सिन्धुलीमा मिटरब्याज पीडित आन्दोलित
![सिन्धुलीमा मिटरब्याज पीडित आन्दोलित](https://annapurnapost.prixacdn.net/media/albums/Mitarbyaji-Pidit-8_ht3G4lqyQO_XapEsm2ROP.jpg)
सिन्धुली : सिन्धुलीका मिटरब्याज पीडितहरू आन्दोलित भएका छन्। सयौंको संख्यामा रहेका पीडितहरू सोमबारबाट जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा न्याय माग्दै धर्नामा बसेका हुन्।
दूधौली नगरपालिकाका झण्डै १ सय बढी पीडितहरू सोमबार रातभर खुला आकाशमै बसेर न्याय मागिरहेका हुन्। मिटर ब्याज पीडित संघर्ष समितिका संयोजक वर्षबहादुर विश्वकर्माका अनुसार मिटर ब्याजीका विरूद्ध उजुरी गरिएको भए पनि उल्टै अदालतमा मुद्दा हालेर घर जग्गा खालि गर्न भनेपछि पीडितहरू संगठित भएर आन्दोलनमा उत्रनु परेको हो। उनले भने, ‘एकै गाउँका सात जनाको घरबार एकै व्यक्तिले उठाएको छ। ११ लाख पैसाको एक करोड २५ लाख रुपैयाँसम्म मिटर ब्याज उठाए पनि घरजग्गा फिर्ता नगरी उल्टै खाली गर्न धम्की आउन थालेको छ।’
पीडितहरूले मिटर ब्याजीहरू कमलामाई नगरपालिका १४ चन्दनपुरका विनोद गुप्ता, दूधौली नगरपालिकाका वृजनारायण शाह, अरुण महतो, मनोज कुमार नायक, प्रमोद कवाडी, दिप्ति कवाडी, अरूण महतो, आशेष नायक लगायतलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने, पीडितको घर जग्गा फिर्ता गर्नु पर्ने, अदालतको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग गरेका छन्।
मिटर ब्याजी विनोद गुप्ताले स्थानीय धनसरिया अधिकारी र बेच्नी कुमरको घर जग्गा खालिगर्न दवाव दिएका छन्। यस्तै मिटरब्याजीले सिन्धुली जिल्ला अदालतमा उपेन्द्र अधिकारी, प्रेमलाल अधिकारी, चैति अधिकारी, लिलावती राउत विरुद्ध झूटा विवरण राखि मुद्दा हालिएको गुनासो छ।
पीडित लिलदेव अधिकारीका अनुसार स्थानीय मनोज नायकसँग विभिन्न पटक गरी ११ लाख रुपैयाँ लिएको अहिले ब्याज बढाएर १ करोड २५ लाख दिनुपर्ने कागज गराएका छन्। अधिकारी अपांगसमेत हुन्। उनी पनि आन्दोलनमा सहभागी छन्।
यस्तै दूधौली नगरपालिका १० मंगलपुरका घुसकी अधिकारी, फुलकुमारी अधिकारी, कुमारी कुभर, दयावती अधिकारी, मनसरी अधिकारी, चैती अधिकारी, मेसल अधिकारीको ५६ कठ्ठा घरखेत स्थानीय अरुण महतोले जम्मा २६ लाख रुपैयाँमा आफ्नो नाममा कब्जा गरेका छन्।
अभियन्ता विजय थापाका अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा यस अघि मिटरब्याजी विरुद्ध दिएको उजुरीहरू समेत हराएको र प्रशासनले यस अघि गराएको छलफलहरूको कुनै रेकर्ड नभएको आरोप लगाए। ‘तत्कालीन प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल हुँदा कार्यालयमा दुवै पक्षविच छलफल हुँदा गरिएका सहमति समेत लुकाइएको छ। मिटर ब्याजीहरूले दैनिक रूपमा घर र जग्गा खाली गर्न भन्दै दवाव लिने गरेका छन,’ उनले भने।
छलफलमा घर जग्गा फिर्ता गर्ने बताईए पनि कसैको फिर्ता भएको छैन। पीडितका सबैको घरजग्गा मिटर ब्याजीले आफ्नो नाममा रजिष्ट्रेशन पास गराएर लिएका छन्। सरकारले मिटर ब्याज पीडितहरूको मागलाई सम्बोधन गर्न आयोग गठन गरेको छ। तर, जिल्लाका मिटर ब्याजीहरूले खुलेआम पीडितहरूलाई थप पिडा दिएर मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको पीडित धनसरिया अधिकारीको गुनासो छ। उता पीडितहरूले आफ्ना मागहरूका बारेमा सम्बोधन नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय अघि नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारीलाई कार्यालय प्रवेशमा समेत अवरोध सिर्जना छन्।
उनीहरूले विनोद गुप्तालाई पक्राउ गरी कारबाही गर्नुपर्ने, झूटा विवरण हालेर अदालतमा दर्ता गरिएको मुद्दा फिर्ता लिनुपर्ने, पीडितको घरजग्गा फिर्ता गर्नुपर्ने, दूधौलीमै पीडितको गुनासो सुन्ने इकाई गठन गर्नुपर्ने, पीडक विरुद्ध उजुरी गर्न जिल्ला प्रशासनमा डेक्स राख्नुपर्ने, लघुवित्तको ज्याजदी र चरम शोषण बन्द हुनुपर्ने माग गरेका छन्।
उता प्रमुख जिल्ला अधिकारी भरत खनाले पीडितहरूका मागका विषयमा स्थानीय प्रशासन गम्भीर रहेको भन्दै सरकारले गठन गरेको आयोगको निर्णय र सरकारको माथिल्लो निकायको निर्देशन अनुसार कारबाही अघि बढाइने बताए। उनले भने, पीडितहरूले विनोद गुप्तलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। हामी त्यसतर्फ अघि बढ्ने छौं। उहाँहरूसँग छलफल गरेर छिट्टै न्यायको प्रक्रिया अघि बढाउने छौं।’जिल्लामा दूधौली नगरपालिकाबाट मात्र मिटरब्याजी विरुद्ध १३ वटा उजुरी परेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)