सुनकोशी–मरिण डाइभर्सनको साँढे १२ किलोमिटर सुरुङ खनियो, एक महिनाभित्र ‘ब्रेक–थ्रु’

सुनकोशी–मरिण डाइभर्सनको साँढे १२ किलोमिटर सुरुङ खनियो, एक महिनाभित्र ‘ब्रेक–थ्रु’
सुन्नुहोस्

कुसुमटार (सिन्धुली) : राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने काम ९० प्रतिशत बढी सम्पन्न भएको छ। १३ दशमलव ३ किलोमिटर मध्ये शनिबारसम्म १२ दशमलव ५ सय १७ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ।

आयोजना प्रमुख मित्र बरालका अनुसार टनेल बोरिङ (टिबिएम) मेसिनमार्फत शनिबारसम्ममा १२ दशमलव ५ सय १७ किलोमिटर सुरुङ खन्ने काम सकिएको र अव ७ सय ८३ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको छ। ‘विचमा कुनै समस्या नआए आगामी एक महिनाभित्र सुरुङको ब्रेक–थ्रु गर्नेगरी काम भएको छ,’ बरालले भने।

यसअघि टनेल बोरिङ (टिबिएम) मेसिनलाई पहिरोले थिचेपछि चारपटकबढी डाइभर्सनको निर्माण कार्य रोकिएको थियो। तर, अहिले मेसिनमा कुनै समस्या आएको छैन। कमलामाई नगरपालिका २ कुसुमटारबाट सुनकोशी गाउँपालिका ७ को कानढुंग्री निक्सने सुरुङको निर्माण कार्य चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले गर्दै आएको छ। 

सुरुङ निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का पाएको थियो। १५ अर्ब ५९ करोड ४० लाख रुपैयाँको सुरुङ निर्माण कोभेकले ३६ प्रतिशत घटेर ठेक्का लिएको हो। २०७९ असोज २८ गतेबाट निर्माण थालिएको सुरुङ २२ महिनामा सक्ने लक्ष्य राखिएको थियो। तर, आयोजनाले लक्ष्यभन्दा करिब ६ महिना अघि नै सुरुङको निर्माण कार्य सम्पन्न गर्ने जनाएको छ। आयोजनाले सुनकोशी नदीमा बाँध कस्ने काम समेत तीब्र गतिमा थालेको छ। 

सुनकोशीमा बाँध निर्माण लगायतका कामको १७ अर्ब ७५ करोड रुपैयाँको ठेक्का रमण–पटेल जेभीले ३२ प्रतिशत घटेर १२ अर्बमा सकाएको छ। यसैबीच ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई आयोजनाको निरीक्षण समेत गरेका छन्। 

शनिबार कमलामाई नगरपालिका-२ कुसुमटार स्थित सुनकोशी–मरिण डाईभर्सन निर्माण स्थलमा पुगेर मन्त्री बस्नेतले आयोजनाको प्रगति विवरण बुझेका हुन्। उक्त अवसरमा मन्त्री बस्नेतले सरकारले प्राथमिकतामा राखेको आयोजना भएकोले यसको ब्रेक–थ्रु पछि आयोजनाले थप गति लिने बताए।

सुनकोशी गाउँपालिका-७ स्थित कानढुंग्रीबाट सुनकोशी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका-२ कुसुमटारमा झारिनेछ। ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ०७ मेगावट विद्युत उत्पादन गरिनुका साथै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ। सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको छ। यस आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.