सिधा कुरामा प्रसारित अडियो किर्ते रहेको प्रहरीको निर्क्यौल

अध्यक्ष, सम्पादक र अडियो निर्माताविरुद्ध सरकारी वकिलद्वारा मुद्दा दायर

सिधा कुरामा प्रसारित अडियो किर्ते रहेको प्रहरीको निर्क्यौल

उक्त अडियो क्लिप २०७७ चैत  ३० गते रेकर्ड गरी त्यसको दुई दिनपछि बिर्तामोड झापास्थित मोबाइल फोन पसलमा कम्प्युटर ट्रान्सफर गरी कम्प्युटरबाट व्यक्तिगत मोबाइल फोनमा ट्रान्सफर गरेको घटना विवरण कागजमा उल्लेख गरिएको छ।

काठमाडौं : सरकारी वकिल कार्यालय काठमाडौंले सिधा कुरा डट कमका अध्यक्ष युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमिल्सनाविरुद्ध मुद्दा दायर गरेको छ। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतको  र अपमानजनक व्यवहारसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो। प्रतिवादी बनाइएका कँडेल, ढुंगाना र तिमिल्सिना फरार रहेको अभियोगपत्रमा उल्लेख छ। 

नेपाल प्रहरी प्रधान, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिधा कुरा डट कमले प्रसारित गरेको अडियो क्लिपमा राजकुमार तिमिल्सिनाले उल्लेख गरेका नामका व्यक्तिहरू अन्नपूर्ण पोस्ट्को प्रधान कार्यालयमा उपस्थित नरहेको, नदेखिएको प्रतिवेदन पेस गरेको  थियो। सिधा कुरानामक युट्युबलगायतका सामाजिक सञ्जालबाट वैशाख १४ गते र तत्पश्चात् शृंखलाबद्ध रूपमा अपलोड गरी प्रसारित चार सयभन्दा बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वाेच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अप्रेसनसमेतको शीर्ष राखी प्रसारण गरिएको थियो। 

सीआईबीको पत्र, बुझिएका व्यक्तिहरू राजकुमार तिमिल्सिना, किशोरकुमार विष्ट, कैलाशप्रसाद सिरोहिया, सञ्जयसिंह थापा, रामेश्वर थापा, सुरेन्द्र काफ्ले, हरिप्रसाद उप्रेतीले खुलाई लेखाइदिएको घटना विवरण कागजहरूसमेतको आधार प्रमाण लिइएको अभियोगमा जनाइएको छ । ‘अडियो क्लिप रेकर्ड गर्दा त्यहाँ उपस्थित भनिएका प्रमुख पात्रहरूको कुनै पनि संवाद नरहेको तथा उक्त अडियो क्लिप रेकर्डकर्ता राजकुमार तिमिल्सिनाको अडियोमा गरिएको संवादले विचाराधीन मुद्दाहरूमा के कसरी प्रभाव पार्न सक्छ भन्ने कुनै पनि वस्तुनिष्ठ आधार नदेखिएको ’ अभियोगपत्रमा उल्लेख छ। त्यस्तै किशोर विष्टको कुनै विवरण उपलब्ध गराउन नसकेको र निजको उपस्थितिको औचित्यतासमेत पुष्टि हुने आधार नदेखिएको अभियोगपत्रमा उल्लेख छ।

सिधा कुरा मिडिया नेट वर्क प्रालिबाट पेन ड्राइभमा  प्राप्त हुन आएको अडियो क्लिप के, कुन मिति र समय तथा के कुन उपकरण रेकर्ड गरिएको भन्ने सम्बन्धमा प्राविधिक परीक्षणबाट यकिनसाथ खुल्न नआएको समेत अभियोगपत्रमा जनाइएको छ। उक्त अडियो क्लिप २०७७ चैत  ३० गते रेकर्ड गरी त्यसको दुई दिनपछि बिर्तामोड झापास्थित मोबाइल फोन पसलमा कम्प्युटर ट्रान्सफर गरी कम्प्युटरबाट व्यक्तिगत मोबाइल फोनमा ट्रान्सफर गरेको घटना विवरण कागजमा उल्लेख गरिएको छ। 

अभियोगपत्रमा भनिएको छ, बिर्तामोड झापास्थित रहेका मोबाइल  फोन पसलहरूमा निजको बारेमा फोटो देखाई सो विषयमा सोधपुछ गर्दा निजलाई कोही कसैले नचिनेको कारण निजले झुट्टा व्यहोरा लेखाई दिएको देखिन्छ। ’

तिमिल्सिनाले  सर्वोच्च अदालतको गरिमामा आँच पुर्‍याई, अदालतप्रतिको आमधारणमा भ्रम उत्पन्न गराई, घृणा र द्वैष फैलाउने उद्देश्यले अप्रमाणित, असत्य, कपोलकल्पित, भ्रामक समाचारहरूको अडियो क्लिप बनाई आफ्नो इमेल ठेगानाबाट सिधा कुरा डट कमका अध्यक्ष कँडेलको इमेल ठेगानामा पठाएको अभियोगपत्रमा खुलाइएको छ। अडियोको सत्यताको कुनै जाँच नगरी/नगराई सिधा कुरानामक युट्युब च्यानलबाट प्रसारण गरी/गराई विद्युतीय कारोबार ऐनअन्तर्गतको र अपमानजनक कसुरजन्य कार्य गरेको झनै प्रस्ट हुन आउने दाबी अभियोगपत्रमा गरिएको छ। 

तीनैजना प्रतिवादीले विद्युतीय कारोबार ऐन (२०६३) को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर र मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ (१) विपरीतको कसुर गरेको सप्रमाण पुष्टि भएको अभियोगपत्रमा जनाइएको छ। mसर्वोच्च अदालतका न्यायाधीश तथा अन्य निकाय तथा व्यक्तिलाई प्रतिवादीहरूको कसुरबाट पर्न गएको अपमानजनक पीडासमेतको विचार गरी पीडित व्यक्तिलाई मनासिव क्षतिपूर्ति भराई पाउनसमेत मागदाबी लिइएको छ। साथै, अपराध पीडित संरक्षण ऐन २०७४ को दफा ४१ बमोजिम कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराई पाउन पनि अनुरोध गरिएको छ।

अभियोग दाबीमा के छ ?
अभियोग दाबीसँग सम्बन्धित कानुनी व्यवस्था उल्लेख गर्दै अभियोगपत्रमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७लाई उद्धृत गरिएको छ।

दफा ४७ मा कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वैष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

सोही ऐनको दफा ५८ क.मा क्षतिपूर्ति भराई दिने व्यवस्था रहेको छ। पीडित व्यक्तिलाई हुन गएको हानिनोक्सानी विचार गरी न्यायाधिकरणले कसुरदारबाट मनासिव क्षतिपूर्ति भराई दिन सक्ने व्यवस्था रहेको छ। मुलुकी अपराध संहिता २०७४ को दफा १६८ मा कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउन नहुने उल्लेख छ। अपमानजक वा अमानवीय व्यवहारको कसुर गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था रहेको छ। 

पेस गरिएका सबुत प्रमाण 

सबुद प्रमाणका रूपमा कसुरसँग सम्बन्धित चिजवस्तु र दसी प्रमाण पेस गरिएको छ। मिसिलसहित एक मोबाइल सेट, डीभीडी थान, पेन ड्राइभका साथै प्रारम्भिक अनुसन्धान प्रतिवेदन, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को छानबिन प्रतिवेदन, देख्ने/सुन्ने र बुझिएका ६ जना व्यक्तिको बयान कागजलाई पेस गरिएको छ। प्रतिवादीको अपराध अभिलेख प्रतिवेदनलाई पनि कागजपत्रका रूपमा संलग्न 
गरिएको छ। 

मानिस फेला नपरेको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंले लेखेको पत्र, जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला प्रहरी कार्यालय बागलुङले लेखेको पत्र पनि संलग्न गरिएको छ। सिधा कुरा डट कमका अध्यक्ष कँडेल बागलुङ, काठेखोला—६ का स्थायी बासिन्दा हुन्। त्यस्तै सिधा कुरा डट कमका कार्यकारी सम्पादक ढुंगाना धादिङ, नीलकण्ठ—५ का स्थायी बासिन्दा हुन्। अडियो क्लिप बनाएका तिमल्सिना ललितपुर, गोदावरी—७ देवीचौरका स्थायी बासिन्दा हुन्। तीनै जना फरार रहेको अभियोगपत्रमा जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.