गाउँपालिकाको बेथितिविरुद्ध माओवादी केन्द्रको ध्यानाकर्षण
![गाउँपालिकाको बेथितिविरुद्ध माओवादी केन्द्रको ध्यानाकर्षण](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_7zGhth6Ryv_H5yn7qtz7z.jpg)
झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिकामा बढ्दो बेथितिविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
माओवादी केन्द्र कचनकवल गाउँपालिका कमिटीले यस क्षेत्रका जनताको गुणस्तरीय निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगार, कृषि मल बिउँ अनुदान एवम् उचित मूल्यमा उत्पादन खरिद साथै समग्र गाउँपालिकाको विकास र समृद्धि आकांक्षाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै लिखित रूपमै सूचनाको विवरण माग गरेको छ।
माओवादी केन्द्र पालिका अध्यक्ष शुक्रराज लिम्बु (किरण) नेतृत्वमा गएको पदाधिकारीहरूको टोलीले शुक्रबार दिउँसो गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई भेटेरै सो बारेमा ध्यानाकर्षण गराउँदै ५ बुँदे सूचनाको विवरण माग गरेका हुन्।
माओवादी केन्द्रले गत आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न कार्यक्रम र खर्च विवरण अनुसार गत असार महिनाको विकास कार्यक्रम र खर्च, आर्थिक वर्षकै यातायात (इन्धन) र खाजा खर्च, पानी खरिद विवरणको खर्च, कर्मचारी एवम् शिक्षक नियुक्ति विवरण र असार महिनामा सम्पन्न गरेको मर्मत एवम् सम्भार खर्चको विवरण माग गरिएको अध्यक्ष लिम्बुले जानकारी दिए।
साना किसान सहकारी संस्था बालुवाडीका बचतकर्ता पीडितहरूको बचत फिर्ता सम्बन्धमा गाउँपालिकामा ज्ञापनपत्र पेस गरिएको करिब एक वर्ष भइसक्दा पनि सुनुवाइ नभएकोले गाउँपालिकाको दृष्टिकोण सार्वजनिक सम्बन्धमा पनि ध्यानाकर्षण गराइएको उनको भनाइ छ।
आम जनतालाई गाउँपालिकाले सञ्चालन गरेको हरेक गतिविधि बारेमा जानकारी गराई जनताको आवाजलाई प्रतिनिधित्व गर्न हामी सबैको दायित्व रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)