अण्डाशयमा सिस्ट !

अण्डाशयमा सिस्ट !
सांकेतिक तस्बिर

विमला पाण्डे १९ वर्षकी भइन्। उनलाई महिनावारी नियमित नहुने र कहिलेकाहीँ असाध्यै पेट दुख्ने भएकाले अस्पताल आइन्। उनको पेटको अल्ट्रासाउन्ड गर्दा अण्डाशयमा सिस्ट देखियो। यस्तै, रामवती ३५ पुगेर ३६ मा टेकिन्। उनको महिनावारीमा कुनै समस्या छैन। तर उनलाई पनि कहिलेकाहीँ अत्यधिक तल्लो पेट दुख्ने भएर अस्पताल आएकी हुन्। उनको पनि पेटको अल्ट्रासाउन्ड गर्दा अण्डाशयमा सिस्ट देखियो।

हिजोआज अधिकांश यस्ता समस्या पेटको समस्या लिएर आउनेहरूमा अण्डाशयमा सिस्ट देखिने गरेका छन्। सबैलाई समस्या गरेको हुन्छ भन्ने पनि छैन, कुनै अन्य कारणले अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गर्दा अण्डाशयमा सिस्ट देखाएको भन्ने धेरै हुने गरेको पाईन्छ। हरेक महिलामा दुईवटा अण्डाशय हुन्छन्। एउटा उमेर पुगेपछि अण्डाशयले अण्डा उत्पादन गर्ने र सोही अण्डा शुक्रकिटसँग निषेचन (फर्टिलाइज) भएपछि भ्रूण बन्ने हुन्छ। हरेक अण्डाशयले पालैपालो एक महिनाको अन्तरमा अण्डा निष्कासन गर्ने हुन्छ। यो अण्डा निष्कासन हुनु भनेको अण्डाशयमा रहेको स–साना थैली जस्तो ग्राफियन फोलिकल्समध्ये एकको विकास र वृद्धि भएर फुट्नु हो। तर कुनै कारणले त्यो वृद्धि अर्थात् ठूलो भइसकेको थैली फुट्न सकेन भने त्यसैलाई ‘सिस्ट’ भनिन्छ। सिस्टको आकार र प्रकार सबै अवस्थामा एउटै हुँदैन।

धेरैजसो अण्डाशयका साधारण र साना सिस्टका कुनै लक्षणहरू हुुँदैनन् र यस्ता समान्य सिस्टहरू आफैं हराएर जान्छन्। केही अण्डाशयका सिस्टहरूले कसैकसैलाई कहिलेकाहीँ तल्लो पेट (पल्भिक) दुखाउन सक्छ। एक्कासि दुख्ने र दुखाइ विस्तारै कम हुँदै जाने हुन्छ। पटक–पटक यस्ता दुखाइ हुनु, महिनावारीमा अनियमितता आउनु, पेटमा केही भए जस्तो असजिलो महसुस हुनु, भारी हुँदै जानु तथा पेट ठूलो हुनु अण्डाशयका सिस्टका 

लक्षण हुन सक्छन्। 

यसका कारणले पनि कसैकसैलाई बाँझोपनको समस्या थपिन सक्छ। यस्ता लक्षणहरू सिस्टमा मात्र नभएर धेरैवटा अवस्थामा हुने भएकाले यी लक्षणहरूकै आधारमा अण्डाशयमा सिस्ट हो भन्न सकिँदैन। अण्डाशयको सिस्ट पत्ता लगाउन अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) वा अन्य इमाजिङ (सिटी स्क्यान, एमआरआई) गर्नुपर्छ। यसबाहेक सिस्टको आकार÷प्रकार, उमेर, लक्षणहरूका आधारमा ‘ट्युमर मार्कर’ गर्नुपर्ने हुन सक्छ।

अण्डाशयका सिस्टहरू सामान्यतः फोलिकुलर, कर्पस ल्युटियम वा अन्य ‘विनाइन’ हुन्छन् अर्थात् क्यान्सर हुँदैनन्। यी सिस्टहरू हराएर जाने वा बढेर ठूलो हुँदै जाने हुन्छ। विस्तारै ठूलो हुँदै गए खासै आत्तिनु नपरे पनि छोटो समयमा ठूलो भएमा डराउनु पर्ने हुन्छ। यसरी ठूलो हुने किसिमका सिस्ट क्यान्सरमा परिवर्तन हुन सक्ने हुन्छन्। त्यसैले शंकास्पद अवस्थाहरूमा ट्युमर मार्कर परीक्षण गर्नुका साथै चाँडै उपचार पनि गर्नुपर्ने हुन्छ।  अण्डाशयको सिस्ट हुनेबित्तिकै आत्तिनुपर्ने वा तुरुन्त शल्यक्रिया गरिहाल्नुपर्ने हुँदैन। सिस्टहरू कतिवटा छन्, कति ठूलो छ र त्यसले कति समस्या दिएको छ ? यी कुरामा यसको उपचार निर्भर गर्छ। सिस्टहरू साना छन् भने कहिलेकाहीँ आफैं हराएर जान्छन्। कुनै उपचार आवश्यक नपर्न सक्छ।

अण्डाशयमा यस्ता सिस्टहरू हुने भएकाले अण्डाशयको काम सहज भए सिस्टहरू हराउने सम्भावना बढी हुन्छ। त्यसैले अण्डाशयका भिटामिनहरू, हर्मोनल चक्कीहरू पनि प्रयोग गर्ने गरिन्छ। तर सिस्टहरू ठूला छन्, बढ्दै गएका छन्, ट्युमर मार्कर बढेका छन् वा अन्य केही शंकास्पद अवस्था देखिए भने शल्यक्रिया गरेर सिस्ट हटाउन सकिन्छ। शल्यक्रिया ल्याप्रोस्कोपिक (प्वाल पारेर) वा ल्याप्रेटोमी (चिरेर) गर्न सकिन्छ। कम उमेरका महिलाहरूको भविष्यमा सन्तानका लागि अण्डा उत्पादन गर्नुपर्ने तथा अण्डाशयले उत्पादन गर्ने हर्मोन इस्ट्रोजेनको कमी हुन नदिन अण्डाशय बचाउनुपर्ने हुन्छ। यस्तो अवस्थामा अण्डाशयको सिस्टलाई मात्रै निकाल्ने र अन्य अवस्थामा पूरै अण्डाशय, दुवै अण्डाशय तथा पाठेघरसमेत पनि हटाउन सकिन्छ। अर्थात् अण्डाशयका सिस्ट भएमा सबैलाई शल्यक्रिया आवश्यक नहुन सक्छ। शल्यक्रिया चाहिए पनि सबैलाई एकै किसिमको शल्यक्रिया उपयुक्त नहुन सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.