चाँदनीको हत्यामा बाबुआमादेखि मावली परिवारसम्मको संलग्नता

चाँदनीको हत्यामा बाबुआमादेखि मावली परिवारसम्मको संलग्नता
शव भेटिएको स्थानमा अनुसन्धान गर्दै प्रहरी।

विराटनगर : गाडेको अवस्थामा शव फेला परेकी १४ वर्षीया चाँदनी यादवको हत्यामा उनकै बाबुआमा र मावली परिवारसम्मको संलग्नता रहेको निष्कर्ष प्रहरीले निकालेको छ।

विराटनगर महानगरपालिका-५ विशालचोकको कलेर्वा टोलस्थित मामाघर नजिकै खाल्डो खनेर गाडेको अवस्थामा शुक्रबार (माघ १८ गते) उनको शव भेटिएको थियो। उनको हत्या माघ ११ गते शुक्रबार राति गरेर त्यही रात शव गाडिएको जानकारी प्रहरीले पाएको छ। यद्यपि, अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेकाहरूले धेरै कुरा खुलाउन चाहेका छैनन्। उनीहरूमाथि प्रहरीले थप सोधपुछ र अनुसन्धान गरिरहेको छ।
 

प्रहरीले उत्खनन गरेर शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगेको थियो। चाँदनी बाबु लालमोहन यादव र आमा राजकुमारी मण्डल यादवसँगै करिब १ महिनाअघि विराटनगर-५ स्थित मामाघर आएकी थिइन्। घर भारत बिहारको छपरा जिल्लामा पर्छ । निक्कै दिन विराटनगर नै बसेका बाबुआमा मामाघरबाट चाँदनीलाई नलिइकन आफ्नो घरतर्फ फर्किए।
 
त्यसपछि मामाघरमा पनि नदेखिएकी चाँदनी एकाएक बेपत्ता भएको हल्ला गाउँमा गाइँगुइँ चल्न थाल्यो। त्यो सूचना प्रहरीसम्म पुग्यो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशी नेतृत्वको टोलीले खोजतलास गरी शव गाडेको स्थान पत्ता लगाएको हो। चाँदनीको हत्यापछि मामाघरबाट १ सय २५ फिट दक्षिणमा ४ फिट गहिरो खाल्डो खनेर शरीरका कपडासहितको शव गाडिएको थियो। 

हत्याको कारण प्रेम सम्बन्ध रहेको डीएसपी जोशीले बताए। ‘भारतमा १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध रहेछ। ती व्यक्तिसँग छुटाउने उद्देश्य राखी बाबुआमाले उनलाई मावली लिएर आए। तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसिन्। रिसको झोंकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको पाइयो,’ उनी भन्छन्। 

प्रहरी स्रोतका अनुसार चाँदनीको हत्यापछि शव व्यवस्थापन गरेर बाबुआमा भारतस्थित घर फर्किएको पत्ता लागेको छ। ‘मावली परिवारसँग मिलेर छोरीको हत्या गरेपछि बाबु लालमोहन र आमा राजकुमारी घर फर्किएछन्,’ स्रोतले भन्यो, ‘घटनालाई स्थापित गर्न थप सबुत संकलन गर्ने काम भइरहेको छ।’

हत्या कसरी गरियोभन्ने यकिन छैन। ‘हत्याका बारेमा धेरै कुरा अहिलै भन्न सकिँदैन। हेरेर अनुमान गर्नसक्ने अवस्था छैन। शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ। घटना यकिन गर्न पोस्टमार्टम रिपोर्ट आउनैपर्छ। थप अनुसन्धानसमेत भइरहेको छ,’ डीएसपी जोशीले भने। 

उनका अनुसार चाँदनी भारतमा १ व्यक्तिसँगको प्रेम सम्बन्धमा रहेको खुलेको छ। त्यही कारण उनको हत्या भएको निष्कर्षमा पुगिएको उनले बताए। प्रारम्भिक अनुसन्धानबाट घटनामा बाबुआमादेखि मावली परिवारसम्मको संलग्नता देखिने जोशीले बताए। ‘हत्यामा अरु को को व्यक्ति संलग्न छन् भनेर यकिन गर्ने काम भइरहेको छ,’ उनले भने। 

उनका अनुसार बालिका बेपत्ता भएको जानकारी आउनसाथ प्रहरी पुग्दा हजुरबुबा सरजुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको बताएका थिए। प्रहरीले बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए। पछि आफूहरूसँगै रहेको पनि भनेर प्रहरीलाई ढाँटे। 

आमा राजकुमारीले त मेरो छोरीका बारेमा तपाईंहरूलाई किन चासो पर्‍यो? भनेर प्रहरीसँग झर्किदै कुरा गरेको डीएसपी जोशीले बताए। ‘बालिकाका बारेमा सोधीखोजी गर्दा वास्तै गरेनन्। बाबुआमा र मावली हजुरबुवा बीचको कुरा बाझियो,’ उनी भन्छन्, ‘उनीहरूको भूमिका शंकास्पद देखियो। बारम्बार कुरा फेर्न थालेपछि शंका लागेर थप खोजतलास गर्दा शव फेला परेको हो।’  

चाँदनीको हत्याको विषयमा थप कुरा पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको जोशीले बताए। घटनापछि चाँदनीका मामली हजुरबुबा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, छोरा रामबाबु मण्डल, जेठी छोरी उर्मिला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डललगायत ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। 

प्रहरी नियन्त्रणमा रहेकाहरले सोधपुछ गर्दा वास्तविक कुरा नबताइरहेको जानकारी डीएसपी जोशीले दिए। प्रहरीले थप प्रमाण जुटाउने काम गरिरहेको उनले बताए। मृतक चाँदनीकी आमा राजकुमारी सरजुगकी माइली छोरी हुन्। राजकुमारीका २ छोरा र १ छोरी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.