काठमाडौं : तिलोत्तमा–७, रूपन्देही घर भएकी मालती माली सोमबार दिउँसो बिजुलीबजारस्थित वैदेशिक रोजगार बोर्डको सचिवालयमा हातभरि असरल्ल कागजातसहित भेटिइन्।
बोर्डका कर्मचारीसँग कुरा गर्दा पनि उनी हडबडाइरहेकी थिइन्। केही महिनाअघि यूएईमा बितेका छोरा अजय मालीको परिवारले पाउने आर्थिक सहायता लिनका लागि उनी काठमाडौं आएकी थिइन्।
घरको आर्थिक अवस्था माथि उठाउन अजय अघिल्लो वर्ष यूएई पुगेका थिए। अमेरिका–इरान युद्ध सुरु भएपछि इरानले यूएईमा पनि बम खसाल्यो। बमको आवाजले त्रसित अजयलाई एक्कासि हृदयघात भयो। उनी यूएईमै अस्ताए। छोरा बितेपछि मालतीको अनुहारमा हाँसो छैन। बुढेशकालमा पाल्ने छोरो बाकसमा फर्किएको देख्दा उनले आफूलाई सम्हाल्न सकेकी छैनन्।
नेपालबाट श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको हकमा वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएको अवस्थामा शवलाई घरसम्म पुर्याउने र १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्छ। अजयको परिवारले पाउने १० लाख लिनका लागि मालतीले वैदेशिक रोजगार बोर्डको कार्यालयको चक्कर काटिरहेकी छन्।
यसअघि उनी बोर्ड जाने क्रममा कोही नचिनेको व्यक्तिले उनलाई पछ्यायो। सुलभ नाम गरेका व्यक्तिले उनले पाउने बिमा रकम र आर्थिक सहायता दिलाउन सहयोग गर्ने भन्दै पछ्याएको थियो।
मालतीका आफन्त, परासी घर भएका राजकुमार मालीमार्फत भेटिएका सुलभले मालतीको साथमा भएका सम्पूर्ण कागजात लिएर गएका थिए। अहिले उनी ‘२ लाख ५० हजार नदिई कागजात दिन्न’ भन्दै बार्गेनिङ गरिरहेका छन्। सुलभले फोन गरेर हैरानी दिन थालेपछि मालती गुनासो लिएर वैदेशिक रोजगार बोर्ड पुगेकी थिइन्। बोर्डको सल्लाहअनुसार उजुरी लिएर उनी जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छिन्।
ooo
रामबहादुर थापा वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका थिए। श्रम स्वीकृति लिएर साउदी पुगेका उनी केही समयपछि निकै बिरामी भए। काम गर्न सकेनन् र घर फर्किए। गाउँमा गएर उपचार गराइरहेका बेला उनलाई छिमेकी कसैले भन्यो– ‘विदेश गएर बिरामी परेर फर्किएको अवस्थामा सरकारबाट आर्थिक सहायता पाइन्छ।’
गाउँकै कुनै व्यक्तिले दिएको नम्बरका आधारमा धिमाल थर भएका एक व्यक्तिले उनलाई काठमाडौं बोलाए। बानेश्वरमा रहेको आइप्लेक्स मल छेउको एउटा घरमा लगेर ती व्यक्तिले थापाको कागजात बनाइदिएका थिए। योबापत उनले १ हजार २ सय ५० रुपैयाँ बुझाए।
धिमालले पैसा मात्रै लिएनन्, थापाका दुईवटा खाली चेकसमेत लिए। थापाको हस्ताक्षर गराएर धिमालले चेक लिएपछि रामबहादुर वैदेशिक रोजगार बोर्डमा गुनासो गर्न पुगेका छन्।
ooo
यी केही उदाहरण मात्र हुन्। ठगी गर्ने गिरोह तथा बिचौलियाले विदेशमा मृत्यु भएको लासमाथि पनि कमिसन खान खोज्छन्। आफन्त गुमाएका परिवारका व्यक्तिलाई गुमराहमा राखेर सहयोगका नाममा लाखौं उठाइरहेका छन्। उनीहरूको कागजात हात पारेर ‘पैसा नदिए कागजात दिन्न’ भन्दै बार्गेनिङ गरिरहेका छन्।
कतिपय दलालहरू त वैदेशिक रोजगार बोर्डको छेउछाउमै बसेर पीडितहरूमाथि सहयोगको नाममा लुटधन्दा मच्चाइरहेका छन्। मृतकका आफन्तको माध्यमबाट बार्गेनिङ गरिरहेका छन्। छोरा गुमाएकी आमा, श्रीमान् गुमाएकी श्रीमती तथा परिवारका सदस्यको पीडामा साथ दिने बहानामा बिचौलियाले कागजातै लिएर बार्गेनिङ गरेको गुनासो बढ्न थालेपछि बोर्डले सतर्कता अपनाउन थालेको छ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक चन्द्रबहादुर शिवाकोटीका अनुसार पीडितहरूको अज्ञानताको फाइदा उठाउँदै सहयोगको नाममा ठगी गर्ने गिरोह नै सक्रिय छ।
‘विदेशमा अंगभंग भएका, बिरामी परेका तथा मृत्यु भएका व्यक्तिका परिवारले पाउने बिमा रकम र आर्थिक सहायतामा नजिकका आफन्त वा छरछिमेकबाटै ठगी भएको गुनासोलाई गम्भीरतापूर्वक लिएर कारबाही अगाडि बढाएका छौं,’ उनले भने। विभिन्न व्यक्तिहरूको गुनासो तथा उजुरीका आधारमा बोर्डले कारबाहीका लागि प्रहरी कार्यालयलाई पत्रसमेत लेखेको छ। ठगी गर्ने व्यक्तिहरू पक्राउ पनि परेका छन्।
वैदेशिक रोजगार बोर्डको सचिवालयले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को असार १५ सम्म विदेशमा मृत्यु भएका व्यक्तिहरूका परिवारले आर्थिक सहायताका लागि १ हजार ५ सय २६ वटा निवेदन दर्ता गराएका छन्। अघिल्लो वर्ष यो संख्या १ हजार ५ सय ८७ रहेको थियो। बोर्डका अनुसार यसमध्ये १ हजार ३० वटा शव विभिन्न मुलुकबाट नेपाल ल्याइएको हो। अन्य ४ सय ९६ वटा निवेदन भने विदेशमा बिरामी भई नेपाल आएर मृत्यु भएका व्यक्तिको रहेको छ।
बोर्डका अनुसार अहिलेसम्म सबैभन्दा बढी नेपाली श्रमिकको मृत्यु हुने देशमा मलेसिया रहेको छ। यो आवमा मलेसियामा २ सय ६९ जना श्रमिकले ज्यान गुमाए। यूएईमा २ सय ५७ जनाले भने साउदी अरेबियामा १ सय ८३ जनाले ज्यान गुमाए। कतारमा १ सय २१ जनाले ज्यान गुमाए।
शिवाकोटी श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकले दुःख पाए सरकारले उद्धारका लागि पहल गर्ने र बिरामी भएको अवस्थामा उपचार खर्च दिने गरिएको बताउँछन्। ‘मृत्यु भएको अवस्थामा शव ल्याउने र आर्थिक सहायता उपलब्ध गराउने गरिएको छ,’ उनी भन्छन्, ‘तर श्रम स्वीकृति नलिई गएको अवस्थामा भने कुनै सुविधा दिन सकिँदैन।’
प्रतिक्रिया दिनुहोस !