असल अभिभावकका चार आँखा !

असल अभिभावकका चार आँखा !
सांकेतिक तस्बिर।
सुन्नुहोस्

 प्रसंग १ – छोराको जन्मदिन मनाउन महँगो कार चढेर पशुपतिमा पुगेका डाक्टर दम्पतीलाई थाहै हँुदैन कि आफूले बोरामा प्याक गरेर फ्याकेकी आमा त्यहीँ पशुपतिको आश्रममा छिन्। जन्मदिन भव्य रूपमा मनाइरहँदा जब छोराले उनीहरूलाई आफूलाई जन्म दिएकोमा कृतज्ञता व्यक्त गर्दै आमाबाबुलाई केही उपहार दिन्छ। त्यो उपहार देखेर उनीहरू वाक्क हुन्छन्। झिल्झिले पेपरमा अति राम्ररी प्याक गरिएको त्यो उपहार अरू केही नभएर त्यही बोरा हुन्छ जसमा उनीहरूले आफ्नै आमालाई प्याक गरेर फ्याकेका हुन्छन्। त्यस प्याकभित्र आफ्ना बाबाआमालाई सम्बोधन गरिएको एउटा चिठी हुन्छ। जसमा लेखिएको हुन्छ ‘प्रिय बाबा आमा मैले दिएको यो उपहार जतनसाथ राख्नु होला। हजुरहरू ६८ वर्षको हुँदा यो मलाई काम आउनेछ। त्यो दिनको म व्यग्र प्रतीक्षामा छु। ६८ वर्षको हुँदा हजुरहरूले मेरी हजुरआमालाई यही बोरामा फ्याक्नु भएको थियो।’ उसको भनाइको आशय थियो ‘यो मलाई हजुरहरूले देखाएको बाटो हो। देखाएको बाटोमा त मैले हिड्नै पर्‍यो नि हैन ?’

माथिका हरफहरू पत्रकार तथा लेखक अखण्ड भण्डारीद्वारा लिखित बोरा उपन्यासबाट लिएकी हुँ। सत्य घटनामा आधारित बोरा उपन्यासको झैं कथा सानो छुँदा हामीले खुब सुन्थ्यौें। त्यो कथामा चाहिँ यस्तै तर आमा डोकामा फालिएकी हुन्थिन् र आमा फ्याल्ने ती बाबुआमालाई छोराले भन्थ्यो ‘बुवाआमा यो डोको जतनसाथ राख्नुस् है ? पछि मलाई पनि काम लाग्छ नि !’ यस्ता घटनाहरू हामीले यदाकदा सुन्ने गरेका छौं। बोरामा फ्यालुन् कि डोकामा। घरमै दुःख दिऊन् कि वृद्धआश्रममा राखुन्। राम्रो व्यवहार या नराम्रो यी सबै आफ्ना हुर्कंदै गरेका छोराछोरीलाई दिइने शिक्षा हो। देखाइने बाटो हो। 

प्रसंग २ – मैले केही समयअगाडि सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा चिठी पढेकी थिएँ। जेलमा रहेको छोराले आमालाई लेखेको त्यो पत्र निकै भावुक थियो। जसमा लेखिएको थियो— मेरी आमा अबको केही दिनमा मलाई मृत्युदण्ड दिइँदैेछ। तर यो सजाय मैले गरेको गल्तीको मात्र होइन त्यसैले म मात्रै किन यो सजायको एक्लो भागीदार हुँदैछु ? म सँगसँगै अपराधमा सामेल हुने त्यो पात्रलाई चाहिँ किन माफी दिइयो ? तपाईंलाई अचम्म लाग्छ होला को हो त त्यो अपराधको भागीदार ? मनमा कुरा पनि खेल्दै होला मैले त थाहा पाएकै थिएन। अब सुन्नुहोस् आमा त्यो सजायको भागीदार तपार्इं नै हो। तपाईंलाई याद छ ? म स्कुल जाँदा पेन्सिल, कापी, इरेजर चोरेर ल्याउँथे तर तपाईं मलाई गाली गर्नुको साटो खुसीले हाँस्नु हुन्थ्यो। म अलि ठूलो भएपछि पसलबाट चकलेट, बिस्कुट चोर्न थालें त्यो बेला पनि तपाईं उसरी नै खुसीले हाँस्नु भयो। अझ पसले काकाले यो गलत बाटोमा जाँदैेछ। यसले मेरो पसलबाट धेरै पटक चकलेट बिस्कुट चोरिसक्यो भन्दा तपाईं उसैमाथि जाई लाग्नुभयो। त्योबेला मलाई लाग्यो मैले धेरै राम्रो काम गरिरहेछु अनि मेरी आमाले मलाई कति माया गर्नुहुन्छ। अनि मलाई अझै धेरैका धेरै सामान चोर्न मन लाग्यो। पछि मैले कसैको पसल फोरेर पैसा चोरेर ल्याएँ त्यो बेला पनि तपाईं खुसी नै हुनु भयो। जब म डाँका बनें। ग्याङ बनाएँ। पैसाको लागि मान्छे मार्न थाले अनि तपाईं मलाई सुधार्नतिर लाग्नुभयो त्यो बेला निक्कै ढिला भइसकेको थियो। अहिले मलाई मान्छे मारेर डकैती गरेको आरोपमा यत्रो सजाय दिइँदैछ। के यसको भागीदार म मात्रै हो त ? मलाई यो कुकर्ममा साथ, हौसला दिएर अगाडि बढाउन सहयोग गर्ने तपाईंलाई चाहिँ कुनै सजाय हुँदैन ? जुन मलाई बाल्यकालमा गर्नुभयो यो तपाईंको मप्रतिको माया नै थियो त ? कि के थियो ? मैले अहिलेसम्म बुझ्न सकेको छैन। 

हामीलाई आफ्ना छोराछोरीको माया लाग्छ भन्दैमा उनीहरूले गरेको हरेक नराम्रो काममा हामी कुन तरिकाले र कसरी साथ दिइरहेका छौं ? कुनै कुरालाई यो गलत हो अथवा हुँदैन ! भन्न नसक्दा साना साना कुराबाट कति ठूलो आपराधिक मानसिकतातिर बालबच्चाहरू ढल्कने रहेछन्। 

प्रसंग ३ – मैले केही दिनअघि एउटा भारतीय सिनेमा हेरें। फिल्ममा रहेका बाल पात्रलाई उनीहरूको बुवाले आफ्नी श्रीमती अर्थात् उनीहरूकी आमासँग टाढा बनाउन र आपूmमात्रै उनीहरूको नजरमा राम्रो देखिन गरेका अनेक प्रपञ्च देखाइएको छ। र उसले ती बच्चासँग आपुृm राम्रो देखिन यति झुट बोल्छ त्यो झुटलाई लुकाउनकै लागि आफ्ना छोराछोरीलाई चाहिनेभन्दा कैयौें गुणा बढी स्वतन्त्रता दिन थाल्छ। यसैको फाइदा उठाउँदै उनीहरू अनेक कुलतमा फस्छन् र अन्तिममा सुधार केन्द्रसम्म जानुपर्ने अवस्था आउँछ। हामीलाई लाग्छ। चलचित्र एउटा चलचित्र नै हो तर चलचित्र चलचित्रमात्रै होइन त्यसले समाजको यथार्थता प्रष्ट्याएको हुन्छ। स्वतन्त्रता दिने कारण र अवस्था फरक हुन सक्छन्। आफ्ना बच्चालाई कति र कस्तो प्रकारको स्वतन्त्रता दिइरहेका छौं र त्यो स्वतन्त्रतालाई उनीहरूले कसरी लिइरहेका छन् ? यो बुभ्mन अति नै आवश्यक छ। 

मलाई यस्तै घटना सुन्दा बारम्बार दिमागमा आइरहने एउटा पात्र हो— महाभारतको दुर्याेधन। दुर्याेधनले बाल्यकालदेखि नै अनेक प्रपञ्च गर्दै हुर्कियो। पाण्डवहरूलाई दुःख दिन, सताउन कुनै कसर बाँकी राखेन। विषालु सर्प छोड्नेदेखि लिएर खिरमा विष मिसाउनेजस्ता अपराधजन्य कार्य बाल्यकालमै गरिसकेको थियो। तर यो कुरा उसको बुवा धृतराष्ट्रसम्म आइपुग्दा अर्कै खालको कथा बुनिएको हुन्थ्यो। दुर्याेधनलाई नै राम्रो पात्र बनाएर प्रस्तुत गरिन्थ्यो। जसको कारण दुर्योधनलाई हौेसला मिल्दै गयो। महाभारतको सबैभन्दा ठूलो खलपात्रको रूपमा इतिहास बनेर रह्यो। यसबाट यो पनि बुझ्न सकिन्छ कि आफू जतिसुकै व्यस्त भए पनि आफ्ना बच्चालाई कस्तो मान्छेको जिम्मामा लगाइँदै छ ? र ऊ कस्तो स्वभावको छ ? उसले कुन बाटोमा आफ्नो बच्चालाई लैजाँदैछ ? यी हरेक कुरामा हामीले निगरानी बढाउनै पर्छ। भन्छन् नि ‘असल अभिभावकका चार आँखा !’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.