कोशीमा विपद्का कारण ७७ जनाको मृत्यु, २ सय ७७ जना घाइते
![कोशीमा विपद्का कारण ७७ जनाको मृत्यु, २ सय ७७ जना घाइते](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_4JVZr1tDcC_tcRkGUGcs4.jpg)
विराटनगर : कोशी प्रदेशमा १ वर्षको अवधिमा प्राकृतिक प्रकोपलगायतका विपद्का घटनामा परेर ७७ जनाको मृत्यु भएको छ। २ सय ७७ जना घाइते भएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी र जंगली जनावरको आक्रमणबाट ठूलो मानवीय क्षति भएको हो। कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार सबैभन्दा धेरै मृत्यु बाढीका कारण भएको छ। बाढीले २२ जनाको मृत्यु र २४ जना घाइते भएको जानकारी उनले दिए।
त्यस्तै, पहिरोका कारण ९, चट्याङबाट १३, आगलागीमा परेर २० तथा जंगली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको दाहालले बताए। उनका अनुसार पहिरोमा परेर २०, चट्याङले ३६, आगलागीमा १ सय ३४, हावाहुरीका कारण ६ तथा जंगली जनावरको आक्रमणबाट ५७ जना घाइते भएका छन्।
विपद्का कारण ७ हजार ९ सय ८ वटा चौपाया मरेका छन्। एसएसपी दाहालले १४ जिल्ला रहेको प्रदेशभित्र २ हजार ८ सय ६८ स्थानमा विपद्का घटना भएको जानकारी दिए। सबैभन्दा धेरै १ हजार ७ सय ३१ स्थानमा आगलागी भएको छ। विपद्का कारण २ हजार २ सय ७४ घर प्रभावित बनेको दाहाल बताउँछन्। उनका अनुसार बाढीका कारण ६ सय ३८, पहिरोबाट ५ सय ८६, चट्याङले ३३, आगालागीका कारण ७ सय ५८, हावाहुरीबाट ८४ र जंगली जनावरका कारण १ सय ७५ घर प्रभावित बनेका हुन्।
प्रदेशमा मनसुनजन्यलगायतका विपदबाट जनधनको क्षति धेरै भइरहेको प्रहरीले जनाएको छ। कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले मनसुनजन्य प्रकोपलगायत विभिन्न विपद्का घटना हुँदा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरीलगायतका सुरक्षाकर्मी परिचालन गर्ने गरिएको बताए। उनका अनुसार विभिन्न घटनामा १ वर्षको अवधिमा नेपाल प्रहरीका तर्फबाट १७ हजार ६ सय ८१ जना परिचालन गरिएको छ।
‘कुनै घटनामा परेका पीडितको उद्धार तत्काल गर्ने गरिएको छ। सम्भावित जोखिमको आकलन गर्दै सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्ने गरिन्छ,’ खापुङले भने, ‘क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मीलाई सक्रिय गराइन्छ। खोज तथा उद्धारलाई प्राथमिकतामा राखेर काम गरिन्छ।’ डीआईजी खापुङले विपद्का बेला हुने क्षति न्यूनीकरणका लागि सबै निकायबीच समन्वयमै काम हुने गरेको बताए।
सम्भावित जोखिमलाई समेत मध्यनजर गरेर त्यही अनुसारको सुरक्षा जनशक्ति खटाउने गरिएको उनको भनाइ छ। विपद्का बेला अन्य सरकारी संयन्त्र पनि परिचालन हुन्छन्। यद्यपि, विपद्का समयमा स्रोत, साधन तथा जनशक्तिको व्यवस्थापनमा भने चुनौती देखा पर्ने गरेको छ। उपलब्ध स्रोत, सधान र जनशक्तिलाई प्रभावकारी ढंगले परिचालन गर्ने गरिएको जानकारी डीआईजी खापुङले दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)