दुर्घटनामा मृत्यु भएकाको परिवारलाई नगरपालिकाले ५० हजार राहत दिने
![दुर्घटनामा मृत्यु भएकाको परिवारलाई नगरपालिकाले ५० हजार राहत दिने](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_azQNRQCWcU_zVw80Toql0.jpg)
गोरखा : सवारी दुर्घटना तथा कुनै पनि खालको दुर्घटनामा परी जीवन गुमाएकाको परिवारलाई गोरखा नगरपालिकाले राहत रकम दिने भएको छ। नगरपालिका विपद् व्यवस्थापन कार्यविधि अनुसार पालिकाले विपदमा परेका जो कोहीको परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम प्रदान गर्ने नगरप्रमुख कृष्ण राना मगरले जानकारी दिए।
गोरखा नगरपालिकाको हालै सम्पन्न नगरसभाबाट ‘नगरपालिका विपद् व्यवस्थापन कार्यविधि २०८०’ पारित भएको थियो। नगरसभाले नगरक्षेत्र स्थायी बसोबास रहेका जो कोही नागरिक विपद् वा दुर्घटनामा परी मृत्यु भएमा परिवारलाई राहत स्वरूप ५० हजार उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख कृष्णबहादुर रानाले जानकारी दिए। ‘हाम्रो नगरबासीहरू जो कोहीको विपद् अथवा दुर्घटनामा परी मृत्यु भयो भने परिवारजनलाई राहत स्वरूप ५० हजार दिने निर्णय गरेका छौँ’, मेयर रानाले भने।
यस्तै, दुर्घटनामा परी घाइते अथवा अंगभंग भएमा व्यक्तिहरूलाई पनि राहतस्वरुप १५ हजार रुपैयाँ प्रदान गरिने नगरपालिकाले जनाएको छ। कार्यविधिअनुसारको पहिलो राहत गत शनिबार त्रिशूली नदीमा ट्याक्सी दुर्घटनामा परि मृत्यु भएका छ जनाको परिवारले पाउने भएका छन्।
गोरखा नगरपालिका-७ पौवाफाँटकी ७० वर्षीया जुनकिरी रोका, १८ वर्षीय विवश रोका, वडा नम्बर ४ फिनामकी हरिमाया उपरकोटि, ८ वर्षीय आगमन उपरकोटि, वडा नम्बर १४ याङ्कोटकी २८ वर्षीया अन्जना रोका, चालक गोरखा नगरपालिका ५ का ३५ वर्षीय अर्जुन सिर्मलको परिवारलाई प्रतिव्यक्ति ५० हजारको दरले राहत प्रदान गर्ने नगरपालिकाको तयारी छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)