निकुञ्ज क्षेत्रभित्र चोरी सिकारीमा संलग्न दुई जना पक्राउ
मुगु : रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चोरी सिकारीमा संलग्न दुई जनालाई भरुवा बन्दुक र सिकार गरिएका संरक्षित पंक्षीसहित पक्राउ गरिएको छ । माघ १३ गते रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री हनुमानध्वज गुल्मको संयुक्त टोलीले विशेष सूचनाको आधारमा निकुञ्ज क्षेत्रमा संरक्षित पंक्षी लगायत अन्य पंक्षी चोरी शिकारी गरी ओसारपोसार गर्दै गरेको अवस्थामा भरुवा बन्दुकसहित पक्राउ गरिएको हो ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षक अधिकृत महेश न्यौपानेले दिएको जानकारी अनुसार विशेष सूचनाको आधारमा निकुञ्ज क्षेत्रभित्र चोरी सिकारीमा संलग्न जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिका—१ रिय गाँउका २६ वर्षीय मान बहादुर कठायत सोही गाँउपालिका—१ काबार गाँउका ३९ वर्षीय गोरे कठायत पक्राउ परेका हुन्। उनीहरुलाई मृत अवस्थामा संरक्षित राष्ट्रिय पंक्षी डाँफेको भाले एक, पोथी दुई र अर्को पंक्षी फक्रास भाले दुई, पोथी एक चोरी सिकारी गरी बिक्री वितरण गर्दै गरेका अवस्थामा एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको जानकारी दिएका छन् ।
माघ १३ गते पक्राउ परेका मान बहादुर कठायतले दिएको जानकारी अनुसार अर्का आरोपित गोरे कठायतलाई पक्राउ गरिएको र बरामद गरिएको भरुवा बन्दुकसहित यसमा लाग्ने गोली, केप र अन्य सामग्री बरामद गरिएको र थप आवश्यक कानुनी प्रक्रियाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३० (१) वोमजीम अनुसन्धान अधिकृत तोकी आवश्यक कारवाही अगाडी बढेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस !