बाढीपीडित ३ वर्षदेखि अर्काको घरमा

बाढीपीडित ३ वर्षदेखि अर्काको घरमा
अर्काको घरमा बस्दै आएकी छायाँनाथ रारा नगरपालिका–४ की मृकी भियाल। तस्बिर : जीवन सेजुवाल।

मुगु : २०७९ असोज १९ देखि २६ गतेसम्म परेको अविरल वर्षाले जिल्लाका चारै स्थानीय तहमा बाढी र पहिरोले  घरसहित जग्गाजमिन र आधादर्जन मानिसको पहिरोमै पुरिएर ज्यानसमेत गुमाउनुपर्‍यो। घर पूर्णरूपमा क्षति भएका परिवारलाई राज्यका तीनै तहका सरकारले घर निर्माण गरिदिने भने पनि हालसम्म स्थानीय तहले ती व्यक्तिहरूको घर निर्माणमा चासो नदेखाउँदा तीन वर्षसम्म अर्काको घरगोठमा बास बिताउँदै आएका छन्।

२०७९ असोज १९ देखि २६ गतेसम्म परेको अविरल वर्षात्ले जिल्लाका चार स्थानीय तहहरूमध्ये छायाँनाथ रारा नगरपालिका, खत्याड र सोरु गाउँपालिकामा ठूलो क्षति भएको थियो। छायाँनाथ रारा नगरपालिकामा ८ जनाको पहिरोले ज्यानै लियो। सयौ परिवार घरवारविहीन भए पीडितलाई स्थानीय सरकार र केही गैरसरकारी संघसंस्थाले तत्कालका लागि राहत वितरण गरेका भए पनि सम्बन्धित पालिका, प्रदेश र संघीय सरकारको लगानीमा पूर्ण क्षति भएकाहरूलाई घर निर्माण गरिदिने भनिएको भए पनि स्थानीय तहले यो विषयमा चासो नदेखाउँदा पीडितहरू तीन वर्षसम्म अर्काको घरमा बास बस्न बाध्य भएका हुन्।

तीन वर्ष अगाडिको वर्षात्ले घर पूर्णरूपले क्षति गरेपछि छिमेकीको घर गोठमा बस्दै आएकी छायाँनाथ रारा नगरपालिका–४ की मृकी भियालको आफैंं घर निर्माण गर्न सक्ने आर्थिक अवस्था छैन। उनीसहित उनको दुई छोरा छिमेकीको घरगोठमा हिउँद र वर्षात् काटेको तीन वर्ष भयो। ‘सरकारले घर निर्माण गरिदने आशा अझै मरेको छैन। तर, कहिले बनाइदिने हो उनलाई केही थाहा छैन। अझै कति अर्काको घर गोठमा बस्ने हो कि बनाइदिन्नौं भन्नुपर्‍यो आशामात्र देखाएका छन्’, उनले गुनासो गरिन्। 

सोही वडाका रामशरण भामको घरसमेत पूर्ण क्षति भएपछि उनी अहिले महिनाको ३ हजार भाडा तिरेर अर्काको घरमा बसेकी छन्। उनी भन्छिन्, ‘सरकारले छिट्टै घर बनाइदिएको भए आफ्नो घरमा सर्ने थिएँ। घर बनाइदिने भनेको तीन वर्ष भइसक्यो अझै कुनै सुरसार नै छैन।’ 

एक घरमात्र भएको र त्यो घर असोज १९ देखि २६ गतेसम्मको वर्षात्ले पूर्णरूपले क्षति भएका घरलाई ५ लाख र आंशिक क्षति भएको घरलाई मर्मत गर्न ५० हजार उपलब्ध गर्ने भनिएको भए पनि लामो समयसम्म कुनै पनि घरपरिवारले यो राहत पाउने प्रक्रियासम्बन्धी पालिकाहरूले प्रक्रिया अगाडि बढाउन नसक्दा केही घरपारिवारले ऋण सापटी गरेर घर निर्माण गरिसकेका छन्। 

‘दुई वर्षसम्म हिउँद र वर्षाको समय त्रिपालभित्रै  रात काट्नु पर्‍यो। घर बनाइदिने भनेको जानकारी पाइए पनि समयमै घर निर्माणको प्रक्रिया अगाडि बढाउन नसक्दा त्रिपालभित्र रात काट्नभन्दा ऋण सापटी गरेरै आफूसहित अरू ५–६ जनाले अहिले घर निर्माण गरी सकेका छौं,’ छायाँनाथ रारा नगरपालिका–११ का मानबहादुर भग्रीले बताए।

बाढीपहिरोले गर्दा मानवीय क्षतिसहित घरजग्गा धनमाल र पशुपक्षीको क्षति व्यहोरेका जिल्ला चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिकामा तीन वर्ष अगाडिको बाढीपहिरोले ४३ घरधुरी पुनर्निर्माणका लागि छनोट प्रक्रियामा रहेका छन। खत्याड गाउँपालिकाका २९ मध्ये २६ घर छनोट भई निर्माणका लागि सम्झौता प्रक्रियामा रहेको छन्। 

सोरु गाउँपालिकामा १ सय ६ घरधुरी पूर्ण क्षति भएको भनी सर्जमी मुचुल्का भएका भए पनि यो संख्यामा क्षति नभएको भन्दै पीडित र गाउँपालिकाबीच विवाद भएकाले छनोट प्रक्रियामा पुग्न नसक्दा अन्य प्रक्रिया अगाडि बढ्न नसकेको सम्बन्धित स्थानीय तहले जानकारी गराएका छन्।

छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले बताए अनुसार छायाँनाथ रारा नगरपालिकामा २ सय ४६ घरधुरी पूर्णरूपले क्षति भएको भन्ने सर्जमिन मुचुल्का र वडा सिफारिस उपलब्ध भएको भए पनि प्रक्रियागत हिसाबले छनोट गर्दा अहिले ४३ घरधुरी छनोटमा परेका छन्। ४३ लाख बजेट विनियोजित भइसकेको छ। आउँदो आर्थिक वर्षबाट घर निर्माण हुने बताए। 

खत्याड गाउँपालिकामा २९ मध्ये २६ घरधुरी छनोट भइसकेका छन्। २९ लाख रकम जम्मा गरी केही दिनमा सम्झौता हुने भएको उक्त गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेव कार्कीले बताए। सोरु गाउँपालिकामा भने १ सय ६ घर पूर्ण क्षति भएको भन्ने आएको भए पनि कार्यविधिअनुसार यो संख्या नपर्ने भएकाले छनोट हुन नसकेको गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए। 

एक सातासम्म परेको अविरल वर्षात्ले जिल्लामा मानवीय तथा भौतिक क्षति बनाएपछि संघीय सरकारले मुगुसहित अन्य केही जिल्लालाई संकट क्षेत्र घोषणा गरेको थियो। बाढीपहिरोमा मृत्यु भएका व्यक्तिका घरपरिवारलाई सरकारले नगद राहत भने उपलब्ध गराएको भए पनि पूर्णरूपले घर क्षति भएका परिवारलाई संघीय सरकारले राष्ट्रिय विपत्् जोखिम न्यूनीकरण प्राधिकरणमार्फत ४५ प्रतिशत, प्रदेश सरकार ३०, नगरपालिका १५ र गाउँपालिकाले १० प्रतिशत गरी पाँच लाखमा नयाँ घर निर्माण गरिदिने कार्यविधिमा जनाएको भए पनि स्थानीय तहले हालसम्म कार्यविधिअनुसारका कार्य अगाडि नबढाउँदा पीडितले घर निर्माणको राहत पाउन नसकेका हुन्।

प्रदेश सरकारले ७५ लाख रकम पठाइसकेको छ। स्थानीय तहद्वारा निर्माण गरिने घर छनोट गर्न सकेका छैनन््। उनीहरूले सबै प्रक्रिया पुर्‍याएर निर्माण गरिने घरको पालिकाको भागमा परेको बजेट जम्मा गर्नसाथ संघीय सरकारलाई परेको भागको रकम माग गर्न साथ निकास हुने थियो तीन वर्षसम्म स्थानीय पालिकाले यो विषय किनारा लगाउन नसक्दा वैशाख ६ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले १५ दिनभित्र प्रक्रियागत निर्माण गरिने घर छनोट गरिने भनिएको भए पनि एक दुईदिन अगाडि मात्र खत्याड गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको भए पनि छायाँनाथ रारा नगरपालिका र सोरु गाउँपालिकाले प्रक्रिया अगाडि बढाए, नबढाएको कुनै जानकारी नआएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए। 

प्रमुख जिल्ला अधिकारी केसीका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यविधिअनुसार यो राहत कार्यक्रम एक घर भएका व्यक्तिका लागि मात्र हो। दुई घर भएका घर परिवारले पाउँदैनन्। बाढीपहिरोले घर पूर्णरूपले क्षति बनाएका परिवारहरूले अहिलेसम्म निर्माण गरेका छैनन््। 

केहीले निर्माण गरेका भए पनि अधिकांश परिवारले राज्यका तिनै तहका सरकारको लगानीमा घर निर्माण हुने आशाले अर्काको घर गोठमा बस्ने गरेका छन्। घर कहिले बनाइदिन्छौ भनेर बेलाबेला पीडित परिवारहरू प्रशासन कार्यालयमा गुनासो लिएर आइपुग्ने गरेका हुन्छन् तर स्थानीय तहहरूले यो विषयमा चासो नदिँदा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी केसीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.