त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट ३ महिना अवतरण गर्न नपाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट ३ महिना अवतरण गर्न नपाइने
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे (धावनमार्ग)को उत्तरतर्फको टु जिरोबाट विमान अवतरण बन्द गरिएको छ। अहिले विमानस्थलमा रनवेको दुवै विन्दुलाई छुने 'प्यारालाल ट्याक्सी वे' विस्तारको काम भइरहेको छ। सोही क्रममा सोमबार (अप्रिल १)बाट उत्तरतर्फको टु जिरोतर्फको  ट्याक्सी वे निर्माण सुरु गरिएकाले त्यहाँबाट विमान अवतण बन्द गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए। 

ट्याक्सी वे विस्तार गर्दा धावनमार्गको भागमा छुने भएकाले टु जिरो बन्द गरिएको उनले बताए। रनवेको उत्तरतर्फबाट उडान गर्न सके पनि अवरतण पनि पूर्णरूपमा बन्द गरिएको उनले बताए। बढीमा ३ महिनाका लागि उत्तरतर्फ अवतरण बन्द गरिने पनि उनले बताए। अन्तर्राष्ट्रिय उडानमा उत्तरतर्फ अवतरणमा रोक लगाएपछि दक्षिणतर्फको चाप बढ्ने देखिन्छ। उत्तरतर्फबाट आन्तरिक विमानहरू भने अवतरण गर्नसक्ने विमानस्थलले जानकारी दिएको छ। रनवे उत्तरतर्फको ट्याक्सी वे विस्तारपछि दक्षिणतर्फ पनि विस्तार गरिने बताइएको छ।
 

विमानस्थल क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत यसको निर्माण अघि बढाइएको छ । रनवे बन्द गर्ने सम्बन्धमा आयोजनाले आन्तरिक तथा बाह्य वायुसेवा प्रदायक कम्पनीहरूसँग छलफल गरेको बताइएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्डअनुसार ट्याक्सी वे विस्तारको काम भइरहेको छ। २०२६ सम्म सक्नेगरी ३ वर्षका लागि गान्सु मेकानाइज्ड चिनियाँ कम्पनीलाई ट्याक्सी वे विस्तारको ठेक्का दिइएको हो। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ट्याक्सी वे विस्तारको काम भइरहेको छ। 

प्यारालाल ट्याक्सी वे नहुनाले सबै जहाज रनवेबाट टेक अफ गर्दै आइरहेका छन्। यो समयमा अरू जहाज उडान अवतरण गर्न पाउँदैनन्। प्यारालाल ट्याक्सी वे हुनेबित्तिकै जहाजहरू यसबाट नै उडानका लागि क्यूमा जान सक्छन्। यो हुनेबित्तिकै रनवेको क्षमता करिब २५ प्रतिशतले बढ्ने बताइएको छ। 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य गरी सरदर साढे ३ सय उडान हुने गरेको छ। विमानस्थलले करिब २३ हजार यात्रुलाई दैनिक सेवा दिइरहेको छ। वार्षिक यात्रुको चहलपहल करिब ७५ लाख छ। 

नेपालमा आगामी २० वर्षमा हवाई यातायातको वार्षिक स्थिर वृद्धि (३-५ प्रतिशतसम्मको) हुने अनुमाने छ। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थिति काठमाडौं सहरको ज्यादै नजिक रहेकाले यसको सीमा क्षेत्रभन्दा थप विस्तार गर्ने अवस्था छैन। बढ्दो मागलाई विमानस्थलको हालको सीमा क्षेत्रभित्रै उपलब्ध क्षेत्रफलको प्रभावकारी उपयोग गरेर सम्बोधन गर्नुपर्ने देखिन्छ। यसैका लागि प्राधिकरणले एडीबीको सहयोगमा सन् २०१०-२०२८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधारका लागि गुरुयोजना तयार गरेको छ। विमानस्थल विस्तारको लागि १ सय ४० रोपनी जग्गा अधिग्रहण गरिएको बताइएको छ।
 
आयोजना क्षेत्रमा ट्याक्सी वेको उत्तरी भागलाई विस्तार गर्ने, विमानस्थलमा बढी विमानहरू राख्न यात्रु चढाउन/ओराल्न र सामान राख्न/झिक्नका लागि विमान रोक्ने क्षेत्र (अप्रोन एरिया) विस्तार गर्ने, ह्यांगर थप गर्ने र धावन मार्गको दक्षिणी भागमा ३ सय मिटर धावन मार्ग विस्तार गर्ने रहेका छन्। धावन मार्ग (रनवे) विस्तारको काम भइसकेको छ। 

धावन मार्गको दक्षिणतिरको अन्तिममा ट्याक्सी वे विस्तार गर्ने, जहाज पार्किङस्थल (ह्याङ्गर)लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी भागमा स्थानान्तरण गर्ने र आन्तरिक विमानस्थलमा यात्रु चढाउन/ओराल्न र सामान राख्न/झिक्नका लागि विमान रोक्ने क्षेत्र (अप्रोन एरिया) निर्माण गर्नेलगायत गुरुयोजनाअन्तर्गत सन् २०२८ को अनुमानित माग धान्नेगरी हवाई उड्डयन सुविधाको थप विकासको योजना गरिएको छ। ट्याक्सी वे र ह्यांगर एरियाको लगानी भने एडीबीको ऋणमा भइरहेको छ। करिब ६५ मिलियन अमेरिकी डलरमा आयोजना निर्माण भइरहेको जानकारी दिइएको छ। 

धावनमार्गको उत्तरपश्चिमपट्टि अन्तर्राष्ट्रिय एप्रोन (पार्किङ) विस्तारको काम भइरहेको छ। पार्किङ बनिसकेपछि थप १८ अन्तर्राष्ट्रिय विमान पार्किङ गर्न सकिनेछ। अहिले ११ विमान पार्किङ हुँदै आइरहेको छ। चाइना नेसनल एरो टेक्नोलोजी इन्जिनियरिङले २०२० मा यो आयोजनाको ठेक्का पाएको थियो। कोभिडका कारण काम सुरु नभएको एप्रोन विस्तारको काम आगामी दुई वर्षभित्र सकिने छ। यो आयोजना नेपाल सरकार र प्राधिकरणको आन्तरिक स्रोतबाट परिचालन भइरहेको छ। आयोजनाको लागत करिब सात अर्ब रुपैयाँ छ। 

ह्यांगर एरिया (जहाजहरूको मर्मत गर्ने ठाउँ) विकासको काम पनि भइरहेको छ। धावनमार्गदेखि पूर्वतिर यसको काम भइरहेको छ। केडिएन र सीसीइसीसी जेभी (सहकार्य) चाइनिज कम्पनीले ठेक्का पाएको छ। यो आयोजना पनि सन् २०२६ सम्म सक्नुपर्ने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.