गुल्मीमा सोलार प्यानल पड्किँदा घरगोठ जलेर नष्ट
बैशाख : गुल्मीमा सोलार प्यानल पड्किँदा एक घरगोठ जलेर नष्ट भएको छ । जिल्लाको इस्मा गाउँपालिका–६ बुल्म निवासी मोटे कुमालको दुईतले घर र गोठ जलेर पूर्ण रुपमा नष्ट भएको हो ।
विगत केही समयदेखि घरमा प्रयोग गर्दै आएको सोलारको अचानक पड्किँदा ढुङ्गा, माटो, टिनको छानो भएको २ तले कच्ची घर, गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
आगोलागी हुँदा घर भित्र रहेको अन्नपात, लत्ताकपडा, काठदाउरा, भाँडाकुँडा जलेर नष्ट भएका छन् भने आगोमा परेर एक १ बाख्रासमेत जलेर मरेको छ। सोमबार दिउँसो आगलागी भएपछि स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगोलागीबाट ६ लाख बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय गुल्मीका विभिन्न स्थानमा रहेका सामुदायिक, सरकारी र व्यक्तिगत वनमा आगलागीका घटना बढिरहेका छन् । आगोले सबैभन्दा ठुलो क्षति जिल्लाको इस्मा गाउँपालिका भित्रका वडाका केही बस्तीमा पुर्याएको छ । आगलागीबाट जिल्लाभर सयौं घरगोठ जलेर नष्ट भएका छन् भने संयौं पशुचौपाया मरेका छन् ।