गुल्मीमा चैते धान रोपाइँको क्षेत्रफल घट्यो
गुल्मी : गुल्मीका विभिन्न फाँटका किसानलाई यतिबेला चैते धान रोप्न भ्याइनभाइ छ। चैत महिना सुरु भएलगत्तै जिल्लाका किसान खेतमा बाली गाउँदै, हिलो खेल्दै धान रोप्नमै व्यस्त भेटिन्छन्। यहाँका किसानले चैते र वर्षे गरी वर्षमा दुई पटक धान खेती गर्दै आएका छन्। चैतको पहिलो सातादेखि रोप्न सुरु गरेको धान यो महिनाभर रोप्ने प्रचलन छ।
असार महिनामा पाकेको धान भित्राएर पुन वर्षे धान रोप्ने परम्परा जिल्लामा विगतदेखि चलि आएको छ। यहाँका किसानले हंशराज, आपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठूलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सी नामको धान रोप्ने गर्दछन्। चैते धानको रुपमा स्थानीय मार्सी, सिएच ४५, चैते ५, हर्दिनाथ १ प्रजातिको बिउ रोप्ने रोपिन्छ।
जिल्लाका अर्वेनी, कनौटा, छापचौर, लिम्घा, अस्लेवा, ज्वाङखैरेनी, साहाघाट, च्यामी फाँट, मजुवा, रुपाकोट, शान्तिपुर तलाफाँट इन्द्रेगौडा भुवाचिदि वामीटक्सार पौदी अरेवा भर्माचौर लगायत बडिघाट खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, सिर्सेनीको अग्लुङफेदी, पनाहाखोला र छल्दीको आसपासका क्षेत्र, चौरासीफाँट, हुलाके, घोडाहाफाँट, टारीफाँट, खर्जेङ, बोआफाँट, टाहाटिम, घिउबेसी, छम्दी, आसपासको क्षेत्रमा चैते धान खेती हुँदै आएको छ।
पछिल्लो तीन वर्षयता गुल्मीमा चैते धान रोपाइँको क्षेत्रफल घट्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष ०७७/०७८ मा ३ सय ५२ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिन्थ्यो। तर,गत आर्थिक वर्ष ०७९/८० मा आइपुग्दा रोपाइँ क्षेत्रफल घटेर ३ सय ४१ हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको छ।
यस वर्षमा ३ सय १९ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने कृषि ज्ञान केन्द्रले प्रक्षेपण गरेको छ। पछिल्लो समय बढ्दो सहरमा बसाइँसराइ, ग्रामीण क्षेत्रमा उत्पादन गर्ने जनशक्तिको कमि हुँदा बर्सेनि रोपाइँको क्षेत्रफल घट्दै गएको कार्यालय प्रमुख नवराज भण्डारीले बताए। हिउँदमा वर्षा पनि कम हुने भएकाले धानको खेतीमा गर्न थप समस्या बढ्दै गएको उनले बताए।
जिल्लामा हाल हिउँदे र वर्खे धानखेती हुने क्षेत्रफल मध्ये ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिँचाइको व्यवस्था रहेको छ। ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिँचाइको व्यवस्था रहेको छ। यो वर्ष ३१९ हेक्टर क्षेत्रफलमा चैते धान रोपिने अनुमान छ। हालसम्म १७ प्रतिशत जग्गामा चैते रोपिएको छ। पछिल्लो तीन वर्षयता जिल्लामा धान उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ।
जिल्लामा सबैजसो ठाउँमा सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसानहरू आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ। विभिन्न कारणले मानिसहरू बसाइँसराई गर्नाले उत्पादन गर्ने जनशक्ति नहुँदा खेती गर्ने क्षेत्रफल बर्सेनि घट्दै गएको पाइएको छ। हिउँदमा वर्षा नभएकाले चैते धानको खेती र उत्पादनमा कमी हुँदै गएको कार्यालयले जनाएको छ।