नेसपामा पनि यो दृश्य देखिएको छ। बाबुरामको पार्टीका नेता महिन्द्र राय यादवसहितका नेताहरू माओवादीमा ‘विलिन’ हुन तम्तयार छन्। तर, बाबुराम भने अझै पनि छुट्टै ‘नाङ्लो पसल’ चलाउने मुडमै छन्।
हुन त, राजनीतिमा छुट्टिनु र जोडिनु नौलो होइन। माओवादी छोडेपछि बाबुराम र प्रचण्ड निकै टाढिएका थिए। तर, ०७९ को चुनावले दुवै नेतालाई नजिक ल्यायो। प्रचण्डलाई डा. भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखामा लगे। भारीमतले जिताएर पनि पठाए। प्रचण्ड अहिले त्यसको बलमा प्रधानमन्त्री छन्। तर, उनीहरूको सम्बन्ध भने सुमधुर बन्न सकेन। आपसी मनमुटाव, तिक्तता र खटपट नै चलिरहेको छ। त्यसैकारण प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग डा. भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी(नेसपा) बीच अन्तिम चरणमा पुगेको पार्टी एकता भाँडिएको छ। बाबुरामबाहेक अरू नेताहरू माओवादीमा छिर्दै छन्। बाबुरामकै कारण माओवादीसँग नेसपाको संगलो पार्टी एकता नहुने अवस्था सिर्जना भएको माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल बताउँछन्। चैत ३ गते माओवादी अध्यक्ष प्रचण्ड र नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवको उपस्थितिमा पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकीकरणका लागि चारबुँदे सम्झौता भएको थियो। जुन सम्झौतालाई बाबुरामले महिन्द्र राय यादव पक्षको व्यक्तिगत सम्झौता भन्दै इन्कार गरेका छन्।
बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै बाबुरामले पार्टीका बहुमत नेताहरू आफूहरूसँग रहेको र केही व्यक्ति मात्रै माओवादीमा गएको बताए। ‘७० प्रतिशत केन्द्रीय कार्यसमिति सदस्य हामीसँग छन्,’ बाबुरामले भने, ‘३० प्रतिशत मात्रै उहाँहरूसँग छन्। तपार्इंहरू जानुस्। प्रचण्डजीलाई पनि म्यासेज गरेको भनेको छु, कि उहाँहरू मरिहत्ते गरेर भित्रिन खोज्नुभएको छ, लु–लु भित्र्याउनुस्।’
बाबुरामको थियो राष्ट्रपति बन्ने अपेक्षा
आठ वर्षपछि बाबुराम र प्रचण्ड मिल्नै लाग्दा किन खटपट भयो त ? भन्ने प्रश्न चौतर्फी उठेको छ। माओवादीका उपमहासचिव पोखरेलले भने, ‘बाबुरामजीले आफू चुनाव नलडेर प्रचण्डजीलाई आफ्नो जिल्ला गोरखामा लगेर चुनावमा लडाउनुभयो। जिताउनु पनि भयो बाबुरामजीले भित्री रूपमा प्रचण्डजीसँग राष्ट्रपतिको अपेक्षा गर्नुभएको थियो। त्यो पूरा हुन सकेन।’ यही कारणले प्रचण्ड र बाबुरामबीच राजनीतिक रूपमा दूरी बढेको उनले बताए।
०७९ को चुनावपछि माओवादीले एमालेसँग मिलेर पहिलो सरकार बनायो। पछि एमालेलाई छोडेर कांग्रेससँग प्रचण्डले सहकार्य गरे। नेता पोखरेल थप्छन्, ‘त्यसको आधारमा बाबुरामजी राष्ट्रपति बन्ने स्थिति भएन। त्यसैले प्रचण्डजीसँग टाढा पुग्नुभयो।’
बाबुरामलाई प्रचण्डले राष्ट्रपति नबनाउँदा नेसपा र माओवादी केन्द्रबीच पार्टी एकता हुन नसकेको माओवादी नेताहरूको निष्कर्ष छ। डा. भट्टराईको आफ्नै दृष्टिकोणको समस्याले गर्दा उनीबिनाको पार्टी एकता गर्ने अवस्था आएको उपमहासचिव पोखरेलको तर्क छ।
‘अहिले एमाले र माओवादीबीच नयाँ ध्रुवीकरण बन्यो। यो बनेपछि उहाँ(डा. बाबुराम) फरक ढंगले प्रस्तुत हुनुभयो’, नेता पोखरेलले भने, ‘यसले गर्दा माओवादी केन्द्रसँग नेसपाको संग्लो एकता नहुने भयो। महिन्द्रजीको समूहसँग मात्रै एकता हुनेभयो। उहाँ(डा.बाबुराम)को अबकोे विकास प्रक्रिया कुन ढंगले जान्छ, त्यसमा पनि भर पर्छ।’
नेसपा अध्यक्ष भट्टराईले आफू कुनै पदको आकांक्षी नरहेको पत्रकार सम्मेलनमा बताए। ‘हामी सत्य र न्यायको पक्षमा छौं। यसले देश र जनताका लागि हाम्रो काँधमा ठूलो बोध गराएको छ’, उनले भने, ‘पुराना शक्ति भ्रष्टाचार काण्डमा मुछिदै गएको छन्, यसले जनताको माग पूरा गर्न सक्दैन। ०८४ को चुनावमा नयाँ शक्तिले ठाउँ लिन्छ। हामी वैकल्पिक मोर्चा बनाउँछौं।’
व्यक्तिगत स्वार्थले नेसपामा विवाद
बाबुरामलाई राष्ट्रपति बनाउनेबारे चुनावताका पार्टीमा कुनै छलफल नभएको नेसपाका महासचिव रमेशप्रसाद यादव बताउँछन्। ‘किन प्रचण्डजीले डा.साब(बाबुराम)ले गोरखा लगेर चुनाव लडाउनुभयो, किन आफैं एकाएक चुनाव नलड्ने निर्णय गर्नुभयो ? त्यो पार्टीमा छलफल भएन,’ महासचिव यादवले भने, ‘चुनाव सकिएको लगत्तै डा.साब (बाबुराम)ले पार्टी एकीकरण तुरुन्तै नै गर्नुपर्छ भनेर उहाँले नै भन्नुभयो। अहिले त्यही निर्णय लागू गर्दा उहाँ नमान्ने भन्नुहुन्छ।’
बाबुरामलाई प्रचण्डले राष्ट्रपति बनाउने कि राष्ट्रियसभामा लैजानेबारे पार्टीलाई कुनै जानकारी नरहेको नेसपा महासचिव यादवले बताए। ‘डा. बाबुरामजीलाई प्रचण्डजीबारे मनमा के–के परेको छ, प्रचण्डजीसँग उहाँको के कुरो मिलेको छैन। त्यो पार्टीको कुरो होइन्। पार्टीभित्र छलफल पनि भएको छैन। राष्ट्रपति बनाउने कि, उपराष्ट्रपति पद दिने वा राष्ट्रिसभामा उहाँलाई लैजाने पार्टीभित्र छलफल भएको छैन। यदि पद दिने त्यस्तो छलफल भएको रहेछ भने उहाँको व्यक्तिगत कुरो हो।’
०७९ को चुनावमा प्रचण्ड गोरखाबाट जितेलगतै बाबुरामले माओवादीसँग पार्टी एकता गर्ने हतारो गरेका थिए। नेसपा महासचिव यादवका अनुसार चुनाव सके लगत्तै पार्टीका एउटा अध्यक्ष( महिन्द्र) विरामी परेर दिल्ली उपचारका लागि गएका थिए। त्यो बेला डा.साबले राजनीतिक समितिबाट माओवादीसँग पार्टी एकता गर्न वार्ता समिति बनाए। नौ बुँदै म्यान्डेड दिएर वार्ता टोली गठन पनि गठन गरेका थिए।
पार्टी एकताको पक्षमा महिन्द्र समूह
नेसपाको पार्टी एकता संयोजन समितिले प्रचण्ड र बाबुरामबीचको तितोमिठो मिलाएर मंसिर ५ र ६ गतेको नेसपाको पार्टी बैठकबाट माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्वत निर्णय गरेको थियो। माओवादी र नेसपाबीच पार्टी एकता गर्न माओवादीका महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट पार्टी सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवसहितको कार्यदल बनेको थियो।
महासचिव यादवले भने, ‘बीच–बीचमा उहाँ(बाबुराम)को के–के कुरा प्रचण्डजीसँग मिलेन उहाँको व्यक्तिगत कुरा हो। पार्टीको कुरा होइन। पार्टीले दिएको म्यान्डेडका आधारमा पार्टी एकता गर्ने माओवादीसंग चैत ३ गते दुई पक्षीय सम्झौता भएको छ।’ त्यसैकारण आफूहरू माओवादीसँग पार्टी एकताको पक्षमा उभिएको उनले बताए।
नेसपामा भाँडभैलो
माओवादी पार्टीसँगको एकताको विषयलाई लिएर नेपाल समाजवादी पार्टीभित्र भाँडभैलो मच्चिएको छ। पार्टीका बाबुराम र अर्का अध्यक्ष महिन्द्र राय यादवले छुट्टछुट्टै बैठक गरेका छन्। बाबुरामले पार्टीको बैठक बसेर गठित पार्टी एकता÷धु्रवीकरण संयोजन समिति भंग गरेका छन। चैत ५ गतेको बैठकले पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादवसहितका नेतालाई पार्टीको पदबाट पदमुक्त गरेको छ। जारी प्रेस नोटमा भनिएको छ, ‘पार्टीको विधि, पद्धति र अनुशासनविपरीत माओवादी केन्द्रमा पार्टीलाई विय गराउने दुषित मनसायले केही व्यक्तिहरूले पार्टी एकताका नाममा जारी गरेको वक्तव्यलाई सर्वसम्मत रूपमा अमान्य घोषित गर्दै पार्टीको हितविपरीतका गतिविधिमा संलग्न भएका व्यक्तिहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ।’
पार्टीका अर्का अध्यक्ष महिन्द्र पक्षले बाबुराम पक्षले गरेका कुनै पनि निर्णय नमान्ने बताएको छ। ‘माओवादीँंग पार्टी एकता नगर्ने, गरेको सम्झौतालाई खारेज गर्ने, अध्यक्ष महिन्द्र यादव, महासचिव गंगा नारायण श्रेष्ठसहितलाई पदमुक्त गर्ने, के–के मन लाग्यो, त्यही निर्णय डा. साब(बाबुराम)ले गर्नुभयो। त्यो बैठक नै अवैधानिक थियो। त्यो बैठकले गरेको निर्णय नै हामीलाई अमान्य छ’, महिन्द्र पक्षका नेता तथा पार्टीका महासचिव यादवले भने।
केही व्यक्तिहरू पार्टी छोडेर माओवादीमा समाहित हुन गएको अध्यक्ष डा. भट्टराईको दाबी छ। ‘किन यत्रो रडाको गरेको ? उहाँहरूलाई ससमान जहाँ–जहाँ जानु छ जानुस्, हामी सक्दो साथ दिनुस्, थाक्नुभयो भने जानुस्’, बाबुरामले भने, ‘राजनीतिमा यस्तो रडाको गर्नुहुँदैन। डर लागेको होला उहाँहरूको संसद पद खाइदिन्छन कि भनेर। हामी त्यो पद पनि खाँदैनौं। कुनै उजुरबाजुर र कानुनी उपचारमा पनि जाँदैनौं।’
अब के गर्छन् बाबुराम ?
बाबुरामले नेसपा आफ्नोे एजेन्डामा अघि बढ्ने बताएका छन्। पत्रकार सम्मेलनमा बाबुरामले भने, ‘पुरानो शक्तिसँग संसर्ग गरेर वैकल्पिक शक्ति बन्दैन।’ ‘कांग्रेस र कम्युनिस्टभन्दा अगाडि बढेर देशमा छुट्टै वैकल्पिक शक्ति बनाउँछौं। संविधानमा लेखिएको उदारवादी लोकतन्त्र पनि होइन्, समाजवादी प्रणाली पनि होइन्’, उनले भने, ‘व्यक्तिको निजी स्वतन्त्रता र सामूहिकता संयोजन भएको समुन्नत समाजवादतिर जाने हो। यी नै मुद्दा लिएर जनतामा जन्छौं, पक्कै वैकल्पिक शक्ति बन्छ।’
प्रतिक्रिया दिनुहोस !