उखरमाउलो गर्मीमा दिनभरि लाइनमा

उखरमाउलो गर्मीमा दिनभरि लाइनमा

धनगढी/महेन्द्रनगर : बुधबार बिहानको पौने ८ बजेको थियो। जिल्ला प्रशासन कार्यालय कैलालीको पुरानो भवनको बरन्डामा ज्येष्ठ नागरिकको चहलपहल थियो। सानो बरन्डामा, धेरै (डेढ सय बढी) ज्येष्ठ नागरिक थिए। १५/२० जनामात्रै बस्न मिल्ने बेन्च भएको ठाउँमा यति धेरै ज्येष्ठ नागरिक आएपछि बस्न त कता हो कता, खुट्टा टेक्ने ठाउँसमेत थिएन। कतिपय बरान्डाको भुइँमा बसिरहेका थिए भने कतिपय रुखको छहारी खोजेर यताउता भौतारिरहेका थिए। 

त्यसैबीचमा एक जना ज्येष्ठ नागरिक घोप्टो परेर सुतेका  भेटिए। वरिपरि हिँड्नेहरू भुइँमा सुतेका ती ज्येष्ठ नागरिकलाई हेर्दै चुकचुक गर्दै कामतिर लाग्दै थिए। उनी  कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुरका ८४ वर्षका धनबहादुर महत रहेछन्।

कान पटक्कै नसुन्ने। आँखा पनि कमै देख्ने। हिँड्डुलमा अर्काको सहारा चाहिने अवस्थाका उनी, वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालय कैलालीमा आफ्नो र श्रीमतीको राष्ट्रिय परिचयपत्र बनाउन आएका रहेछन्। उनले मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय कैलालीको चक्कर काटिरहेका छन्।  

भुइँमा सुतिरहेका महतको नजिकै पुग्दा उनका २५ वर्षका नाति दिनेश महत आए। उनले भने, ‘मेरा बाजे हो उहाँ, कान पनि सुन्नुहुन्न, आँखा पनि एकदमै कम देख्नुहुन्छ। बस्दाबस्दै ढाड दुख्यो भन्नुभयो, बस्ने व्यवस्था नै नभएको ठाउँमा सुत्न के ल्याउने। त्यसैले आफैं बरन्डामा घोप्टो पर्नुभयो।’

धनबहादुरसँगै छेवैमा उनकी श्रीमती कलसीदेवी महत पनि थिइन्। कलसीको उमेर नागरिकतामा ८५ वर्ष छ अर्थात् श्रीमानको भन्दा १ वर्ष बढी। उखरमाउलो गर्मी (४३ डिग्री) मा श्रीमान् भुइँमा पल्टेपछि आफ्नो धोतीको सप्कोले कलसीले हावा हम्किरहेकी थिइन्। 

‘बूढाभन्दा म एक वर्ष जेठी हुँ, तर बूढा कमजोर भैग्या, म चमचमानी छु, मु बूढाको सेवा गद्धी छु’, (बूढाभन्दा म एक वर्ष जेठी हुँ, बूढा कमजोर भैहाल्नुभयो। म ठीकठाक छु। बू्ढाको सेवा म गर्दै आएकी छु।) उखरमाउलो गर्मीमा पसिना पुछ्दै कलसीले भनिन्, ‘सरकारले यो गर्मीमा साह्रै दुःख दियो। मर्ने बेला अर्को नागरिकता किन चाहियो होला, एउटा त छँदै थियो।’ कलसीलाई राष्ट्रिय परिचयपत्र भनेको अर्को नागरिकता जस्तै हो भनेर कसैले भनेका रहेछन्।

तराईको तापक्रम ४२ डिग्रीभन्दा माथि छ। यस्तो गर्मीमा साउनदेखि नै परिचयपत्र चाहिने भन्ने निर्णय नभएर ६/७ महिनाको समय दिएको भए सहज हुन्थ्यो। तर अचानक मन्त्रिपरिषद्को निर्णय भएर आयो। सरकारको निर्णय हामीले कार्यान्वयन गर्नुपर्छ। धर्मेन्द्रकुमार मिश्र, प्रमुख जिल्ला अधिकारी, कैलाली

महत दम्पतीको घरबाट जिल्ला प्रशासन कार्यालय कैलाली झन्डै ७० किलोमिटर दूरीमा छ। ६० किलोमिटरमा पनि ४० किलोमिटर पहाडको बाटोे पर्छ। नाति दिनेशले मंगलबार नै बाजेबज्यैलाई बसमा राखेर धनगढी पुर्‍याएको बताए। ‘राष्ट्रिय परिचयपत्र पेस नगरे साउनदेखि भत्ता पाइँदैन भन्यो। बाजेबज्यैको भत्ता महिनाको आठ हजार आउँछ। त्यसले घर खर्च चल्ने गर्छ। नबनाउँ भन्दा पनि भएन। त्यसैले यस्तो उमेरमा अशक्त बाजेबज्यैलाई धौधौ गरी धनगढी पुर्‍याएँ’, नाति दिनेशले भने।

कैलालीको कैलारी गाउँपालिका— ३ हसुलियाकी ८० वर्षीया सुखिया देवी चौधरीका दुवै खुट्टा चल्दैनन्। बुढेसकालमा लडेर उनका दुवै खुट्टा भाँच्चिएका रहेछन्। रातो रंगको अटो जिल्ला प्रशासन कार्यालयको परिसरमै आयो। छोरा रामजीवन चौधरीले अटोबाट आमा सुखियादेवीलाई टक्क काखमा बोके। जिल्ला प्रशासनको त्यही बरन्डा, जहाँ थेगी नसक्नु भिड थियो, त्यहाँ ल्याएर थचक्क बसाए। 

‘जीवनको उत्तरार्धमा पनि यस्ता बूढाबूढीलाई किन यस्तो दुःख दियो होला। भत्ताका लागि भर्खर योग्य भएकाहरू अथवा नयाँ बनाउनेहरूलाई त बरु यो नियम लागु गरेको भए हुने। तर यस्ता अशक्त ज्येष्ठ नागरिकलाई ४२/४३ डिग्रीको तापक्रममा यस्तो दुःख दिनु हुने थिएन’, सुखिया देवीका छोरा रामजीवनले भने, ‘आमालाई घरमै पनि शौचालय लैजान, बाहिरभित्र गर्न ह्विलचेयरमा बोक्नुपर्छ।’

सिन्धुलीको घर पनि काँ नेर थियो थाहा छैन। छोरी पनि कैलालीमै जन्माएँ। छोरीलाई झन् केही थाहा छैन। अब बसाइँसराइ कसरी ल्याउने, कसले गइदिन्छ  ? अनि कसरी थाहा हुन्छ कि अहिले त्यहाँ कुन पालिका बनेको छ ? कसले मलाई चिनेर बसाइँसराइ बनाइदिन्छ ? खैमैन्टु माया तामाङ ज्येष्ठ नागरिक

सुखिया आएकै अटोमा सुखराम चौधरी (८१ वर्ष) र फिरियादेवी चौधरी (७८ वर्ष) अर्को ज्येष्ठ नागरिक जोडी पनि जिल्ला प्रशासन कार्यालय कैलालीमा झर्‍यो। उनीहरू रामजीवनकै आफन्त पर्दा रहेछन्। आमालाई काखमा बोकेर प्रशासनको बरन्डामा राखी सकेपछि उनले सुखराम र फिरियाको पनि हात समातेर बरन्डातिर ल्याए। 

जिल्ला प्रशासन कार्यालय कैलालीमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनेहरूको प्रायः बढी भिडभाड हुने गर्छ। त्यसैमा ज्येष्ठ नागरिकको भिड उर्लिएपछि त्यहाँ मेला लागेझैं भएको छ। प्रचण्ड गर्मीको मौसम भएकाले पनि ज्येष्ठ नागरिकलाई सकस भएको छ।
गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २०८१ सालको जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णय भन्दै जेठको ३० गते नेपालका २८ जिल्ला प्रशासन कार्यालयहरूलाई सर्कुलर गरी ज्येष्ठ नागरिकहरूले असार मसान्तभित्र परिचयपत्र बनाउन समय  तोकेको छ। विभागले उक्त परिचयपत्र नबनाए सामाजिक सुरक्षा भत्ता रोकिने चेतावनी दिएको छ। 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पठाएको २८ जिल्लाहरूमध्ये सुदूरपश्चिममा कैलाली र कञ्चनपुर तराईका दुई जिल्ला परेका छन्।

कञ्चनपुरमा पनि उस्तै अवस्था

बुधबार बिहानै ६ बजे कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ७२ वर्षीय भवानीदत्त अवस्थी श्रीमती देवासँगै जिल्ला प्रशासन कार्यालय कञ्चननपुर पुगे। राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि उनको पालो आएन। 

घरबाट बिहानै ५ बजे ६१ वर्षीया श्रीमती देवासँगै राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालय हिँडेका उनी दिनभर भोकभोकै लाइनमा बस्नुपर्दा निकै थकित देखिन्थे। वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र नभई नहुने भएपछि दुवै बूढाबूढी परिचयपत्र बनाउन दोस्रो दिन प्रशासन कार्यालय पुगेको उनले सुनाए। 

बुढेसकालमा हामीलाई दुःख दिइयो। स्वर्गबास हुने बेला परिचयपत्र किन चाहियो होला ? लठुवा कामी, ज्येष्ठ नागरिक

‘परिचयपत्रका लागि निकै दुःख रहेछ, घरबाट बिहानै ५ बजे बूढाबूढी आएका हौं, अहिलेसम्म पालो आएको छैन’, निराश हुँदै उनले भने, ‘हामी बाहिर केही खाँदैनौ, भोकै दिनभर लाइनमा बस्नु परेको छ।’

ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकहरू जिल्ला प्रशासन कार्यालयको सेवाग्राही कक्ष बाहिर कोही भुइँकै सुतेका देखिन्थे भने कोही बेन्चमै निदाएका थिए। प्रचण्ड गर्मीको कुनै प्रवाह नगरी अधिकांश ज्येष्ठ नागरिक आफन्तसँगै परिचयपत्र बनाउन पालो कुरेर बसेका देखिन्थे।  

देशभरिमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा परिचयपत्र बनाउनेहरूको भिड बढेको हो।  बेदकोट नगरपालिका–७ की हिरूलीदेवी भट्टले दुई दिन पालो कुरेर पनि राष्ट्रिय परिचयपत्र बनाउन नसकेको गुनासो गरिन्। 

‘मंगलबार दिनभर लाइन बस्दा पनि हाम्रो पालो आएन। त्यस दिन रित्तोहात घर फर्कियौं’, भट्टले भनिन्, ‘बुधबार पनि ३ बजेसम्म पालो आएको छैन। फारम भित्र दिएका छौं।’ बुधबार बिहानै ६ बजेदेखि आएर गेटमा लाइन बसेको उनले बताइन्। ‘यस्तो गर्मीमा पाउनु दुःख पाइयो, हाम्रो दुःख कसले देख्छ र’, उनले भनिन्, ‘टन्टलापुर घामले टाउको दुखिसक्यो बिहानैदेखि भोकभोकै छु।’

भीमदत्त नगरपालिका–९ का कृपा धामीले दुई दिन पालो कुरेपछि फोटो खिच्न पाएको सुनाए। ‘हिजो बिहान ६ बजेदेखि लाइन बसेको थिएँ, पालो आएन’, धामीले भने, ‘आज पनि ६ बजे आएको हुँ, बल्ल ३ बजे फोटो खिच्न पाएँ। अब त केही हुन्छ कि।’ उनले राष्ट्रिय परिचयपत्र बनाउन आउँदा निकै सास्ती खेप्नु परेको बताए।

दिनभर चर्को गर्मीमा भोकभोकै बस्दा ज्येष्ठ नागरिक बिरामी पर्न थालेका छन्। शुक्लाफाँटा नगरपालिका–७ का ७३ वर्षीया भुरी भट्ट पनि नाति वीरेन्द्र भट्टका साथ बिहानै ७ बजे जिल्ला प्रशासन कार्यालय पुगिन्। दिउँसो ३ बजेसम्म पनि पालो नआएपछि उनी आज परिचयपत्र नबन्ने हो कि भन्ने चिन्तामा थिइन्। 

‘त्यत्रो टाढाबाट आएका छांै, अहिलेसम्म पालो आएको छैन फेरि भोलि आउनुपर्ने हो कि’, उनले चिन्तित हँुदै भनिन्, ‘सरकारले टाढा घर भएकाहरूलाई केही व्यवस्था गरिदिएको भए हुने।’ उनले पहिले वडा कार्यालयमा परिचयपत्र बनाउँदा थाहा नपाएको बताए। 

‘वडामा परिचयपत्र बनाउँदा सजिलो हुन्थ्यो। त्यतिबेला मलाई कसैले केही भनेनन्’, उनले गुनासो गर्दै भनिन्, ‘अहिले यो भएन भने भत्ता आउँदैन भन्छन् मैले दुःख पाउनु रैछ।’ उनले ज्येष्ठ नागरिकका लागि सरकारले वडा कार्यालयमै परिचयपत्र बनाउने व्यवस्था गर्नुपर्ने बताइन्। 

उनका सहयोगी वीरेन्द्रले समयमै सरकारले सूचना नगरिदिँदा अहिले प्रचण्ड गर्मीमा ज्येष्ठ नागरिकले दुःख पाएको बताए। ‘सुरुमै सरकारले परिचयपत्र बिना भत्ता पाउँदैनौं भनेको भए अहिले यत्रो भिड हुने थिएन’, उनले भने, ‘अहिले वृद्धवृद्धाहरूले दुःख पाउनु परेको छ।’ उनले सहज रूपमा सेवा पाउने वातावरण बनाउनुपर्ने बताए। ‘सरकारले जनतालाई कसरी हुन्छ सहज रूपमा सेवा दिनुपर्छ। यसरी दुःख दिएर भएन’, उनले भने। 

राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचो छ। परिचयपत्र बनाउन ज्येष्ठ नागरिक बिहान ६ बजेदेखि नै जिल्ला प्रशासनमा लाइन लाग्न आइपुग्ने गरेका छन्। मंगलबारदेखि प्रशासनले ७ बजेदेखि नै सेवा दिने भएपछि धेरै सेवाग्राहीहरू लाइनमा बस्न बिहान ६ बजे नै जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन्।

राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले आइतबारदेखि बिहीबारसम्म बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सेवा दिन थालेको छ। 

शुक्रबार बिहान ८ बजेदेखि ४ बजेसम्म सेवा सुचारु गरेको छ। स्थानीय तहहरूले पनि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य भएको हुँदा राष्ट्रिय परिचयपत्रको फारम भर्न अनुरोध गरेका छन्। 

सरकारले भत्ता दियो, राम्रो लागेको थियो। भत्ता पाएपछि ज्येष्ठ नागरिकले कसैसँग हात फैलाउनु परेको छैन, तर सरकारले यस्तो गर्मीमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नु भनेको बूढाबूढीलाई दुःख दिनुबाहेक केही होइन। यसलाई सच्याउनुपर्छ। शिवसिंह खाती, ज्येष्ठ नागरिक

जिल्लाका स्थानीय तहले सूचना प्रकाशित गरी आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता पाउने नयाँ लाभग्राही तथा भत्ताको नवीकरण गर्ने लाभग्राहीले राष्ट्रिय परिचयपत्र अनिवार्य भएको हुँदा राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेका लाभग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भर्न अनुरोध गरेको छ।

बसाइँसराइ नहुँदा तामाङ तनावमा

८५ वर्षकी खैमैन्टु माया तामाङ कैलालीको फूलबारीमा बस्छिन्। जनकपुर अञ्चलको सिन्धुली जिल्ला, तत्कालीन त्रिपुरेश्वर गाउँ पञ्चायतको नागरिकता भएकी उनले बिहे गरेर कैलाली झरेको ४० वर्षभन्दा बढी भयो। १९९६ साल कात्तिक १४ गते जन्मिएकी उनी बुवा आमाको एक्लो सन्तान हुन्। बुवा लोथरे तामाङको नामबाट नागरिकता पाएकी उनले पनि एउटा मात्र छोरी पाइन्। छोरी दुई वर्षकै हुँदा श्रीमान्को मृत्यु भयो। उनले अनाथ छोरी हुर्काइन्। कैलालीमै छोरीको बिहे गरिन् र उनीसँगै बसिन्। कैलालीमा बस्दै आएकी ८५ वर्ष उमेरकी खैमैन्टुमाया तामाङलाई राष्ट्रिय परिचयपत्र बनाउनका लागि सिन्धुलीको बसाइँसराइ मागिएको छ।

‘सिन्धुलीको घर पनि काँ नेर थियो थाहा छैन, छोरी पनि कैलालीमै जन्माएँ, छोरीलाई झन् केही थाहा छैन। अब बसाइँसराइ कसरी ल्याउने, कसले गइदिन्छ। अनि कसरी थाहा हुन्छ कि अहिले त्यहाँ कुन पालिका बनेको छ ? कसले मलाई चिनेर बसाइँसराइ बनाइदिन्छ ?’ तामाङले गुनासो गरिन्।

तामाङजस्तै सामाजिक सुरक्षा भत्ता पाइरहेका तर बसाइँसराइ ल्याउनुपर्ने धेरै छन्। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र भन्छन्, ‘राष्ट्रिय परिचयपत्र बनाउन चाहिने कागजपत्र त जसले पनि पुर्‍याउनै पर्छ। हामीलाई पनि ज्येष्ठ नागरिकले दुःख पाइरहेको थाहा छ। देखिरहेका पनि छौं, तर राज्यको नियम मान्नुको विकल्प छैन।’

छोटो समयमा निर्णय भएकाले समस्या

सुदूरपश्चिममा कैलाली र कञ्चनपुर दुवै तराईका जिल्ला हुन्। ‘तराईको तापक्रम ४२ डिग्री माथि छ। यस्तो गर्मीमा साउनदेखि नै परिचयपत्र चाहिने नभनेर ६/७ महिनाको समय दिएको भए सहज हुन्थ्यो, तर अचानक मन्त्रिपरिषद्को निर्णय भएर आयो। सरकारले निर्णय गरेपछि कार्यान्वयन गर्नु नै पर्छ’, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भने।

उनले अहिलेको राष्ट्रिय परिचयपत्र बनाउने भनेको दैनिक आउने सेवाग्राहीका लागि भएको तर ज्येष्ठ नागरिकको त्यसैमा थप प्रेसर आएपछि व्यवस्थापनमै समस्या देखिएको बताए। ‘ज्येष्ठ नागरिकको अवस्था हेरेर हामीले बरन्डामा तीन वटा र फारम बुझाउने झ्याल बाहिर पनि एउटा पंखा आइतबार जोडेका छौं’, प्रमुख जिल्ला अधिकारी मिश्रले भने।

बाहिर तातो हावाको लू चलिरहेका बेला बरन्डाका पंखाले पनि खासै काम गरिरहेको छैन। प्रमुख जिल्ला अधिकारी मिश्रले ज्येष्ठ नागरिकहरूको परिचयपत्र छिटो होस्, यस्तो गर्मीमा बढी कुर्नु नपरोस् भनेर नै ७ ठाउँमा विवरण संकलन केन्द्र थपेको बताए। 

‘जिल्ला प्रशासन कार्यालयभित्र दुई वटा ठाउँमा विवरण संकलन केन्द्र थियो। त्यहाँ हामीले बढाएर पाँच गरेका छौं। गोदावरी नगरपालिकामा— १ मात्रै संकलन केन्द्र थियो। त्यहाँ जनशक्ति थपेर दुई बनाएका छौं। घोडाघोडीमा पनि पहिला एकै संकलन केन्द्र थियो, अहिले दुई बनाएका छौं। टीकापुरमा दुई वटा विवरण केन्द्रहरू थप गरिएका छन्’, प्रमुख जिल्ला अधिकारी मिश्रले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.