भारतीय लोकसभा निर्वाचन

नेपाल-भारत सीमा नाका ६० घण्टाका लागि बन्द

नेपाल-भारत सीमा नाका ६० घण्टाका लागि बन्द
सुन्नुहोस्

कपिलवस्तु : कपिलवस्तुको सीमावर्ती जिल्ला भारतको सिद्धार्थनगरमा शनिबार हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आज बिहान ६ बजे देखि ६० घण्टाका लागि नेपाल भारत सीमा नाका बन्द गरिएको छ। निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आज बिहान ६ बजेबाट मतदान हुने दिन शनिबार साँझ ६ बजेसम्मका लागि सबै सीमा नाकाहरू बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए। 

जिल्लाको कृष्णनगर, मर्यादपुर, चाकरचौडा, सिवलवा लगायतका नाकाहरूमा यातायात तथा मानिसको आवतजावतलाई पूर्ण रुपमा बन्द गरिएको छ। भारतको सिद्धार्थनगर जिल्ला र कपिलवस्तु तर्फका जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूको आपसी बैठक र सहमतिबाट सीमा क्षेत्रबाट निर्वाचन सुरक्षालाई प्रभाव पार्ने गतिविधि हुन नदिन सीमा क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो। 

यस अवधिमा औषधि उपचारका लागि अति आवश्यक काम पर्ने सर्वसाधारणले सीमा क्षेत्रमा खटिएका सुरक्षा अधिकारीसँग समन्वय गरी सीमा पार गर्न सकिने सहायक प्रमुख जिल्ला घिमिरेले बताए। ‘नेपाल तर्फ हुने निर्वाचनका बेला पनि यसै गरी भारतीय पक्षले सीमा नाका बन्द गरेर हामीलाई सहयोग गर्छ,’ सहायक प्रजिअ घिमिरेले भने, ‘हामीले पनि भारतीय लोक सभा निर्वाचनमा सुरक्षा संवेदनशीलता सहयोगका लागि सीमा नाका बन्द गरेका हौं।’

यस अवधिमा नेपाल तर्फका सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरूले सीमा क्षेत्रको दुवै तर्फ संवेदनशील ढंगबाट संयुक्त रुपमा सुरक्षा गस्तीहरू गरिरहेका छन्। सीमा नाका बन्द भएसँगै सीमा क्षेत्रका कृष्णनगर, मर्यादपुर, चाकरचौडा लगायतका नेपाली सीमा बजारहरू सुनसान देखिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.