सुनसान गाउँलाई हराभरा बनाउँदै छु
सुनसान बनेको गाउँलाई हराभरा बनाउन लागेको छु। देशमै पहिलोपटक दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन दिने कार्यक्रम ल्याएँ। घट्दो जनसंख्याका कारण गाउँमा पढ्ने विद्यार्थी छैनन्। कृषि गर्ने जनशक्ति पाइँदैनन्।
देश विकासका लागि जनसंख्या अनिवार्य भएकाले यो अभियान चलाएँ। अर्काेतर्फ आधुनीकरणको नाममा अर्बौं रुपैयाँ विदेश पठाउने काम रोक्न गोरु पालन अभियान चलाएको छु। गोरु पालनबाट गाउँमै रोजगारी बढ्ने, जैविक मल उत्पादन वृद्धि हुने, माटोको गुणस्तर बढ्ने र अर्गानिक उत्पादनमा सहयोग पुग्ने भएकाले रासायनिक मलको प्रयोग घटाउने अभियानमा छौं।
गाउँमा अहिले ३१ हल गोरु जोगिएका छन् भने २ हल गोरु नयाँ भित्रिएका छन्। नयाँ हल गोरु किन्नेलाई ५ हजार र भएका हल गोरु स्याहार सुसारको लागी २ हजार ५ सय रुपैयाँ अनुदानको व्यवस्था गरेका छौं। हामीले गरेको काम अहिले सिंगो रिब्दीकोट गाउँपालिका भरी लागू भएको छ।
गाउँमा रोजगारी बढाउन तथा वातावरण संरक्षणका लागि सालको पातको दुना टपरी बनाउने काममा महिला परिचालन गरिएका छन्। हातले खुटेको एउटा दुनाको ५ रुपैयाँ र टपरीको १० रुपैयाँमा वडा कार्यालयले खरिद गर्छ। ती दुना टपरी गाउँकै भोज–भत्तेर, विवाह ब्रतवन्ध र सार्वजनिक समारोहमा प्रयोग गर्ने गरेका छौं।
गत वर्ष २४ जनाले बनाएका ७० हजारको दुना टपरी खरिद गरेका थियौं। वडामा जग्गा भएका तर घर नभएका व्यक्तिहरू गाउँमै घर बनाएर बस्न सकुन् भनेर चालु आर्थिक वर्षमा वडाबाट २० हजार रुपैयाँ सहयोग गर्ने अभियान चलाएका छौं। सहर बसेकालाई स्थानीय सरकारको पहलमा गाउँ फर्काउने योजनाका साथ यो सुरु गरिएको हो।
(पोखरेल रिब्दीकोट गाउँपालिका–१ का अध्यक्ष हुन्।)