बैठकमै जंगिए राजकिशोर यादव, भने- पार्टी विभाजनको दोष उपेन्द्रजीले लिनुपर्छ

बैठकमै जंगिए राजकिशोर यादव, भने- पार्टी विभाजनको दोष उपेन्द्रजीले लिनुपर्छ

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै किचलोमा फसेको छ। अध्यक्ष उपेन्द्र यादवले मनोमानी ढंगबाट पार्टी सञ्चालन गरेको भन्दै नेताहरूले आरोप लगाएका छन्। सोमबार बालकुमारीमा बसेको बैठकमा यादवले थुप्रै आरोपको सामना गर्नुपर्‍यो।

नेता राजकिशोर यादवले उपेन्द्र यादवप्रति गहिरो असन्तुष्टि पोखे। उनले ठालु नेताहरूकै कारण पार्टी विभाजनसम्म पुगेको आरोप लगाए। ‘ठूलाठालु नेताहरू बसेर जे पनि निर्णय गरिहाल्ने प्रवृत्तिले आज पार्टी विभाजनसम्म पुगेको छ। केन्द्रीय समितिमा छलफल गर्नुपर्ने विषय व्यक्तिले गर्न थालेपछि पार्टी फुट्नु स्वभाविक हो,' यादवको विरोध गर्दै उनले भने। उनले पार्टी विभाजनले नेता-कार्यकर्ताहरू पीडदायी अवस्थामा रहेको भन्दै गम्भीर समीक्षाको माग गरे।  'पार्टी विभाजन हुनुको जड के हो? त्यो पत्ता लगाउनुपर्छ,' उनले भने। 

उनले एमाले-माओवादी नेतृत्वको गठबन्धनमा सहभागी हुनु नै नेतृत्वको कमजोरी रहेको औंल्याए। 'कांग्रेस नेतृत्वको गठबन्ध फेरिँदै गर्दा त्यसको समीक्षा हुनुपर्थ्यो। एमाले नेतृत्वको गठबन्धनअघि सहभागी हुने/नहुने विषयमा छलफल गर्नुपर्थ्यो। तर, अध्यक्षजी एक्लैले आफूखुसी निर्णय गर्नुभयो,' उनले भने। माओवादी-एमाले गठबन्धनमा जान नहुने उनको भनाइ थियो। 

उनले मधेस आन्दोलन सम्झिँदै पार्टीसँग सत्ता र शक्ति हुँदा पनि कमजोर बन्दै गएको बताए। 'उहिले हामीसँग न सत्ता थियो, न मन्त्री। तैपनि राजविराज र लहानबाट औँला ठड्याउँदा सिंहदरबार हलिन्थ्यो। शासकहरूको छातीमा कम्पन पैदा हुन्थ्यो। सत्ताको अनुभवी भएर पनि हामी अहिले किन कमजोर भयौं?,' उनले प्रश्न गरे।

मधेसी दलहरूमा निरन्तर आएको फुटप्रति उनी दुःखी भएका थिए। मधेसका मुद्दामा केन्द्रित हुन नसक्दा टुटफुटको शृंखला चलेको उनको भनाइ थियो। 'मधेस आन्दोनपछि मधेसी दलहरूमा निरन्तर टुटफुट देखेका छौं। यस विषयमा गम्भीर समीक्षा गर्ने बेला आएको छ,' उनले भने। उनले पछिल्ला ढेड दसकमा भएका घटनाक्रमबारे गम्भीर छलफल हुनुपर्ने माग गरे। 'मधेस आन्दोलनपछिका १६-१७ वर्षमा जे-जस्तो घटनाहरू भए, त्यस विषयमा गम्भीर छलफल गरौं,' उनले भने। 

उनले अध्यक्ष यादवले प्यारो मान्छेहरूको कुरामा विश्वास गर्दा पार्टीभित्र दुर्घटना भएको बताए। 'हिजो पार्टीभित्र मुसाको सवारी गरेर गणेश परिक्रमा गर्नेहरू आज कहाँ छन्? मेरोबारेमा अध्यक्षजीलाई कुरो लगाउने, चिया पसलमा मेरो कुरो काट्ने, बदनाम गराउन प्रोपगण्डा चलाउनेहरू कहाँ छन्? अध्यक्षजीले समयमै मेरो कुरा मान्नुभएको भए अप्रिय घटना हुँदैन थियो,' उनले दाबी गरे।

उनले पार्टीलाई बलियो बनाउन काठमाडौं छाडेर मधेस झर्नुपर्ने बताए। उनले मधेसी जनताले चाहेको लक्ष्य भेटाउन मधेस झर्नुको विकल्प नरहेको सुझाव दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.