सडक दुर्घटनाको भयावह
काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी शनिबार त्रिशूली नदीमा खस्यो। एउटै परिवारका पाँच सदस्यले ज्यान गुमाए। त्यसै दिन पोखरामा गुडिरहेको बस सडकबाट बल्ड्याङ खाँदै खस्यो र तल्लो सडकमा पुगेर ठडियो। लगत्तै आइतबार कास्कीको भदौरेमा सडकबाट जिप खस्यो। दुई जनाले मृत्युवरण गरे। दिनहुँ सडक दुर्घटनामा कसै न कसैले ज्यान गुमाइरहेकै छ।
सरकारी तथ्यांकले नै भन्छ– सडक यातायातका साधनको दुर्घटनामा दैनिक सात जनाले ज्यान गुमाउँछन्। अकालमा कुनै पनि नागरिकको ज्यान जानु हुँदैन, झन् दुर्घटनामा त हुँदै हुँदैन। दुर्घटनाले ज्यानमात्रै लिँदैन, अंगभंग पनि बनाउँछ। घाइते बनाएर जीवनभर कामै गर्न नसक्ने पनि बनाउँछ। एउटा परिवार र समाजलाई मात्रै होइन, त्यो देशकै लागि नोक्सानी हो।
नेपालमा जति पनि सडक छ, गतिलो छैन। एक त कालोपत्रे गरेको सडक कम छ, त्यही कालोपत्रेको पनि स्तर छैन। भत्कनु, बिग्रनु बेलामा मर्मत नहुनु र सडकमै आहाल जम्नु सामान्य जस्तै छ। त्यसमाथि सडक यातायात गुडाउने शैली र संस्कारको पनि उत्तिकै कमी नेपालीमा छ। एक त सार्वजनिक यातायातका साधन हाँक्ने चालकमध्ये अधिकतर शैक्षिक योग्यताको कमी छ। चेतनाको अभाव छ। अवस्थ प्रतिस्पर्धाले गर्दा अस्वस्थ हँकाइले पनि दुर्घटना निम्तिरहेको छ। मादक पदार्थ सेवनलगायत कारण पनि सडक दुर्घटनासँग जोडिन्छन्। तर राज्यले सडक सुरक्षाको कुनै कार्यक्रम बनाउँदैन।
सरकार केवल सडक यति निर्माण गर्यौं भनेर नापो सुनाउँछ, तर त्यसको स्तर र त्यहाँ यातायात सञ्चालन र नियमनमा कुनै ख्याल गर्दैन। सडक यातायात दुर्घटनाको भयावह हेर्दा सरकार संवेदनशील हुनै पर्नेछ। सडक सुरक्षाको देशव्यापी अभियान चलाउन जरुरी छ। सडक पूर्वाधारहरूलाई सुरक्षित बनाउने र साधन सञ्चालनको संस्कार बसाउन सकिएन भने दुर्घटना कम हुँदैन। नागरिकले अकालमा ज्यान गुमाइरहनुपर्छ। ट्राफिक नियमको पालना नेपालमा निकै फितलो छ। जरिबाना असुलीमा ट्राफिक प्रहरीको जति तदारुकता देखिन्छ, सचेतना बढाउने काममा भने ध्यान अत्यन्तै न्यून छ। दोष कसैले गरोस् र कारबाही गरुँ भन्ने भन्दा पनि दोष र कमजोरी नहुने वातावरण सिर्जना गर्ने दायित्व राज्यको हो।