अनेसासको अबको बाटो
![अनेसासको अबको बाटो](https://annapurnapost.prixacdn.net/media/albums/poem_20221112125256_uDdGdl0E9W_5Ugm1wb8pn.jpg)
नेपाली भाषा, साहित्यको उत्थान गर्दै डायस्पोराको नेपाली साहित्यलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सन् १९९१ मा स्थापना भएको हो। संस्थापक अध्यक्ष होमनाथ सुवेदीदेखि गोवद्र्धन पूजासम्म आइपुग्दा १७ अध्यक्षको कार्यकाल पूरा भइसकेको छ। अहिले १८औं कार्यसमिति चयन प्रक्रिया चलिरहेछ। अनेसासका हाल २५ सयभन्दा बढी आधिकारिक सदस्य छन्। ६० च्याप्टर सक्रिय छन्। नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढिरहँदा अनेसासको विगत, वर्तमान र भविष्यको कार्यदिशाबारे बहस पनि चलिरहेछ। अनेसासले अब थप जिम्मेवार र एक हुनुपर्ने देखिन्छ। अमेरिकाबाट यसको बीजारोपण भएर विश्वव्यापी बन्दै जाँदा अहिले शुभचिन्तकमाझ अनेसास अमेरिका केन्द्रित बन्दै गएको हो कि भन्ने गुनासो छ। यसबीच १७ जनाको नेतृत्व परिवर्तन हुँदा राधेश्याम लेकाली, कुमार बस्नेत र प्रकाश पौडेल माइँला गरी तीनजना भने अमेरिका बाहिरबाटै नेतृत्वमा आए। तथापि समान सहभागिता र अवसरको अपेक्षा बढ्नु पनि स्वाभाविक नै हो।
धेरै अभियान केन्द्रीकृत हुँदा लक्ष्यसम्म पुग्न चुकिरहेका दृष्टान्त छन्। त्यसैले यो पनि ध्यानाकर्षणकै विषय हो। संगठनात्मक संरचना सबल बनाउने हो भने सदस्यताको मापदण्ड र वितरण चुस्त दुरुस्त हुनुपर्छ। मात्र चुनावी प्रयोजनका लागि सदस्यतालाई केन्द्रित गर्ने हो भने भोलि यसले पनि नेपाली राजनीतिको रंग लिन सक्छ। हिजोआज अनेसासभित्र गैरसाहित्यिकलाई सदस्यता दिइएको गुनासो बढ्न थालेकाले यसलाई नजरअन्दाज गरिनुहुन्न। ठूलो संख्यामा रहेका आजीवन सदस्य अहिले पनि आधिकारिक प्रमाणपत्रविहीन छन्। प्रमाणपत्रको व्यवस्था रहेको बताइन्छ तर यसको वितरण प्रक्रिया सीमित घेराभित्र मात्र देखिएको छ। यो गम्भीर र संवेदनशील विषय भएकाले समयमै सम्बोधन गरिनुपर्छ।
विभिन्न यस्तै कारणले सबै सदस्य अपेक्षित सक्रिय देखिँदैनन्। कतिपय देशमा रहेका अब्बल साहित्यकार आन्तरिक समस्या र उल्झनकै कारण केही कार्यक्रममा सामान्य सहभागिता जनाउनबाहेक संस्थागत आबद्धता लिएरै सक्रिय हुन पनि चाहँदैन्। यी आजका लागि सामान्य लाग्ने विषय भए पनि भोलिका दिनमा विकराल बन्दै जानेछन्। यस्ता निश्चित उद्देश्य केन्द्रित बौद्धिक व्यक्तित्व रहेका संस्थाहरूको यस किसिमको रोगले प्रवेश पाउने हुँदैन। शंका गर्ने ठाउँसम्म पनि दिइनुहुन्न। मन जितेर मत लिने र स्वेच्छाले अभिमत जाहेर गर्न पाउनुपर्छ। जहाँ व्यक्तिगत लाभको स्वार्थ हुँदैन, त्यहाँ फरक मत र चिन्तनप्रति कसैले असुरक्षित महसुस गर्नुपर्छ जस्तो लाग्दैन।
उद्देश्य मिल्ने नेपालका विभिन्न सरकारी तथा गैरसरकारी निकाय तथा मन्त्रालयहरूमा सम्बन्ध स्थापित गरेर भाषा, साहित्यको विकासमा सहकार्य गर्न सकिने अनेसासका लागि थुप्रै अवसर र ठाउँ छन्। तर त्यसतर्फ भने खासै पहल र अगुवाइ लिइएको देखिँदैन। यो ज्यादै खड्किएको विषय हो। सरोकारवाला निकायमा रहेका केही राजनीतिक नियुक्तिका व्यक्तिलाई रिझाउने र व्यक्तिगत लाभ लिने कुरामा संस्थाको गरिमालाई सम्झौता गरिनुहुन्न। योग्यता, अनुभव र परिपक्वताको आधारमा पुरस्कार र सम्मानका लागि संस्थाले नै सिफारिस गर्ने र मूल्यांकन गर्ने संस्थागत आधार बनाइनुपर्छ। केन्द्रीय कार्यसमिति र ट्रस्टीका बीचमा खासै समन्वय देखिँदैन। संस्था व्यक्तिगत रिसराग र टकराबको सिकार भएको जस्तो देखिन्छ। यसअघि कतिपय व्यक्तिगत टकरावले नेतृत्व तहमै मुद्दामामिला भएको र वर्षौंसम्म सम्बन्ध धमिलिएको उदाहरण पनि छन्। सामाजिक सञ्जालमा सार्वजनिक धारणा राखेकै भरमा वर्षौंसम्म सदस्यताबाट वञ्चित गरिएका तीता अनुभव पनि नभएका होइनन्।
अनेसासका धेरै सुन्दर पक्ष छन्। यो संस्था डायस्पोरामा रहेको भाषा साहित्यमा केन्द्रित सबैभन्दा ठूलो र निर्णायक सञ्जालका रूपमा परिचित छ। उमेरसँगै संस्थाले परिपक्वता पनि प्राप्त गरिसकेको छ। संसारभर छरिएका नेपालीलाई मातृभाषा र साहित्यको माध्यमबाट जोड्दै विभिन्न कार्यक्रम, प्रतियोगिता र उत्सबहरूका माध्यमबाट प्रोत्साहन पनि दिँदै आएको छ। साहित्यकारबिच अन्तरदेशीय स्वागत सत्कारमा राम्रो योगदान पु¥याएको छ। डायस्पोराको लेखनबारे बिचार, विमर्श, बहस बढेको छ। पछिल्लो प्रकाशनमा केही फितलोपन भए पनि बिगतको लेखनले निकै उचाइ चुमेको पाइन्छ। अनेसासको आफ्नै प्रकाशनमा रहेको गोपाल पराजुलीको कृति ‘नयाँ ईश्वरको घोषणा’ र देश बाहिर बसेर लेख्ने नीलम कार्की निहारिका (अमेरिका)को ‘योगमाया’ले मदन पुरस्कार प्राप्त गरेका छन्। अनेसासले कूटनीतिक तहका व्यक्तिलाई पनि साहित्यमा समेटेको छ। यसका पूर्वअध्यक्ष दुबसु क्षेत्री यसअघि बेलायत र हाल जापानका राजदूत छन्।
अबका दिनमा अनेसासका दायित्व बढ्दा छन्। अब अंग्रेजीलगायत विश्वका चर्चित केही भाषामा कृति अनुवादमा केन्द्रित हुनुपर्नेछ। अन्तर्राष्ट्रिय सम्मेलन आन्तरिक उत्सवजस्तो देखिन्छ। अब अन्य सम्बन्धित देशका साहित्यकारलाई पनि समेट्नुपर्ने हुन्छ। अनुसन्धानमूलक कार्यपत्र कम प्रस्तुत हुन्छन्। यसको संख्यामा वृद्धि गरिनुपर्छ। संसारमा छरिएर रहेका च्याप्टर र सदस्यलाई समेट्दै आफ्नै पब्लिकेसन तथा आफ्नै आधिकारिक सञ्चारमाध्यम बनाउनुपर्छ। हरेक च्याप्टरमा माग भएका पुस्तक आफ्नै नेटवर्कबाट बन्दोबस्त मिलाउनुपर्छ। अमेरिकामा केन्द्रीय कार्यालय निर्माणाधीन अवस्थामा छ। नेपालमै कार्यालय स्थापना गरेर संसारभरबाट आउने साहित्यकार भेटघाट गर्ने र साहित्यिक गतिविधि गर्ने तथा अन्तर्राष्ट्रिय नेटवर्क जोड्ने थलो बनाउन सकिन्छ। पुस्तान्तरणसँगै हस्तान्तरण गरिने थिति पनि बसाल्नुपर्छ। सूचना र प्रविधिको उच्चतम प्रयोग गर्दै प्रकाशन र प्रसारण गरिएका सामग्रीलाई डिजिटल संग्रह गर्न ढिला भइसकेको छ।
अबको अनेसासले आफूलाई प्रविधिमैत्री बनाउँदै अनुसन्धान तथा स्रोतकेन्द्रका रूपमा स्थापित गराउनुपर्छ। अन्तर्राष्ट्रिय सञ्जाल भएकाले परम्परावादी कार्यक्रममा मात्र सीमित नभई नेपाली साहित्यलाई ‘नोबल’ पुरस्कार पाउन सफल कसरी बनाउने भन्ने कुरामा अबको यात्रा तय हुनुपर्छ। नेपाली कलासंस्कृतिको विकासलाई बढावा दिँदै साहित्यिक तथा सांस्कृतिक पर्यटनको विस्तार विश्व समुदायमा गर्न सकिन्छ। तीन दशक लामो इतिहास बोकेको यस संस्थाको नेतृत्व चयन र नेतृत्वमा जान हतारिनु हुन्न। आवेग, आक्रोश र प्रतिशोधको होडबाजीभन्दा गम्भीर भएर सावधानी र सतर्कताका साथ निर्णायक मत जाहेर गर्नुपर्छ। अबको बाटो बिमतिको होइन, भद्र संवाद र सहमतिको हो। शेक्सपियरको भनाइ छ– ‘भूत र वर्तमानमात्र जिन्दगी होइन, जिन्दगीको अनमोल हिस्सा त भविष्य हो।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)