गर्दुवा–कात्तिके –खलङ्गा सडकमा पक्की ढलान
![गर्दुवा–कात्तिके –खलङ्गा सडकमा पक्की ढलान](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_Snyf5HnsaD_Mr5uVKv45l.jpg)
सिन्धुली : सिन्धुलीको मरिण हुँदै काभ्रेको महाभारत गाउँपालिकासम्म जोडिने गर्दुवा–कात्तिके –खलङ्गा सडकमा पक्की ढलान तथा स्तरोन्नति गरिएको छ। मरिण गाउँपालिका १ को वडा कार्यालय जोड्दै काभ्रेको अति दुर्गम मानिने महाभारत गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नति गर्दै पक्की ढलान गरिएको हो।
मरिण गाउँपालिका-२ स्थित मदन भण्डारी राजमार्गबाट वडा नम्बर १ हुँदै काभ्रेको महाभारत गाउँपालिकासम्म पुग्ने सडकको पक्की ढलान, सडकको स्तरोन्नति, नाला र रिटेनिङ वाल निर्माण लगायतको काम गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले जानकारी दिए।
बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको साझेदारीमा कुल १ करोड ५ लाख ३४ हजार ५ सय ३५ रुपैयाँ लागतमा ८ सय ४५ मिटर पक्की सडक निर्माण गरिएको हो। ‘ठुलो गर्दुवाबाट कात्तिके हुँदै वडा नम्बर १ को खलङ्गासम्म पुग्ने ग्रामीण सडकको ८ सय ४५ मिटर पक्की ढलान, सडकको स्तरोन्नति, नाला र रिटेनिङ वाल निर्माण लगायतको काम गरिएको छ,’ अध्यक्ष मोक्तानले भने।
यो सडक हेटौंडा सिन्धुली चतरास्थित मदन भण्डारी राजमार्गसँग जोडिएको सडक हो। सडकको चौडा ६ मिटर कायम गरिएको छ। वर्षातको समयमा एम्बुलेन्स समेत सञ्चालन हुन नसक्ने उक्त सडक पक्की निर्माण गरिएपछि अब १२ महिना नै यातायात सञ्चालन हुने अपेक्षा राखिएको छ।
यो सडक मरिण गाउँपालिकाको वडा नम्बर १ र दुईको विभिन्न बस्तीहरू राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक हो। यसको स्तरोन्नति तथा विस्तार गर्दै खलङ्गा–कात्तिके हुँदै काभ्रेपलान्चोक जिल्लाको महाभारत गाउँपालिका सम्म जोड्ने लक्ष्य रहेको अध्यक्ष मोक्तानले बताए। यस सडकको निर्माण कार्य सिन्धुलीको कमलामाई नगरपालिका ५ को निर्माण व्यवसायी श्री लक्की वान विल्डर्स एण्ड सप्लायर्सले लिएको थियो। उक्त सडकको सम्झौता अनुसार निर्माण कम्पनीले दुई महिनाअघि नै निर्माण कार्य सम्पन्न गरेको मरिण गाउँपालिकाका इन्जिनियर विनित ओझाले बताए।
उक्त सडक खण्ड अन्तर्गत गत आर्थिक वर्षमा गरिएको २ सय ५५ मिटर ढलान सहित यस बर्षको ८ सय ४५ मिटर गरी कुल एक दशमलव एक किलो मिटर सडक पक्की ढलान सम्पन्न भएको हो। ‘यस सडकलाई आगामी वर्षमा समेत प्राथमिकता राखेर सम्पन्न गर्ने योजना बनाएको छु,’ अध्यक्ष मोक्तानले भने।
गाउँपालिका र मदन भण्डारीबाट वडा कार्यालयसम्म आउने मुख्य सडक नै पक्की नहुँदा बर्सेनि समस्या हुने गरेकोमा यस वर्षबाट भने स्थानीय नागरिकले समस्या भोग्न नपर्ने गरी पक्की सडक निर्माण कार्य भएको वडा नम्बर १ का अध्यक्ष हिरा बहादुर गुर्मछानको भनाइ छ।
मरिण गाउँपालिका-१ स्थित कात्तिके तथा खलङ्गा क्षेत्र पालिकाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र हो। सडक निर्माणले उक्त ऐतिहासिक क्षेत्रमा आवतजावत गर्न तथा स्थानीय कृषि उत्पादनलाई राजमार्ग हुँदै बजारसम्म ढुवानी गर्न समेत सहज भएको किसानहरूको भनाई छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)