कोसी प्रदेशलाई ३ वर्षभित्रमा खेलकुदको गन्तव्य बनाउँछौं : मुख्यमन्त्री कार्की
![कोसी प्रदेशलाई ३ वर्षभित्रमा खेलकुदको गन्तव्य बनाउँछौं : मुख्यमन्त्री कार्की](https://annapurnapost.prixacdn.net/media/albums/hikmat-karki_dwhyiyN923_zWnAC83oOY.jpg)
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई अबको ३ वर्षभित्रमा खेलकुदको महत्वपूर्ण गन्तव्य बनाउने उद्घोष गरेका छन्। विराटनगरमा आइतबार आयोजित खेलाडी तथा खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरताका कारण खेल क्षेत्रको विकास सोचेजस्तो नभइरहेको बताएका हुन्।
चाँडै राजनीतिक अस्थिरताको अन्त्य गर्दै ३ वर्षभित्रमा प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रुपमा स्थापित गरिने कार्कीले बताए। क्रिकेटको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउन नेपाल सफल भएपनि राज्यको लगानी र ध्यान नपुग्दा फुटबल, भलिबललगायतका अन्य खेलकुदका विधाहरुमा सफलता मिल्न नसकेको उनको भनाइ छ। ‘जुन ढंगले हाम्रो खेल क्षेत्र अन्तर्राष्ट्रियकरण हुनुपर्ने थियो। त्यो हुन सकेको छैन,’ उनले भने।
खेल क्षेत्रमा लामो समयदेखि सरकारले काम गरिरहेको भएपनि उपलब्धि सोचेजस्तो हुन नसकेको कार्कीले बताए। खेलकुदको नीति र कानुनलगायत व्यवस्थापकीय प्रबन्धहरुमा पनि राज्य चुकेको उनको भनाइ छ। खेल क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच समन्वय हुन नसकिरहेको कार्कीले बताए। ‘सरकारबीच जुन हिसाबले समन्वय हुनुपर्ने थियो। त्यो हुन सकेको छैन,’ उनले भने।
कोशी प्रदेशको खेलकुद विकास बोर्ड पनि राजनीतिक अस्थिरताको सिकार बनिरहेको उनले बताए। खेलकुदको विकासका लागि बनाएका ऐन कानुनमा रहेका कमजोरीलाई सच्याउँदै अघि बढ्ने कार्कीको भनाइ छ।
कार्कीका अनुसार खेलकुदका लागि प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको प्रदेशस्तरीय रंगशाला बनाउने र विराटनगरस्थित वैजनाथपुरमा रहेको क्रिकेट रंगशालालाई प्रदेश मातहतमा ल्याएर निर्माण गर्ने तथा इनडोर र आउटडोर खेलका संरचनाहरु विराटनगरमा निर्माण गर्ने तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)