हराएका तीन बालिकालाई अभिभावकको जिम्मा लगाइयो
![हराएका तीन बालिकालाई अभिभावकको जिम्मा लगाइयो](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_bdQ68gch4e_4tfSTQA2nz.jpg)
धादिङ : धादिङबाट हराएर बागलुङमा भेटिएका तीन बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ। एक सातापछि बागलुङमा भेटिएका रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङलाई मंगलबार परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
साउन २३ गतेदेखि हराइरहेका बालिका साउन २८ गते सोमबार बागलुङमा भेटिएका थिए। बालिका बागलुङसम्म कसरी पुगे भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनीहरू धादिङबेसीबाट सम्पर्कविहीन बनेका थिए।
२ जना बालिकालाई होटलबाट र एक जनालाई ग्रामीण भेगबाट बागलुङ प्रहरीले सुरक्षित उद्धार गरेको हो। हराएका बालिकालाई खोजी गर्न जिल्ला प्रहरी कार्यालय धादिङले देशैभरका प्रहरी कार्यालय, बोर्डर आसपासका क्षेत्रहरूमा जानकारी गराउनुका साथै सादा पोसाकका प्रहरीहरू परिचालन गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)