सम्पूर्ण भूमि राष्ट्रियकरण गरौं, नत्र नेपालको विकास गर्न सकिँदैन : वामदेव गौतम
काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशको सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म नेपालको विकास हुन नसक्ने बताएका छन्। आइतबार राष्ट्रियसभामा बोल्दै गौतमले विश्वका अधिकाशं देशमा भूमि राष्ट्रियकरण गरेकै कारण विकास भएको भन्दै नेपालमा सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म विकास हुन नसक्ने बताएका हुन्।
‘जबसम्म नेपालको कृषि भूमिमात्रै होइन, सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, नेपालले विकास गर्दैन।’ गौतमले भने,‘अमेरिका लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएको छ। त्यहाँ व्यक्तिगत छैन। अमेरिकामा मात्रै होइन, सिंगो युरोपभर भूमि राष्ट्रियकरण गरिएको छ। रुसमा पनि त्यो लागू भएको छ। चीनमा १९५३ मा राष्ट्रियकरण भयो, सबै जमिन।’
वस्तु उत्पादन गर्ने आधारका रुपमा रहेका भूमिलाई टुक्रा–टुक्रा काटेर बाँडेर देश समृद्ध हुन नसक्ने उनको भनाई छ। उनले भूमिमाथि राज्यको अधिकार कायम नभइसम्म नेपालीको अवस्था माथि उठ्न नसक्ने धारणा राखे।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ पेश गरेका थिए।
प्रतिक्रिया दिनुहोस !