सकियो १५ दिने मिथिला माध्यमिकी परिक्रमा

जनकपुर : मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको परिक्रमा सोमबार जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै समापन भएको हो । मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रमा पारेर एक सय ३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर मिथिला माध्यमिकी परिक्रमा गरिन्छ । मध्याह्नपूर्व सम्पन्न गरिने यात्रामा एक लाखभन्दा बढीको सहभागिता रहेको थियो ।
अन्तर्गृह परिक्रमाले आत्मशुद्धि हुने,परमार्थ सुध्रने र पारिवारिक कल्याण भइ अन्त्यमा मोक्ष प्राप्त हुने हिन्दु मैथिल जनविश्वास छ । त्रेता युगमा श्री राम र जानकीले जनकपुरधाम वरपर विहार गरेको सम्झनामा यो यात्रा परम्परा सुरु भएको मानिन्छ ।
मिथिलामा परिक्रमाको १५औँ दिनको रात ठाउँठाउँमा राक्षसी होलिकाको आकृति बनाइ त्यसलाई दहन गर्ने र भोलिपल्ट त्यो डढेको आकृतिको खरानी उडाउने चलन छ । यसमा आकृति दहन गर्नुलाई ‘होलिका दहन’ र खरानीको धुलो उडाउनुलाई ‘धुरा उडाउनु’भनिन्छ ।
मिथिलाको मध्यमा परिक्रमा वृत्तभित्र भने धुरा उडाएको अर्थात् अन्तर्गृह परिक्रमा गरिएको भोलिपल्ट फागु खेल्ने चलन छ ।
प्रतिक्रिया दिनुहोस !
