राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक चौधरीविरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक हेमन्त चौधरीविरुद्ध मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा उनीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ।
चौधरीले मगध विश्वविद्यालय, बोधगया,भारतबाट बीए उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी उप-अनुसन्धान निर्देशक पदमा रही ओहोदा,लाभ र सुविधा लिएको पुष्टि हुन आएको अख्तियारले ठहर छ।
नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको हुँदा छानबिन गरी पाउँ भन्ने अख्तियारमा उजुरी निवेदन परेको थियो।
सोही उजुरीका आधारमा छानबिन हुँदा उप -अनुसन्धान निर्देशक चौधरीले भारतको मगध विश्वविद्यालय,बोधगयाबाट बीए उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतको बढुवा, नियुक्ति र त्यसपछिका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेश गरी हाल राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप-अनुसन्धान निर्देशक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि हुन आएकाले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर ,कैद र जरिवाना सजाय हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ।