सहकारी हिनामिना प्रकरण
प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासहित शीर्ष नेतासँग छलफल गर्दै
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताको बैठक आज बस्ने भएको छ। सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरूसँग शुक्रबार ६ बजे तय भएको बैठक आज बिहान ८ बजेलाई सारिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।
उनका अनुसार प्रधानमन्त्री दाहाल दाँतको उपचारका लागि अस्पताल जानुपर्ने भएकाले शुक्रबारको बैठक सरेको हो। प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ।
संसदीय छानबिन समिति बनाउने विषयलाई लिएर बिहीबार संसदमा सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो। शुक्रबार ११ बजेको लागि बोलाइएको बैठक संसदीय छानबिन समिति बनाउने विषयमा सहमति नजुट्दा २ बजेलाई सर्दै अन्त्यमा बैठक नबसी स्थगित भएको थियो।
संसद बैठक आइतबार ११ बजेका लागि बोलाइएको छ। कांग्रेसले यसबीचमा संसदीय छानबिन समिति बनाउने विषयमा सहमति जुट्ने अपेक्षा गरेको छ।