वीरगन्जलाई परवानीपुर गोल्डकप
![वीरगन्जलाई परवानीपुर गोल्डकप](https://annapurnapost.prixacdn.net/media/albums/parwanipur-gold-cup-1_DkkLONOmRK_4UrlYMjTM3.jpg)
वीरगन्ज : बाराको परवानीपुरमा आयोजित तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि वीरगन्ज युनाइटेड क्लबले जितेको छ।
शनिबार भएको फाइनलमा हेटौंडा फुटबल एकेडेमीलाई टाइब्रेकरमा ४–३ गोलले स्तब्ध पार्दै साविक विजेता वीरगन्जले उपाधि जितेको हो।यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट निकालिएको थियो। परवानीपुर खेल मैदानमा भएको फाइनलमा वीरगन्ज युनाइटेडले हेटौंडामाथि सुरुदेखि नै दबाब बनाएको थियो। खेलको ३०औं मिनेटमा उदीतनारायण चौधरीले पहिलो गोल गर्दै वीरगन्जलाई १–० को अग्रता दिलाएका थिए। तर, खेलको ८५औं मिनेटमा हेटौंडाका सखिल गुरुङले गोल गर्दै खेल १–१ गोलको बराबरीमा पुर्याएका थिए।
त्यसपछि भएको टाइबे्रकरमा पाँचमध्ये वीरगन्जका चार खेलाडीले गोल गरे भने हेटौंडाका ३ जनाले मात्रै बललाई जाली चुमाउन सफल भएका थिए। उपाधिसँगै वीरगन्जले दुई लाख एक हजार रुपैयाँ नगद पुरस्कार पायो। उपविजेता हेटौंडाले एक लाख एक हजार रुपैयाँमै चित्त बुझायो।
शक्ति युवा क्लबले आयोजना गरेको प्रतियोगिताको समापन समारोहमा उपाधि विजेता परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वीरगन्ज युनाइटेडका अमर डंगोल घोषित भए।
यस्तै उत्कृष्ट गोलरक्षक वीरगन्ज युनाइटेडकै दिलमणी चौधरी, उत्कृष्ट रक्षक वीरगन्जकै सञ्जय चौधरी, बेस्ट मिडफिल्डर वीरगन्जकै विपिन दुम्सी मगर र उत्कृष्ट प्रशिक्षक वीरगन्जकै रामकिशोर धामी घोषित भए। उनीहरूले जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार पाए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)