खोलामा हेलिएर विद्यालय आउजाउ
सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिका ४ स्थित मावि मरिण खयरसालका विद्यार्थी दैनिक खोलामा हेलिएर विद्यालय आउजाउ गर्न बाध्य छन्।
विद्यालय जाँदाबाटोमा पर्ने खारखोला, फूलबारी र मंगननी खोलामा पुल नहुँदा वर्षात्मा आएको बाढीमा हेलिएरै विद्यार्थी विद्यालय आउन जान बाध्य भएका हुन्। विद्यालयका झन्डै ७ सय ७५ बढी विद्यार्थी दैनिक खोलाको बाढीको जोखिम मोलेर विद्यालय आउन जान बाध्य छन्। निरन्तर परेको वर्षातसँगै आएको बाढीले कतिदिन त विद्यार्थी विद्यालय जान आउनै सक्दैनन्।
मरिण गाउँपालिका ४ को एक मात्र माध्यमिक विद्यालय (प्लस टु) मा हाल ७ सय ७५ बढी विद्यार्थी अध्ययनरत छन्। उनीहरू मध्ये झन्डै ५ सय बढी विद्यार्थी विद्यालय नजिकै रहेको खारखोला, फूलबारी र मंगननी खोलाहरू पार गरेर आउने जाने गर्छन्। पूर्वतर्फ खारखोला, दक्षिणतर्फ फूलबारी र पश्चिमतर्फ मंगननी गरी तिनवटा खोलाको संगम स्थलमा रहेको उक्त विद्यालय जानआउन चुरेबाट बगेर आउने खहरेका कारण समस्या हुने गरेको छ।
विद्यालयका विद्यार्थी करुण नेपाली बाढीको जोखिममा साथीहरूलाई ज्यान हत्केलामा राखेर खोला वारपार गराउन आफूले सहयोग गर्ने गरेको बताउँछन्। कक्षा बालविकासदेखि कक्षा १२ सम्मका छात्र तथा छात्राका साथै कतिपय शिक्षकहरू यिनै खोला वारपार गरेर विद्यालय आइपुग्छन्।
विद्यालय नजाउ भने पढाइ छुट्ला भन्ने डर। विद्यालय जाउँ भने कतिबेला खोला र खहरेले बगाउँला भन्ने डर भएको विद्यार्थी एलिसा घिसिङले बताइन्। ‘आकाशमा कालो बादल मडारिनासाथ विद्यालय आउँदा र फर्किँदा घरका ठूला अभिभावक बोलाएर कपिकलम र किताबसँगै बाढीमा हेलिएर खोला वारपार गर्नु हाम्रो दैनिकी जस्तै बनेको छ,’ उनले भनिन्। ‘बाढी आएपछि एलिसा, करुण र म लगायतका साथीहरूले साना भाइबैनिहरूलाई खोला तार्ने गरेको भए पनि झोला र ड्रेस सबै भिज्ने गरेको छ,’ अर्का विद्यार्थी राम बलको गुनासो छ।
विद्यालय नजिकै रहेको खारखोल पारगरेर मात्र २ सय बढी विद्यार्थी दैनिक ओहोर दोहोर गर्छन्। त्यहाँँ हालसम्म एउटा पनि पुल छैन। झोलुंगे पुलसम्म नहुँदा बाढीका कारण बालबालिकाको पढाइ मात्र प्रभावित भएको छैन, उनीहरूको जीवन नै जोखिममा परेको छ। उक्त विद्यालयमा छिमेकी गाउँपालिका हरिहरपुरगढी गाउँपालिका ७ को माथिल्लो भागका साथै सर्लाही जिल्लाको उत्तरी भेग चुरे आसपासका बालबालिकासमेत अध्ययन गर्न आउने गरेका छन्।
यहाँका तिनवटै खोला चुरे पर्वत शृंखलाबाट बगेर आउँछन्। ति खोला आसपासका बस्तीहरूबाट विद्यालयसम्म आउने विद्यार्थी बाढीको चपेटामा पर्ने गरेको विद्यालयका प्रधानाध्यापक मानध्वज बम्जनको भनाइ छ। ‘यसबाहेक जुटपानी, सहान, मरुवा, चनौटेका विद्यार्थीलाई पहरि खोला, कौवरे खोला र मरुवा खोलाले छेक्ने गरेको छ। अन्य खहरे समेतले गर्दा विद्यालयका ७ सय ७५ जना विद्यार्थीलाई बर्खाको समयमा विद्यालय आउन समस्या हुने गरेको छ,’ प्रअ बम्जनले भने।
मरिणको नयाँ बस्तीदेखि सहान जोड्ने मरिण नदीमा बाहेक पक्की पुल छैन। तर, नक्कलीबाट सहान हुँदै खयर सालसम्म आउने कम्तीमा ६÷७ किलोमिटर दूरीमा आधा दर्जन बढी खहरे र खोलाहरू पर्छन्। ती खहरेको शिरमा पानी पर्ना साथ बाढी आउँदा विद्यार्थीलाई आउन जान जोखिम हुने गरेको हो।
बाढी आएको खोलामा ठूला विद्यार्थी पौडिएर वारपार गर्ने गरे पनि साना नानीबाबुलाई खोलाले बगाउँला कि भन्ने डर हुने गरेको बम्जनको भनाइ छ। यहाँका सबै खोला तथा खहरेहरू मरिण नदीमा मिसिने गर्छन्। उसैत विद्यालयमा ७÷८ किलोमिटर टाढाको दूरीदेखि विद्यार्थी पढ्न आउनुपर्ने बाध्यता छ। त्यसमा पनि खोलामा आउने बाढीमा हेलिएर आउनु पर्दा विद्यालय पोशाक, किताब तथा झोलाहरू भिज्ने र बगाउने समस्या छ।
‘नक्कलीदेखि सहानसम्म र सहानदेखि खयरसालसम्म आउने विद्यार्थीलाई पानी नपर्दा बस सेवा सञ्चालन गर्ने गरिएको भए पनि बाढी आएपछि सडकनै अवरुद्ध हुने गर्छ। यसो हुँदा वर्षात्को समयमा विद्यालय आउन जान निक्कै समस्या हुने गरेको छ। ‘अझ बाढीले बगाउला भन्ने त्राही भएपछि शिक्षक र अभिभावकले नै खोला तार्न सहयोग गर्ने गरेका छौं,’ प्रअ बम्जनले भने।
‘विद्यार्थीको दुःख हेर्न सकिनेखालकौ छैन। खोेलाहरूमा पुल बनाउन यहाँका नेता, सांसदहरूलाई पकट–पटक भने पनि हालसम्म कुनै सुनुवाइ भएको छैन। पानी परेपछि विद्यालय बन्द गर्ने कुरा पनि भएन, पठनपाठन गराउँदा बिहानै पानी परे आधा पनि विद्यार्थी आउन सक्दैनन। दिउँसोो पानी परे घर फर्कन सकिँदैन,’ उनले थपे।
खयरसाल माविमा अधिकांश तामाङ, माझी, दलित र हायु जातीका बालबालिका अध्ययनरत छन्। खोलामा हेलिएर विद्यालय आउने विद्यार्थी भिजेकै कपडा लगाएर दिनभर बस्न बाध्य हुन्छन्। बर्खामा त अझ कुन बेला भेलले बगाउने हो भन्ने डरले बर्खा नसकिन्जेल मनमा त्रास भइरहने बम्जन बताउँछन्।
सहानदेखि खयरसालसम्मको सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेको र खहरेहरूमा पुल तथा कज्वे बनाउने विषयमा पहल गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को भनाइ छ। अन्य खोलाहरूमा पक्की पुल निर्माण गर्न गाउँ पालिकाको बजेटबाट मात्र सम्भव नभएकाले प्रदेश र संघीय सरकारसँग अनुरोध गरिरहेको उनको भनाइ छ।