पर्सामा साढे ४ सय किलो लागुऔषधसहित एकजना कारोबारी पक्राउ
वीरगन्ज : पर्सामा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा र चरेससहित एक कारोबारीलाई पक्राउ गरेको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका-४ अकवा गाउँका विषमोहन चौधरीको घरमा बिहीबार राति छापा मारेर १९२ केजी चरेस र २६७ केजी गाँजासहित कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडली गाउँका ४० वर्षीय फुलसरिफ मियाँलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मियाँ गाँजा र चरेसका नामूद कारोबारी हुन् । उनका साझेदार चौधरी भने फरार रहेका छन् । स्रोतका अनुसाार,मियाँ र चौधरीले मकवानपुर र धादिङ जिल्लाको पहाडी भेगमा उत्पादित गाँजा र चरेस भरियामार्फत पर्सामा ल्याएर भारतमा तस्करी गर्दै आएका थिए ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दीपक भारतीले भने गाँजा र चरेससहित मियाँलाई लागुऔषधसहित पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार,अकवा गाउँको बासघारीमा लागुऔषाधको खरिदबिक्री भइरहेको सूचना पाएर जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी टोली खटिएको थियो ।उक्त प्रहरी टोलीले अकवा गाँउको बाँसघारीमा लुकेर बसेको अवस्थामा मियाँलाई पक्राउ गरेको थियो ।
त्यसपछि सोधपुछ गर्दा मियाँले नै दिएको जानकारीका आधारमा बासघाँरीमा खाल्डो खनेर राखिएको १९२ किलो चरेस र गाँजाको धुलो (पोलान्ड) २६७ केजी फेला परेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।
मियाँलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको भारतीले जानकारी दिए ।