खोलाको बगाउँदा वृद्धको मृत्यु
नुवाकोट : खोलाले बगाउँदा नुवाकोटमा वृद्धको मृत्यु भएको छ। पञ्चकन्या गाउँपालिका-१ मा लिखु खोलाले बगाउँदा स्थानीय ६० वर्षीय अक्कलबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
राईलाई रातीको समयमा लिखु खोलाले बगाएको र उनको शव झोलुङ्गे पुल निर्माणस्थल भन्दा तल किनारामा भेटिएको स्थानीयले बताए। राईको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ।
यसैगरी त्रिशूली नदीले बगाएर शुक्रबारदेखि नुवाकोटको भद्रुटारकी एक महिला हराइरहेकी छन्। पञ्चकन्या गाउँपालिका-५ भद्रुटार, फुर्केसल्लाकी ३० वर्षीया अम्बिका खतिवडा बेपत्ता भएकी हुन्।
उनको खोजी जारी रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।स्वास्थ्य परिक्षण गरी घर फर्कन्छु भनेर शुक्रबार बुढिसेरा–छहरे– त्रिशूली बसमा चढेकी खतिवडा विदुर नगरपालिका-३ स्थित बाङ्गीदह नजिकै त्रिशूली नदीमा बगेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
स्थानीयले उनको झोला फेला पारेका छन्। झोलामा ११ तोला सुन, २१ हजार नगद रुपैयाँ, स्थानीय पोलिक्लिनिकको कार्ड तथा लत्ताकपडासमेत रहेको डीएसपी भारतीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !