सिन्धुलीमा माइक्रो दुर्घटना हुँदा ११ जना घाइते
![सिन्धुलीमा माइक्रो दुर्घटना हुँदा ११ जना घाइते](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_1q8fPJlME7_RueHzJMMZg.jpg)
सिन्धुली : विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सिन्धुलीको सुनकोसी गाउँपालिका-७ खुर्कोट नजिकै कानढुङ्ग्रीमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। सर्लाहीबाट काठमाडौं तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१३२ नम्बरको माइक्रोबास शुक्रबार दिउँसो अनियन्त्रित भएर दुर्घटना भएको हो।
माइक्रोबस दुर्घटना हुँदा घाइते हुनेहरूमा माइक्रोबसका चालक बागमती नगरपालिका २ सर्लाहीका वर्ष ३८ का रुपराज राउत, सोही ठाउँका वर्ष ३८ को महेश कुमार थापा, कृष्णकुमार केसी, लालबन्दी नगरपालिका २ सर्लाही बस्ने वर्ष १८ की खेसाङ लामा रहेका छन्।
यस्तै कमलामाई नगरपालिका-९ का वर्ष ४९ का काउले माझी, तिनपाटन गाउँपालिका-७ का वर्ष ४१ की जमुना काफ्ले सोही ठाउँका रामजी काफ्ले, लालबन्दी ९ सर्लाही बस्तिपुरका अनोज मगर, उनकी दिदी वर्ष २४ की अस्मिता खपाङ्गी, अनोजकी छोरी वर्ष ५ की श्रीया योन्जन र लालबन्दी ७ सर्लाहीका ३१ वर्षका दशरथ यादव रहेका छन्।
घाइतेमध्ये गाडी चालक राउतको थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको छ। घाइतेहरूको सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर खुर्कोट स्थित शुभजीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको छ। माइक्रो बस सडकबाट करिब ३० मिटर तल खसेको छ। अन्य १० जना घाइतेको शुभजीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको बताइएको छ।
यसैबीच शुक्रबार नै सिन्धुलीका दुधौली नगरपालिका ४ लक्ष्मीपुरमा टाटा सफारी र अटो एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन्। मदन भण्डारी लोकमार्ग अन्तर्गत दुधौली नगरपालिका-४ लक्ष्मीपुरमा सिन्धुलीको भिमानबाट दुधौली तर्फ जाँदै गरेको बा १७ च ३६०२ नम्बरको टाटा सफारी र विपरित दिशाबाट आइरहेको को २ ह २९३६ नम्बरको अटो एक आपसमा ठक्कर खाएका थिए। दुर्घटनामा अटो चालक कटारी नगरपालिका ४ बस्ने वर्ष ४५ का वकिल बहादुर आले र सोही ठाउँकी वर्ष ५० की नरिमाया आलेमगर घाइते भएका छन्। उक्त दुर्घटनाका घाइतेको थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)