स्वास्थ्यका लागि आँप

मधेसमा आँपको बलियो अर्थतन्त्र

मधेसमा आँपको बलियो अर्थतन्त्र

जनकपुरधाम : माल्दह, बमोई, केरबा, लालमोहन, अमरपाली, लरुबा, दसहरी, किसुनभोग, मिसरिया, डोलमा, गुलाबखास, बिज्जु, लटकामपुर, सकेरा, नकुअवा, जर्दा, सिपिया, कोदइया, बरमासिया, सेनुरिया। यी सबै नाम फलहरूको राजा आँपको हो। थरीथरीका प्रजातिमध्ये, अरू थुप्रै नाम मधेसका किसानहरूलाई मात्रै थाहा होला। 

मधेस अहिले आँपमय बनेको छ। घर, बारी, फूलबारी, बगैंचा चारैतिर लटरम्म फलेका आँपका रूखहरूले एकातर्फ प्रकृतिको सुन्दरतालाई अझ बढाएको छ भने अर्कोतर्फ रूखमै पाक्न थालेका आँपहरूको सुगन्धले जो कोहीलाई आकर्षित र खानका लागि ललायित गरेको छ।  

अहिले मधेसको बजार होस् वा सर्वसाधारणको घर सबै ठाउँमा आँप भरिभराउ देख्न सकिन्छ। घरमा कोही पाहुना आउँदा आँपले नै स्वागत गरिन्छ। बिहान बेलुकाको खाजामा पनि आँपनै खाने चलन छ। विशेष गरी ग्रामीण भेगमा त आँपको बगैंचामै ‘मचान’ (काँठको बस्ने मेच) राखेर आँप रखवाली गर्नेसँगै रूखबाटै टिपेर आँप खाने गरिन्छ। अहिले आँपका बगैंचाहरू मेलमिलापको थलो पनि बनेका छन्। 

मधेसको आँप देशभरिनै बिक्री वितरण भइरहेको छ। आँपको माग अत्यधिक भए पनि यसको बजारीकरण हुन नसक्दा किसानहरूले चाहे जतिको आम्दानी गर्न सकेका छैनन्।

जेठदेखि भदौ महिनासम्म मधेसको रूखमै पाइने आँप एकातर्फ व्यापारको ठूलो आधार बनेको छ भने अर्कोतर्फ आँपको उत्पादनलाई प्रबद्र्धन र प्रचारप्रसार गर्न सकियो भने यसले पर्यटनको सम्भावनालाई पनि निकै बढाउन सक्ने कृषकहरूको ठम्याइँ छ। 

आँपले चलाएको घरबार
मधेसका मुख्य कृषि उत्पादनहरूमा वर्षेबाली धान, गहुँ, मकैं, ऊखु छन्। अर्को प्रमुख नगदेबाली आँप हो। जसले किसानलाई मनग्य आम्दानी दिएको छ। धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरका रामउद्गार महतोको दुई बिघामा आँप बगैंचा छ। उनको आँप बोटमा चिचिला लागेकै बेला व्यापारीले बोटै किनेका थिए। अन्य बोटमा आँप फलेपछि बिक्री भयो। हालसम्म उनले आँप बेचेर ४ लाख ५० हजार जति आम्दानी गरिसकेका छन् भने आँप बिक्रीको क्रम अझै जारी रहेको उनी बताउँछन्। 

null

रामउद्गारले काँचो आँपबाट ११ प्रकारभन्दा बढीको अचार बनाएर पनि बिक्री गर्छन् भने पाकेको आँपलाई ‘अमोट’ (आँपको पापड) को रूपमा पनि बेचेर आम्दानी गर्छन्। ‘मेरो पाँच जनाको परिवार छ। हाम्रो परिवार नै आँपको आम्दानीले चलेको छ। बालबच्चाको पढाइ, लेखाइ, घर व्यवहार र अन्य सबै गर्जो टार्न आँपको आम्दानीले नै सघाउँछ। अन्य बालीहरू जस्तै धान लगायो भने मुस्किलले वर्षमा एकदेखि डेढलाखसम्म आम्दानी हुन्छ। तर, आँप यदि राम्ररी फल्यो भने यसले निकै धेरै आम्दानी दिन्छ’, उनले भने। 

सोही गाउँका राजकुमार महतोको ५ बिघामा आँपको बगैंचा छ। जहाँ विभिन्न प्रजातिका आँप लटरम्म फलेका छन्। उनले पाँच वर्षका लागि ३० लाख रुपैयाँमा आँपको बोट व्यापारीलाई बेचिसकेका छन्। 

चित्रपुर गाउँ धनुषामा आँप उत्पादनका लागि पकेट क्षेत्र नै मानिन्छ। यहाँ करिब ५ सय बिघा जग्गामा आँपको बगैंचा लगाइएको छ। यहाँका किसानहरूको मुख्य आम्दानीको स्रोतनै आँप खेती हो। अधिकांश किसानहरूले आँपको बगैंचा नै व्यापारीलाई बेचिसकेका छन्। यस वर्षमात्रै यस गाउँबाट ५ करोडभन्दा बढीको आँप बिक्री भइसकेको स्थानीय कृषकहरू बताउँछन्। 

सरकारले चित्रपुरलाई आँपको पकेट क्षेत्र पनि घोषणा गरिसकेको छ तर, यहाँको आँपलाई ब्रान्डिङ गर्न र आँप भण्डारणको व्यवस्था गर्न प्रदेश वा स्थानीय तहको सरकारले कुनै योजना नल्याएको दुखेसो वडाअध्यक्ष अशोककुमार महतो पोख्छन्।

‘आँपको उत्पादनलाई जुन प्रकारले प्रयोग गर्न सकिन्थ्यो त्यो हुन सकेको छैन। कृषकहरूको मेहनत र लगानी अनुसारको प्रतिफल पाउन गाह्रो छ। यहाँ आँप भण्डारण गर्न एउटा कोल्डस्टोरसमेत छैन। यस्तोमा बिक्री हुन नसकेका आँपहरू रूखमै कुहिएर जाने, उत्पादन भएका आँपका अन्य परिकारहरू बिक्री नहुने जस्ता समस्याहरू छन्’, महतोले भने।

मुखै रसाउने आँपका परिकारहरू 

आँप फलका रूपमा मात्रै खाइँदैन। यसका थरीथरीका परिकारहरू बनाएर मधेसमा वर्षैभरि प्रयोगमा ल्याउने गरिन्छ। आँपको टिकोला (चिचिला) देखि लिएर पाकेको फलसम्मलाई परिकार बनाउने गरिन्छ। ‘आँप त सदाबहार फल हो। यसको टिकोलाको चटनी, खट्टिमिठी बनाइन्छ। अलि फल ठूलो भएपछि काँचो आँपलाई तरकारी बनाएर पनि खाइन्छ। 

त्यसैगरी आँपको अचारहरू थरीथरीका हुन्छन्, विशेष गरी मधेसमा फारा, कुच्चा, भरुवा, बरोबरा, सुखुवा जस्ता थुप्रै थरीका अचार बनाइन्छ। काँचो आँपको अमिलो आमपाना पनि गर्मीमा राहत दिने पेय पदार्थको रूपमा व्यापक प्रयोग गरिन्छ’, आँप उत्पादक मन्जु महतो बताउँछिन्, ‘पाकेको आँप खेर नजाओस् भनेर अमोट, आँपको पापड, आँपको सुखरी, क्यान्डी र जुस बनाएर प्रयोग गर्ने गरिन्छ।’ 

आँपको अर्थतन्त्र 

बेमौसमी फलफूलको उत्पादनसँगै सिजन अगावै वा सिजनपछि पनि बजारमा आँप भेटाउन सकिन्छ। तर, नेपालको आँप उत्पादनको मूल थलो तराई–मधेसमा भने वैशाख अगाडि आँप खाइँदैन। वैशाख १ गतेपछि काँचो आँप र त्यसको चटनी, अँचार, खट्टिमिठी लगायतका परिकारहरू खान सुरु हुन्छ। जेठदेखि गृष्म ऋतु सुरु हुन्छ, यता आँप पनि छिपिइसकेको हुन्छ। 

आँप टिपेर सामान्य वातावरणको भन्दा केही बढी तापक्रममा दुई चार दिन राखेपछि पाक्न थाल्छ। जेठदेखि भदौसम्म रूखमै आँप पाइन्छ। ‘तराई मधेसमा अर्थतन्त्रको एउटा आधारको साथै सामाजिक सांस्कृतिक प्रतीक पनि हो आँप’, डा. वीरबहादुर महतो भन्छन्, ‘मधेसका गाउँघरमा त पहिला आँपको महिनामा भात खान पनि बिर्सिन्थ्यौं तर, अहिले आँपको स्वाद डिब्बामा बन्द भएको छ त्यो पनि शुद्ध हुँदैन। विभिन्न जुसको नाममा केमिकल हालेर हानिकारक पेय पदार्थहरू बिक्री गरिन्छ। यदि मधेसको आँपको जुसलाई मात्रै प्रबद्र्धन गरेर यसको प्याकेजिङ गर्ने व्यवस्था गर्‍यो भने यो ठूलो व्यापारका रूपमा स्थापित हुन सक्छ।’

आँपको उत्पादन अत्याधिक हुने क्षेत्रहरूमा यदि बजारीकरणलाई व्यवस्थित गरियो भने त्यसले आर्थिक सबलता ल्याउने नेता देवकुमार महतो बताउँछन्। ‘प्रदेश सरकारले आफ्नो समृद्धिको आधार कृषिलाई भने पनि कृषि उपजलाई कसरी व्यवस्थापन गर्ने त्यसतर्फ कुनै ध्यान दिएको छैन’, महतो भन्छन्, ‘अनावश्यक क्षेत्रमा करोडौं करोड बजेट विनियोजन गरिन्छ तर, आँप किसानका लागि शीतभण्डारणको व्यवस्थापन, मलखाद्यको व्यवस्थापन र सिँचाइका लागि कुनै योजना ल्याइँदैन। यो दुर्भाग्य हो।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको, नेपाली कृषि सांख्यिकीय जानकारी २०७८÷७९ को तथ्यांकअनुसार मधेस प्रदेशमा सबैभन्दा बढी सप्तरी र सिरहामा आँप उत्पादन हुने गरेको छ। प्रदेशभरिका जम्मा ३५ हजार ५५२ हेक्टर जग्गा आँप खेतीयोग्य रहेको छ। जसमध्ये २७ हजार ६५३ हेक्टरमा आँप उत्पादन हुने गरेको छ। गत वर्ष मधेस प्रदेशमा जम्मा ३ लाख ८७ हजार ६५९ मेट्रिक टन आँप उत्पादन भएको थियो। त्यसैगरी आँपको उपज १३.९८ प्रतिशत रहेको थियो।

 null

मधेस प्रदेशमा सबैभन्दा बढी आँप उत्पादन सिरहा जिल्लामा हुने गरेको छ। सिरहामा ८ हजार २५ हेक्टर क्षेत्रफल आँप उत्पादनका लागि उपयुक्त रहेको छ। जसमध्ये ७ हजार १५४ हेक्टरमा आँप खेती हुने गरेको छ। गत वर्ष सिरहामा मात्रै १०९१७२ मेट्रिक टन आँप उत्पादन भएको थियो। त्यसैगरी अर्को सबैभन्दा बढी आँप उत्पादन हुने जिल्ला सप्तरीमा ७ हजार २६५ हेक्टर क्षेत्रफलमा आँपको खेती गरिन्छ। गत वर्ष यस जिल्लामा ९७७१६ मेट्रिक टन आँप उत्पादन भएको थियो।  आँपको उत्पादन मधेसमा पर्याप्त मात्रामा हुने गरे पनि बजारीकरण हुन नसक्दा किसानहरूले सक्दो प्रतिफल पाउन सकेका छैनन्। 

अहिले आँपको प्रबद्र्धन र यसको प्रचार–प्रसारका लागि आँप पकेट क्षेत्रहरूमा कृषकहरूले आँप मेला र आँप बजारको आयोजनाहरू गर्न थालेका छन्। बगैंचामै गएर आँप रूखबाटै टिपेर खाने, आँप टिप्ने प्रतिस्पर्धा गराउने जस्ता कार्यक्रमहरू आयोजना गरेर पर्यटकहरूलाई मधेसको आँप बगैंचासम्म तान्न सकिने आँपको ब्रान्डिङको अभियानमा लागेका युवा अभियन्ता फुलगेन महतो बताउँछन्। 

स्वास्थ्यका लागि आँप 
आँप स्वास्थ्यबर्धक हुन्छ। यसमा लौह तत्व र विभिन्न भिटामिन सहज र सरल ढंगमा उपलब्ध छ। रक्तहिनताको स्थितिमा रक्तपूर्तिका लागि यसको प्रयोग गरिन्छ। उष्ण प्रदेशीय फलफूलहरूमध्ये आँपलाई प्रमुख फलका रूपमा मानिन्छ। पाकेको आँपमा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ। पाकेको फलमा अम्ल र प्रोटिनको मात्रा थोरै भए तापनि चिनीको मात्रा धेरै हुन्छ।

गर्भवती महिलाका लागि रक्तपूर्तिको सर्वोत्तम साधन आँपलाई मानिन्छ। यसले कतिपय रोगसित लड्ने क्षमता प्रदान गर्छ भने यसले भोक पनि बढाउँछ। आँपको फाइबरका साथै भिटामिन सिले शरीरमा कोलस्ट्रोलको लेबल कम गर्न मद्दत गर्छ। आँपमा उपलब्ध सेलेनियमले हृदयरोगमा फाइदा गर्छ। त्यसैगरी आँप खानाले आँखाको रोशनी पनि बढ्ने गरेको चिकित्सहरू बताउँछन्। 

‘संसारभरि आँप नै यस्तो रसदार फल हो 
जुन, गर्मी हुने देशहरूमा सबैभन्दा लोकप्रिय मानिन्छ,’ साहित्यकार रामदयाल राकेश भन्छन्, ‘मिथिलाञ्चलमा त आँपको कोसेली कसिलो सम्बन्धको प्रतीक नै मानिन्छ। विवाह, व्रतबन्ध तथा अन्य लोकपर्वको अवसरमा यसको आदानप्रदान आल्हादकारी मानिन्छ।

मिथिलाञ्चलका गाउँ गाउँमा आँपका बगैंचा छन्। प्राचीनकालमा त मानिस धर्म कमाउनका लागि पनि आँपको बगैंचा लगाउँथे। भनिन्थ्यो आँपको बगैंचामा गएर मनभरी र पेटभरि आँप पनि खान पाइन्थ्यो र यसको शीतल छहारीमा विश्राम पनि गर्न पाइन्थ्यो। तर, अहिले यो प्रशंसनीय परम्परा लुप्त हुँदै गएको छ।’
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.