समस्याग्रस्त सहकारीलाई केन्द्रविन्दु मानेर उच्चस्तरीय छानबिन आयोग गठन गर्न कांग्रेस मानेन : उपमहासचिव ज्ञवाली
सत्ता सहयात्रा नगरेको रिस पोख्न रवि लामिछानेमाथि केन्द्रित गरेर कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको उनको भनाई छ।
तानसेन : नेकपा एमालेका उपमहासचिव परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमाले माओवादीको गठबन्धन सरकार साढे ३ वर्ष ढुक्कसँग सञ्चालन हुने दावी गरेका छन। पाल्पा आएका एमाले उपमहासचिव ज्ञवालीले अन्नपूर्णसँगको विशेष कुराकानीमा एमाले माओवादीसहितको गठबन्धन भत्काउन अनेकौं प्रयास गरिएपनि त्यो असफल भएको दाबी गरेका हुन्।
एमाले उपमहासचिव ज्ञवालीले भने,‘अहिले सत्ता बाहिर बस्दा कांग्रेस अतालिएको छ,छटपटिएको छ, एमाले माओवादी गठबन्धन टुटाउन कांग्रेसका केही नेता कुन पार्टीसित,केही नेता एमालेसँग पनि सत्ता सहकार्यको प्रस्ताव गरेका छन् तर एमालेको मुख्य चाहाना सरकारलाई नै पूरा अवधि चलाउने रहेको छ।’
अहिले कांग्रेस र एमालेको संयुक्त सरकार बन्छ भनेर बजारमा चलेको गाईगुई हल्ला मात्र भएको एमाले उपमहासचिव ज्ञवालीले बताए।
सत्ता सहयात्रा नगरेको रिस पोख्न एउटा व्यक्तिमाथि केन्द्रित गरेर कांग्रेसले छानबिन समितिको माग गर्यो
देशभरीमा समस्याग्रस्त सहकारीलाई केन्द्रविन्दु मानेर उच्चस्तरीय छानविन आयोग गठन गर्न एमालेले सरकारसँग माग गरेको तर नेपाली कांग्रेसले आयोग गठनमा सहमति नभई आफूसँग सत्ता सहयात्रा नगरेको रिस पोख्न एउटा व्यक्तिमाथि केन्द्रित गरेर संसदीय छानविन समितिको माग गरेर संसद अवरुद्ध गरेकोमा एमालेको आपत्ति रहेको ज्ञवालीले बताए।
ज्ञवालीले भने,‘नेपाली कांग्रेसले रवीलाई गरेको प्रधानमन्त्रीको अफर नमानेपछस रविविरुद्ध लागेको हो,अहिलेसम्म रविलाई कुनै निकाय वा अदालतमा मुद्दा तथा उजुरी दर्ता नभएको अवस्थामा कसैलाई कसैको चित्त नबुझेमा छानविन समिति गठन गर्ने, राजीनामा दिनुपर्ने भन्ने कांग्रेस माग नै गलत रहेको छ।’ उच्च स्तरीय छानविन आयोगले दोषी प्रमाण गरी मुद्दा दायर गरेमा लामिछाने मात्र होइन जो कोही पनि सजाएको भागिदार हुनुपर्ने उनको भनाई छ। उनले प्रतिशोधको आधारमा कसैलाई दण्डित गर्न नहुने एमालेको धारणा रहेको ज्ञवालीले बताए।
सरकार टिकाउन जसपा नेपाल एमालेले फुटाएको हो भन्ने प्रश्नमा एमाले उपमहासचिव ज्ञवालीले जसपा नेपालको आन्तरिक विवादको कारण पार्टी फुटेको दाबी गरे। नेकपा एसको विषयमा साथीहरुले पार्टी भित्र भविष्य नदेखेर असन्तुष्टी बढ्दै गएको उनको भनाई छ।
वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरुपको कारण अस्थिरता निम्ताएकोले स्थायी सरकार सुनिश्चितताको लागि दुई तिहाई मत पुग्ने गरी राजनीतिक दलहरुबीच संविधान संशोधनको विषयमा अनौपचारिक रुपमा छलफल भइरहेको एमाले उपमहासचिव ज्ञवालीले खुलासा गरे। देशमा स्थायित्वको लागि औपचारिक रुपमै एजेण्डा बनाएर निर्वाचन प्रणाली र शासकीय स्वरुप सुधार तथा संविधान संशोधनको आवश्यकता देखिएको एमाले उपमहासचिव ज्ञवालीले बताए।
प्रतिक्रिया दिनुहोस !