दुई दलीय व्यवस्था ल्याउन दिँदैनौं : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दुई दलीय व्यवस्था ल्याउन नदिने बताएका छन्। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि संसदमा भइरहेको छलफलमा सहभागी हुँदै अध्यक्ष नेपालले दुई दलीय व्यवस्थाको प्रतिकार गरेका हुन्।
'दुई दलीय व्यवस्था ल्याउन दिँदैनौं। बहुदलीय व्यवस्था हामीले ल्याएका हौं। यसलाई झन् राम्रो बनाउँछौं। तर, दुई दलीय व्यवस्था लाद्न दिँदैनौं,' उनले भने।
उनले दुई दलीय व्यवस्थाका लागि राजी भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि व्यंग्य गरे। 'शेरबहादुरजीले कुरै बुझ्नुहुन्न। कतिपय बेला भने धेरै बुझेजस्तो गर्नुहुन्छ,' उनले भने।
उनले माओवादी सशस्त्र जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन आफ्नो पनि अहम् भूमिका रहेको प्रष्ट पारे। टीआरसी विधेयकलाई अन्तिम रूप दिइँदै गर्दा त्यसमा आफूहरूको पनि सहभागिता खोजे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको विरोध गरेको उनको भनाइ छ। 'जनयुद्धलाई यहाँसम्म ल्याउन हाम्रो भूमिका पनि अहम् छ। यस प्रक्रियामा हामीलाई पनि समावेश गर्नुस् भन्दा सानो चित्त भएका मान्छेले त्यसको विरोध गरे,' ओलीप्रति इंगित गर्दै उनले भने।
उनले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि सोच विचार पुर्याएरमात्रै संगत गर्न आग्रह गरे। 'सोच विचार गरेर संगत नगरिए स्वर्ग जाने मान्छे नर्क पुग्नुहोला,' उनले भने।