रवि लामिछानेलाई लक्षित गर्दै मुकुलले भने - प्रचण्ड,ओली र देउवाको शैली मन पर्नेलाई मेरो शैली बालापन लाग्न सक्छ

रवि लामिछानेलाई लक्षित गर्दै मुकुलले भने - प्रचण्ड,ओली र देउवाको शैली मन पर्नेलाई मेरो शैली बालापन लाग्न सक्छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. मुकुल ढकालले बाढी-पहिरोबाट पीडित जनताका लागि गृहमन्त्रालयबाट जुन रफ्तारमा काम हुनुपर्ने हो त्यसो हुन नसकेको बताएका छन्। पार्टीले महामन्त्रीबाट बर्खास्त गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै नेता ढकाल जनताले अनुभूत हुनेगरी काम गर्न नसकेको भन्दै आफ्नै पार्टीबाट सरकारमा सहभागी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि  खनिए। उनले जनतालाई महशुस हुनेगरी काम गर्न गृहमन्त्री लामिछानेलाई सुझाव समेत दिए।

नेता ढकालले जनता बाढी र पहिरोमा फसिरहँदा सभापति लामिछाने पार्टीको बैठक राखेर आफूलाई कारवाही गर्ने कि नगर्ने भनेर दौडधूपमा लागेको आरोप लगाए।

ढकालले लामिछानेलाई हिजोआज प्रचण्ड, देउवा र ओलीको शैली मनपर्न थालेको भन्दै टिप्पणी गरे। उनले लामिछानेलाई लक्षित गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको शैली मनपर्नेलाई आफ्नो शैली बालापन लाग्न सक्ने भन्दै यसमा कुनै आपत्ती नभएको बताए।

उनले देउवा नेतृत्वमा सरकार बन्छ कि भनेर लामिछाने सरकारमा बसिरहेको जिकिर गरे।

'आजको रवि लामिछानेलाई प्रचण्डको शैली मन पर्छ। आजको रवि लामिछानेलाई कता/ कता ओलीको शैली मनपर्छ। देउवाको नेतृत्वमा सरकार बन्लाकी, ७६ (३) अनुसार सरकार बन्लाकि भनेर कतै टुसुक्क सरकारमा जान पाइलाकी भनेर अझैसम्म उहाँ सरकारमा बसिरहनु भएको छ,'उनले भने,'प्रचण्ड, ओली र देउवाको शैली मनपर्ने लामिछानेलाई मुकुल ढकालको शैली बालपना लाग्न सक्छ। लागोस् मलाई मतलब छैन।'

नेता ढकालले राजीनामा बुझाउन गएका रास्वपाका मन्त्रीहरू प्रधानमन्त्री प्रचण्डको कुरा सुनेर फर्किनुलाई बालापन भन्ने कि नभन्ने भन्दै प्रश्न गरे। उनले भने,'राजीनामा दिन भनेर बालुवाटार हिँडेका रवि लामिछानेहरू प्रचण्डको कुरा सुनेर यतिकै फर्किनुलाई बच्चापन भन्ने कि नभन्ने। अनि म बच्चापन भएँ कि रवि लामिछानेहरू बच्चापन भयो?'

पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो प्रतिवेदनमाथि छलफल हुनुअघि आफूसँग छलफल नगरिएको गुनासो पोखे। बैठकअघि आफूले सार्वजनिक गरेको प्रतिवेदनको सारांश पनि सभापति लामिछानेको सल्लाहमै सार्वजनिक गरिएको उनले दावी गरे।

ढकालले आफूलाई पार्टीले गरेको कारवाहीको विधि र प्रक्रिया नमिलेको भन्दै आफू अझै पनि महामन्त्री रहेको जिकिर गरे। आफूलाई कारवाही गरेर रवि लामिछानेको एलिट क्लबले पार्टी कार्यालय कब्जा गरेकाले मिडियामा आउन बाध्य भएको उनको भनाइ छ।

उनले अब आफूले के बोल्ने वा नबोल्ने भन्ने सुझाव लिनका लागि आगामी महिना देशभर प्रस्ताव यात्रा सुरु गर्ने र जनताको घर जाने जानकारी दिए।

पार्टीको अनुशासनविपरीत 'अभद्र' र 'अमर्यादित' काम गरेको भन्दै रास्वपाले मंगलबार ढकाललाई साधारण सदस्य मात्रै रहनेगरी महामन्त्री,केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.