अस्ताए ऐतिहासिक ज्ञानका मणि
काठमाडौं : ‘इतिहास भनेको आफ्नो देशलाई हेर्ने र चिन्ने आँखा हो’, इतिहासकार ज्ञानमणि नेपालले देश र इतिहासबारे डेढ दसकअघि अन्नपूर्णसँगको कुराकानीमा भनेका थिए, ‘जब मानिसले इतिहास बिर्सन्छ वा इतिहास जान्दैन तब उसले आफ्नै देशलाई समेत बिर्सन्छ ।’
प्राचीन र मध्यकालीन इतिहासबारेको गहिरो ज्ञान भएका उनै ज्ञानमणि नेपालको मंगलबार निधन भएको छ । लामो समयदेखि मुटुको रोगलगायत केही स्वास्थ्य समस्या झेल्दै आएका उनको शुक्रबारदेखि मनमोहन कार्डिओभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो । त्यसअघि सिभिल अस्पतालमा उपचार गरिरहेका उनलाई गंगालाल अस्पताल पु¥याइएको थियो । अन्तिम समयमा उनमा मिर्गाैलाको समस्या देखिएको थियो ।
‘हाम्रो देशमा इतिहास पढ्ने पढाउने लेख्ने प्रवृत्ति छुटेर गएको हुनाले हामी आफ्ना देशको इतिहासदेखि अनभिज्ञ भयौं । हाम्रो देशमा इतिहास पढ्ने लेख्ने कुरा छुट्यो’, नेपालले ‘यस्तो छ नेपालमा इतिहास लेखनको १५ सय वर्षे यात्रा’ शीर्षकको लेखमा लेखेका थिए, ‘हाम्रा पुर्खाले के गर्दा देशको उत्थान गरेथे, के गर्दा वा के कुरा बिराउँदा उनको अधस्पतन भएथ्यो भन्ने कुरा जान्न र जानेर त्यसबाट सबक सिकेर भविष्यमा पाइला चाल्न र वर्तमान सम्हाल्न पनि हामी इतिहासकै अध्ययन मननबाट समर्थ बन्दछौं ।’ यसरी उनी देश जोगाउन र चलाउन इतिहासको सहारा लिनुपर्छ जुन प्रामाणिक हुन्छ भन्थे उनी । इतिहास लोकव्यवहारमा र राज्य सञ्चालन कार्यमा पनि कुशलता प्रदान गर्ने भएकाले नभई नहुने विद्या भएको उनको भनाइ थियो ।
दिनेशराज पन्तले प्रामाणिक ढंगले इतिहासका अनेक विषय खोतल्ने अनुसन्धानकर्ताका रूपमा ज्ञानमणि नेपाललाई नेपालीले चिनिरहने बताए । उनले यसका साथै संस्कृति, संस्कृत बाङमय र नेपाली साहित्यातिहासको पनि नेपालसँग गहिरो ज्ञान भएको जानकारी दिए ।
‘सम्झनै पर्ने कुरा बुबा नयराज पन्तले जुन गुरुकुलको जुन पद्धति चलाउनुभयो त्यसमा बुबाको चेलो बनेर सिक्दै गुरुकुल पद्धतिको प्रामाणिक मान्छे बन्नुभयो ज्ञानमणि’, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञपरिषद् सदस्य पन्तले अन्नपूर्णसँग भने, ‘१९८८ सालमा जन्मिएका धनबज्र बज्राचार्य र एक वर्षपछि जन्मिएका ज्ञानमणि दुवै इतिहास लेखनमा सक्रिय नाम । दुईबीच गहिरो मित्रता थियो । धनबज्र स्वर्गीय भएको ३० वर्ष पुग्छ तर ज्ञानमणि २०८० सालको अन्तिम समयसम्म निरन्तर अनुसन्धान र लेखनमा सक्रिय हुनुभयो, त्यो पनि कसैसँग मलमोलाइजा नगरी । जीवनभर मात्र काम गर्नुभयो ।’
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले इतिहास र संस्कृतिमा पारंगत व्यक्तित्वका रूपमा ज्ञानमणि नेपाललाई सम्झिए । ‘प्रज्ञा प्रतिष्ठानमा हुँदा पनि अनुसन्धानमा लागिपर्ने शालीन मानिस लाग्नुहुन्थ्यो, उहाँको सौहाद्र्रता न्यानो छ, बाक्लो छ’, ग्वंगःले भने, ‘उहाँको मूल विशेषता भनेकै अत्यन्तै अनुसन्धानमूलक र विश्लेषणात्मक किताबहरू लेख्नुभयो ।’ उनका अनुसार सरकारले राष्ट्रका लागि योगदान दिने ज्ञानमणिजस्ता बौद्धिक व्यक्तित्वलाई प्राथमिकताका साथ सेवासुविधा दिनुपर्ने भए पनि राजनीतिक व्यक्तित्वहरूलाई भने अनेक सुविधा दिन्छ । उनले थपे, ‘सरकारले ज्ञानमणि नेपालका श्रीसम्पत्तिहरूलाई जोगाइदिए हुन्छ । उहाँका सामग्री जगेर्ना गरे राष्ट्रकै धन हो । पाण्डुलिपीहरू जस्ताको तस्तै प्रकाशन गर्ने व्यवस्था गर्दिए उत्तम ।’
कुलपतिलाई भेट्ने इच्छा जाहेर गरेपछि केही दिनअघि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई नेपाललाई भेट्न सदस्यसचिव डा. धनप्रसाद सुवेदीसहित मनमोहन अस्पताल पुगेका थिए । ‘म आएँ भनेँ । अब निको हुनुपर्छ भन्दा उहाँ प्रफुल्ल हुनुभयो’, राईले कामविशेषले आफूलाई खोजेको दुई दिनपछि पुगेको जानकारी दिँदै भने, ‘बोल्न खोज्नुभयो तर उहाँमा शब्द नै बाहिर निस्कन सकेन ।’
साहित्यकार शैलेन्दुप्रकाश नेपालले ठूलोबुबा पर्नुहुने ज्ञानमणिले नेपाली इतिहासको प्रमाणीकरण गरेर राष्ट्रलाई गुन लगाएको बताए । ‘नयराज पन्तको गुरुकुल पद्धतिमा रहँदा इतिहास संशोधन मण्डलबाट ‘पूर्णिमा’ पत्रिका निस्कन्थ्यो । नेपालको अभिलेखीय इतिहास कहाँ कमजोर छन्, सत्य तथ्य खोजेर संशोधन गर्दै जाने काम हुन्थ्यो शिष्य बनेर’ उनले भने, ‘इतिहासको केन्द्रीयताका सामाजिक, सांस्कृतिक राजनीतिक सन्दर्भहरूमा लेख्दै ज्ञानमणि नेपालको जीवन बित्यो तर उहाँले देश र नेपालीलाई धेरै दिनुभयो ।’
‘इतिहासमाथि पनि राजनीति ! दुई महिना अघिको कुरा हो भेटमा नेपालले भन्नुभएथ्यो’, साहित्यकार जीवनपानी भन्छन्, ‘नेपालले भन्नुभयो, हामी पुस्तकहरूमा पढ्थ्यौं– पृथ्वीनारायण शाहले नेपाल एकीकरणका समयमा पूर्वका ३२,००० किराँतीलाई मारेका थिए । तीमध्ये लिम्बुहरूलाई त उनीहरूको टाउको ढिकीको ओखलमा राखेर धान कुटे झैं थिचेर मारेका थिए । र, यस्तै कीर्तिपुरको युद्धमा
त्यहाँका व्यक्तिको १७ धार्नी नाक काटेका थिए ।
यो लेख्ने एकजना रेजिडेन्ट भन्ने थियो । उसले भए नभएको कुरा लेख्थ्यो । त्यतिबेला म सानै थिएँ । हाम्रोतिर एकजना हिमानसिंह चेम्जोङ भन्ने किराँत समुदायका पढेलेखेका व्यक्ति थिए । उनले रेजिडेन्टले लेखेको कागज हेरेर भनेँ– पृथ्वीनारायण शाहले ३२ जना किराँती पनि मारेका छैनन् । कोही लिम्बूहरूलाई ढिकीमा राखेर मारेका पनि होइनन् ।
यो सबै यसले सम्बन्धित ठाउँका मान्छेलाई पैसा तिरेर लेख्न लगाएको हो । यसरी नेपालको इतिहासमा यस्तै गलत मान्छेका कारण ठाउँ–ठाउँमा गलत तथ्यांकहरू पनि घुसेका छन् । फलतः असल व्यक्तिका असल कर्महरू इतिहासका पन्नाहरूबाट मेटिन सक्ने डर छ ।’
१९८९ सालमा भोजपुरमा जन्मिएका नेपालका इतिहाससम्बन्धी दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । उनको नेपाल निरुत्त चर्चित पुस्तक हो । उदयानन्द अज्र्यालले पृथ्वीन्द्रोदय महाकाव्य लेखे ।
ज्ञानमणिले उनलाई महाआदिकविको उपमा दिएका थिए जब कि भानुभक्तलाई आदिकवि भनियो । संस्कृत नाटक ‘भैरवानन्द’, ‘महिरावणवध’ लगायतका केही कृति नेपालीमा अनुवाद, व्याख्या र सम्पादन गरी नेपालले निकालेका थिए । परराष्ट्र मन्त्रालयमा भएका कागजात खोजेर ‘नेपाल–भोट–चीन सम्बन्धका विविध पक्ष’ नामक पुस्तक उनले लेखे । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यकाल प्राज्ञ सदस्य भएर नेपालले काम गरेका थिए । उनी प्रज्ञाको आजीवन सदस्य हुन् ।
ज्ञानमणि नेपालले २०४३ सालमा पशुपतिनाथको दर्शन स्पर्शन पूजनसम्बन्धमा समीक्षा नामक पुस्तक लेखेका थिए । जसमा पशुपतिनाथको प्रादुर्भावबारे वंशावली वर्णन, पशुपतिनाथलाई छोएर पूजा गर्न पाइने धार्मिक परम्परा, मल्ल राजाहरूले पशुपतिनाथलाई छोएर पूजा गरेको साथै अंकमालसमेत गरेको आदिबारे विस्तृत रूपमा व्याख्या गरिएको छ । जसमा बंगाली मुसलमानी सैन्यले पशुपतिनाथलाई तीन टुक्रा पारेको उल्लेख छ, ‘समसुद्दिनको नेतृत्वमा आएको बंगाली मुसलमानी सैन्यले पशुपतिनाथलाई तीन टुक्रा पारी ध्वस्त पारिदियो ।’