हिमाली भेगमा ‘चुमनुब्री’ स्याउ र ‘मनास्लु’ स्याउ लटरम्मै
गोरखा : गोरखाको हिमाली भेगका स्याउ बगैँचा यतिबेला पाक्दै गरेका स्याउले ढकमक्क छन्। २८ सय मिटर उचाइ र २६ सय मिटर उचाइमा रहेका विशाल स्याउ बगैँचा राताम्मे स्याउले ढाकिएको हो।
चुमनुब्री गाउँपालिका-४ नाम्रुङस्थित इन गोरखा प्रोडक्टको बगैँचा १२ हजार बोट लटरम्म स्याउले भरिभराउ छ। लाक्पाडुण्डुप लामाको सो स्याउ बगैँचामा बिगत तीन वर्षदेखि स्याउ उत्पादन हुन सुरु गरेको हो। लामाले २६ सय मिटर उचाइमा अवस्थित आफ्नो बगैँचाको स्याउलाई ‘चुमनुब्री स्याउ’ नाम दिएर ब्राण्डिङ गरेका छन्। उनले यसवर्ष ३० हजार किलो स्याउ उत्पादन गरेका छन्।
चुमनुब्री गाउँपालिका-२ ल्होस्थित विशाल मनास्लु फार्म तथा अध्ययन केन्द्रको बगैँचा पाँच हजार बोट स्याउले लटरम्म छ। छिरिङ धार्के लामाको सो स्याउको बगैँचामा गत वर्षदेखि स्याउ उत्पादन हुन सुरु भएको हो। पहिलो वर्ष भएकाले गतवर्ष सात सय किलोग्राम मात्र उत्पादन भएको थियो। ‘यसवर्ष १० हजार किलोग्राम उत्पादन हुने अनुमान छ’, लामाले भने, ‘मैले मेरो बगैँचाको स्याउलाई मनास्लु स्याउ नामले ब्राण्डिङ गरेको छु। २८ सय मिटर उचाइमा फलेको स्याउ भएकाले यो स्याउ हेर्दा सानो भएपनि निकै रातो, स्वादिलो र हेर्दा पनि निकै आकर्षक हुन्छ।’
गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि ज्ञान केन्द्र गोरखासँग साझेदारी गरी यहाँ स्याउ बगैँचा विकास गरिएको हो। कृषि निर्देशनालयले इटलीबाट ल्याएको गाला, फुजी, रेड र गोल्डन डेलिसियस जातको स्याउको उन्नत बिरुवा किसानलाई ७० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो। मनास्लु स्याउ र चुमनुब्री स्याउको बगैँचा स्याउ खेतीसम्बन्धी अध्ययन गर्नेहरूका लागि अध्ययन केन्द्रका रूपमा पनि विकास गरिएको छ।
‘हाम्रो स्याउ फर्म स्याउ उत्पादन गर्ने मात्र नभै स्याउ खेतीको अध्ययन गर्नेहरूका लागि अध्ययन केन्द्रका रुपमा पनि विकास गरेका छौँ’, विशाल मनास्लु फार्म तथा अध्ययन केन्द्रका प्रोपाइटर छिरिङ धार्के भन्छन्, ‘यहाँ आएर अध्ययन गर्ने विद्यार्थीहरूका लागि निःशुल्क आवास र खानाको व्यवस्था गर्छौं।’ चुमनुब्री गाउँपालिकाका अधिकांश ठाउँमा स्याउ खेती राम्रो हुने हुनाले अरूले किसानले पनि व्यावसायिक स्याउ खेती गरून् भन्ने चाहना रहेको उनको भनाइ छ।
सडक सञ्जालले नछोएको दुर्गम ठाउँ भएकाले यहाँ उत्पादित उच्च गुणस्तरको स्याउलाई बजारसम्म ल्याइपुर्याउन कठिनाइ भएको छ। ‘अब भदौ १५ पछि बजारमा ल्याउन मिल्छ, तर हाम्रो भूगोल धेरै दुर्गममा भएकाले बजारसम्म ल्याउन धेरै कठिन छ’, लाक्पा डुण्डप लामा भन्छन्, ‘पोहर सालको स्याउ पनि केही विदेशी पर्यटकलाई, केही स्थानीयवासीलाई बेचेँ।
केही सुकुटी बनाएँ, केही चिप्स बनाएँ। केही वाइन बनाएँ।’ उत्पादित सबै स्याउ बजार पुर्याउन नसकेको भन्दै उनले यसवर्ष पनि उस्तै अवस्था हुने बताए। ‘गाउँपालिकाले चुमनुब्रीमा उत्पादित स्याउलाई मनास्लु स्याउ भनेर ब्राण्डिङ गरौँ भनेको छ। त्यसरी ब्राण्डिङ गर्न त ठूलो कुरा भएन, तर बजारसम्म पुर्याउन कठिन भयो’, उनले भने, ‘बजारसम्म सुरक्षितपूर्वक पुर्याउन पालिका, कृषि ज्ञान केन्द्र अथवा प्रदेश सरकारले सहयोग गरिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो।’